विशेष कला/साहित्य

हृदयको सग्लो पोस्टरमा वानीरा...

1622015662.jpg

प्रिय वानीरा!
पोखरीको डिलमा बसेर आत्ममन्थन गरिरहँदा तिमी 
खुला आँखाले आफ्नो अनुहार अधिक प्रेमले निहालिरहेथ्यौ
किनकि तिमीलाई थाहा छ–
आफ्नै अतीतको फैसला वरिपरि 
वर्तमान रगमगिएको हुन्छ। 

(वर्तमान वानीरा र इतिहास) 

डा. वानीरा गिरीमाथि ‘वर्तमान वानीरा र इतिहास’ शीर्षकमा एउटा कविता लेखेकी थिएँ। जसलाई ‘भीमसेन थापाको सुसाइड नोट’ कवितासङ्ग्रहमा पनि समेटेकी छु। तिनै प्रिय वानीरा जेठ १० गते सधैंका लागि ब्रह्मलीन भएको खबर स्वीकार गर्न निकै गाह्रो भयो। उहाँको भौतिक शरीर हामीमाझ रहेन। तर वानीरा दिदीसँग बिताएका पल र उहाँको सृजना सधैं यादगार रहिरहनेछन्।

उहाँलाई नजिकबाट भेट्न जुराएको थियो मेरो आफ्नै निबन्धसङ्ग्रह ‘ईश्वरको अदालतमा आउटसाइडरको बयान’ले। जसको भूमिका लेखिदिन दिदीलाई अनुरोध गरेकी थिएँ। २०६२ सालको हिउँदको एउटा सुन्दर दिन भेट्न पुगेकी थिएँ उहाँकै निवासमा। पहिलो पटक उहाँलाई नजिकबाट देखेकी थिएँ। उहाँको सामीप्यले म फुरुंग भएकी थिएँ। 

 

वानीरा गिरी

एकदम सरल हुनुहुन्थ्यो। पहिलो भेटमै मलाई ग्वाम्लांग अँगालो हालेर आत्मीयता जाहेर गर्नुभएकोे थियो। त्यही पल, उहाँको मप्रतिको आत्मविश्वासले मलाई साह्रै भावुक बनाएको थियो र दिदीप्रतिको सम्मान अझ चुलिएको थियो। अत्यन्तै माया गर्नुहुन्थ्यो। कुनै लेनादेनाबिनाको त्यो निर्लिप्त माया! त्यस्तो व्यक्तिले छाडेर जानुभयो।

नजिकबाट भेटेको पहिलो पटक नै पूरै दिन उहाँका गफ सुनेकी थिएँ। कत्ति थाकिनँ। कत्ति पट्यार लागेन। उहाँको लेखनका कुरा सुन्न पाएँ र सुन्न पाएँ उहाँको आत्माको सितारबाट निस्केको सुन्दर धुनजस्तो जिन्दगीका कुरा। 

उहाँ स्पष्ट वक्ता हो भन्ने पहिलो भेटमै लाग्यो। उहाँले निबन्धको पाण्डुलिपि हातमा लिएर भन्नुभएको थियो— ‘तिम्रो संग्रह भनेको अस्तित्वको खोज हो; ‘स्व’को खोज हो, मोमिला!' 

गहिराइमा डुबल्की मार्ने क्षमता अद्भुत थियो। लेखनमा गहिराइ थियो उहाँको। साच्चै प्रतिभाशाली व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको व्यक्तित्व र कविता बाचन बेजोड थियो। नेपाली साहित्यको इतिहासमा आफ्नो छुट्टै विशिष्ट अस्तित्व स्थापना गर्न सफल र उचाइमा पुगेको व्यक्तित्व हो, उहाँ। तर राज्यस्तरबाट त्यो प्रतिभाको उचित कदर हुन नसकेको अनुभूत हुन्छ।

नजिकबाट भेटेको पहिलो पटक नै पूरै दिन उहाँका गफ सुनेकी थिएँ। कत्ति थाकिनँ। कत्ति पट्यार लागेन। पूरा दिन उहाँको लेखनका कुरा सुन्न पाएँ र सुन्न पाएँ उहाँको आत्माको सितारबाट निस्केको सुन्दर धुनजस्तो जिन्दगीका कुरा। 

त्यसपछिनै त हो ‘वर्तमान वानीरा र इतिहास’ नामक कविताको क्यानभासमा उहाँलाई शब्दका रङहरूले फ्रेमिङ गरेको :

प्रिय वानीरा! 
तिमीलाई म के भनूँ। 
फूलहरूसँग बात मारिरहँदा तिमी फूलैजस्तो
काँडासँग जुधिरहँदा तिमी काँडैजस्तो 
घामसँग हिडिरहँदा तिमी 
अर्को घामजस्तो 
जूनसँग हिँडिरहँदा तिमी 
अर्को जूनजस्तो 
सायद देख्नेहरूलाई थाहा भएर पनि याद नहोला—
फूल होस् या काँडा 
कसैकोमा आफू कहिल्यै धाउँदैनन् 
हेर्नेको आँखै छेकिन्छ बरु बादलले 
घामजून त कहिल्यै छेकिन्नन्...

