काठमाडौं - युरोपका सबभन्दा धनी क्लब पेरिस सेन्ट जर्मेन र म्यानचेस्टर सिटी आज युरोपको सर्वाधिक प्रतिष्ठित च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन्।
लगातार दोस्रो सिजनमा सेमिफाइनल पुगेको पीएसजी र पहिलोपटक सेमिफाइनल पुगेको सिटीको महत्त्वकांक्षा भने एकै छ- फाइनल पुग्ने। क्लबका लागि अत्यधिक लगानी गरेका नासर अल खिलाफी र शेख मनसुरको उद्देश्य पनि त्यही नै हो।
पछिल्लो सिजन च्याम्पियन्स लिगको फाइनल पुगे पनि पीएसजीले बायर्न म्युनिखसँग हार बेहोरेपछि क्लबका अध्यक्ष नासर अल खिलाफी प्रशिक्षक थोमस टुचेलसँग खुसी थिएनन्।
त्यसैले टुचेल अहिले क्लबमै छैनन्। खेल रणनीतिमा बलियो देखिने गरेका मोओरिसिया पोचेतिनोले क्लब सम्हालिरहेका छन्। तर, जारी सिजनमा पीएसजीले लिग वानमा च्याम्पियन शैली भने देखाउन सकेको छैन।
ऊ दोस्रो स्थानमै सीमित छ। तर, उसले बलिया क्लबलाई पाखा लगाउँदै सेमिफाइनलको यात्रा भने तय गरिसकेको छ। जारी सिजनकै अन्तिम १६ को खेलमा पीएसजीले बार्सिलोनालाई ५–२ को समग्र नतिजामा हरायो।
जारी सिजनमा च्याम्पियन्स बन्ने यो पीएसजीको पहिलो दावेदारिता थियो। बलियो क्लब बार्सिलोनालाई पाखा लगाए पनि उसले क्वार्टरफाइनलमा बायर्नको सामना गर्नुपर्यो।
डिफेन्डिङ च्याम्पियन बायर्नको सामना गर्न सक्नु अहिले विश्वका जुनसुकै कुराका लागि कठिन चुनौती हो। बायर्नको फरवार्डलाई झुक्याएर मिडफिल्डलाई परास्त गर्दै डिफेन्सको वाल तोडेर म्यानुअल नुयरले रक्षा गरिरहेको पोस्टमा बल प्रहार गर्नु कुनै पनि खेलाडीको लागि सपना हो।
तर, यो सिजनमा त्यो अवसर कमै खेलाडीले मात्र पाएका छन्। यस्तो कठिन टास्कलाई पीएसजीका केलियन एम्बाप्पे र माक्र्विन्होसले स्कोरमा बदलेका थिए। दोस्र्रो लेगको खेलमा पीएसजीले १–० गोलको हार बेहोरे पनि ३–३ को बराबरी अवस्थाबाट अवे गोलमा भाग्यमानी सावित हुँदै पीएसजी सेमिफाइनल पुगेको हो।
बार्सिलोना र बार्यनलाई हराएको पीएसजीलाई आज अर्को चुनौती छ– त्यो हो म्यानचेस्टर सिटी।
सिटी बलियो देखिएको टिम छ। विश्वभरिका बिग स्टार क्लबले भरिएको इंग्लिस प्रिमियर लिग (ईपीएल) उत्कृष्टमध्येका एक प्रशिक्षक पेप ग्वार्डिओलाले सम्हालिरहेको क्लबको सिटी।
उनको प्लेइङ सेटमा मात्र होइन, बेञ्चमा पनि उत्तिकै बलियो खेलाडी देखिन्छन्। उसको फरवार्ड लाइनदेखि मिडफिल्ड र डिफेन्स गरी सबै लेयर उत्तिकै पावरफुल छन्।
ग्वार्डिओलाको सिकाइमा जर्सियो अग्युरा, ग्याब्रियल जिसस, इल्के गुन्डोगन, रहिम स्टार्लिङ, रियाद महरेज सधँै गोलका भोका देखिन्छन्। त्यही भोक उनीहरूले ईपीएलमा पनि देखाइरहेका छन्।
पाँच खेल बाँकी रहँदा सिटीले १० अंकको अग्रता बनाइसकेको छ। भर्खरै काराबाओ कप जितेर उत्साहित बनेको सिटी, प्रिमियर लिगसँगै च्याम्पियन्स लिगमा पहिलोपटक उपाधि जित्ने तरखरमा देखिन्छ।
उसले पनि अन्तिम १६ र अन्तिम आठमा सानदार जित निकाल्दै क्वार्टरफाइनल प्रवेश गर्यो। जर्मन क्लब मोन्छेनग्लाडबाख र बोरुसिया डर्टमन्डलाई पन्छाउँदै फाइनलको संघारमा पुगेको सिटी पहिलो लेगको खेलमा पीएसजीलाई हराउँदै फाइनलमा पुग्ने दाउ सिटीको पनि छ।
त्यसैले पीएसजी र सिटीको सपना हेर्दा उस्तै लाग्छ। महत्त्वकांक्षा उस्तै लाग्छ। चाहना उस्तै लाग्छ। र, क्लबको लक्ष्य पनि त्यसतर्फ नै केन्द्रित छ। क्लबमा त्यति धेरै लगानी गर्नुको उद्देश्य पनि त्यही त थियो।
२०१७ मा सर्वाधिक मूल्यमा नेयमार किन्दा होस् वा एम्बाप्पे बेच्न नचाहँदा। अझ मेस्सीलाई पनि क्लबमा ल्याउने सपना हेर्दा त पीएसजीको च्याम्पियन्स लिग जित्ने धेरै ठूलो इच्छा छ जुन पूरा हुन सकेन।
यता क्लबमा भएका खेलाडीको पेस र ब्याकसपोर्टका खेलाडीसँगै ग्वार्डिओलालाई गरेको लगानी देखेर सिटीका नाममा पनि त्यस्तै भावना पैदा हुन्छ। मतलब सिटी पनि त्यही ट्रफी उचाल्न चाहन्छ जुन पीएसजीले गत सिजन उचाल्न पाएको थिएन।
यसकारण आजको द्वन्द्व फुटबलबीच मात्र नभएर दुई सर्वाधिक महत्त्वकांक्षी टिमबीच पनि हो। फुटबलको आनन्द लिनेका लागि आज राति पौने १ बजे हुने खेल प्राथमिकतामा रहने छ।
हेड टू हेड
पीएसजी र सिटीको इतिहास लामो छैन। च्याम्पियन्स लिगमा यी क्लबले तीन खेल खेलेका छन्, जसमा दुई खेल बराबरी भएको छ।
२२ डिसेम्बर २००८ र ६ अप्रिल २०१६ को खेल क्रमशः गोलरहित र २–२ गोलको बराबरीमा रोकिएको थियो। १२ अप्रिल २०१६ मा भने सिटीले १–० गोलको जित निकालेर हेड टू हेडमा अघि छ। त्यसैले युरोपका दुई धनी र बलिया क्लबमा को बलियो ? आज अर्को इतिहास बन्ने छ।