पोखरा- गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावबारे टुंगो लगाउन मतदान तयारी गरिएको प्रदेश सभा बैठक स्थगित गर्न सभामुख नेत्रप्रसाद अधिकारी नै जिम्मेवार भएको आरोप नेकपा एमालेले लगाएको छ। अनिश्चितकालका लागि सभाको बैठक स्थगित गरिनु चलनचल्तीको अभ्यास विपरीत भएको र यसको जिम्मेवार सभामुख भएको आरोप एमालेको छ।
सदन स्थगनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका सांसद कृष्ण थापाले प्रदेश सभा बैठक स्थगितलगायतका घटनाको जिम्मेवार सभामुख नै भएको आरोप लगाएका हुन्।
‘यो संसदीय मर्यादा विपरीत छ,’ उनले भने। उनले कुनै दलको पक्षपोषण गरेर आफूखुशी संसद् स्थगित हुनु परम्परा विपरीत रहेको आरोप समेत लगाए।
अविश्वास प्रस्तावमा मतदान गर्ने दिन राष्ट्रिय जनमोर्चाका सांसद ‘गायब’ भएपछि सो पार्टीको माग बमोजिम संसद अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको छ।