(वर्तमान वानीरा र इतिहास)

जिन्दगीको यात्रा निकै सकसपूर्ण रह्यो दिदीको। डिप्रेसनमा गएपछि भने उहाँको जिन्दगी जिन्दगीजस्तो भएन। कविता नै पहिलो प्रेम हो भन्ने लेखकका लागि योभन्दा दुःखद् कष्ट के हुन सक्थ्यो र ? सायद डिप्रेसनमा नगएको भए नेपाली साहित्यमा अझै धेरै योगदान हुन्थ्यो उहाँको। 

नेपाली साहित्यमा भेटिने विभेदमाथि भने गहिरो चिन्ता थियो। भनौं त महिलाप्रति पुरुषहरूको दृष्टिकोण गम्भीर नरहेको मान्नुहुन्थ्यो उहाँ। भन्नुहुन्थ्यो, ‘महिलाको बौद्धिक उचाइलाई हत्तपत्त स्वीकार्दैनन् मोमिला! ’

व्यावहारिक रूपले हेर्दा समाजमा अझै पनि पुरुषकै हालिमुहाली रहेको मान्नुहुन्थ्यो। तर उहाँभित्र भने यस किसिमको विभेदका विरुद्ध खरो ज्वाला दन्किरहेको उहाँको आँखाको रापले महसुस दिलाउँथ्यो। समाज त हामी आफै‌ंले बनाउने हो भन्ने तर्क गर्नुहुन्थ्यो। सायद, उहाँले चिन्नुभएको महिलाका बारेमा सोचिने समाजको चिन्ताले उहाँलाई औडाहा हुन्थ्यो र अनायासै पीडा बाहिर छचल्किन्थ्यो। उहाँको बोधगम्यता बढो गम्भीर हुन्थे। मेरा लागि पाठजत्तिकै भए। गम्भीरतासहितको उहाँको यही ‘स्ट्रेट’ स्वभाव मलाई असाध्य मन परेको थियो।

गफगफमा पनि काव्य र आख्यान सिर्जनामा प्रवेश पाउने जिन्दगीको मात्रै होइन व्यक्तिगत जिन्दगीका आरोहअवरोहको गहिराइमा डुबेर मन्थन गर्नुहुन्थ्यो दिदी। सँगसँगै काव्यिक वैचारिकतामा उहाँ अघिअघि दौडिनुहुन्थ्यो र म डोबमा पछिपछि लाग्थें।

गफगफमा पनि काव्य र आख्यान सिर्जनामा प्रवेश पाउने जिन्दगीको मात्रै होइन व्यक्तिगत जिन्दगीका आरोह अवरोहको गहिराइमा डुबेर मन्थन गर्नुहुन्थ्यो दिदी। सँगसँगै काव्यिक वैचारिकतामा उहाँ अघिअघि दौडिनुहुन्थ्यो र म डोबमा पछिपछि लाग्थें।

‘मोमिला! हेर, तिम्रो जिन्दगीको अर्को विशेषण पनि तिम्रो जिन्दगी नै हो।’ भन्नुहुन्थ्यो। उहाँको गहिराइको पूर्णतः छेउटुप्पा समाउन नसके पनि वेदका ऋचाजस्ता उहाँका सूक्तिजस्ता वाणीहरूले आज स्मृतिमा बारबार दोहरिरहने प्रेमनिवेदनसरि सपनामा पनि झकझकाइरहन्छन्। कति लेखकहरू लेख्छन् र यसै छोड्दिन्छन्। तर उहाँसँग भने आफ्ना लेखनमाथि ‘डिफेन्स’ गर्नसक्ने अद्भुत क्षमता थियो। 

‘तिम्रो जिन्दगी र तिम्रो जिन्दगीको विस्तार पनि तिमी नै हौ। यही विस्तारभित्र तिमी सारा संसार र ब्रह्माण्ड भेट्ने छौ’ भन्नुहुन्थ्यो। अत्यन्तै गम्भीर काव्यात्मक लाग्थे गफहरू। मानौं, म उहाँको गफ होइन, कविता वाचन सुनिरहेकी थिएँ। उहाँको हरेक कुरा दर्शनसँग नजिक हुन्थे। कवितामा निकै गम्भीर हुनुहुन्थ्यो उहाँ। डिप्रेसनमा गइसकेपछिको एक भेटमा उहाँले भन्नुभएको थियो, “आफ्नो जिन्दगीको अभिनेता पनि आफैं अनि दर्शक, आलोचक र विश्लेषक पनि आफैं, कि कसो मोमिला!' यस किसिमको उहाँको प्रभावी आत्माविश्वासले मलाई पनि गर्लम्मै प्रभाव पारेकै हो। उहाँको निर्भीकताको ओज गज्जब थियो। सङ्लो मन भएको मान्छे उहाँ मासमा पनि निर्भीकताका साथ औंला ठड्याएर कुरा गर्न सक्नुहुन्थ्यो—

'म आफैंमा एक वृषोत्सर्ग 
तिमी यसै रूपमा मलाई स्वीकार '

(कविता आविष्कारबाट)

उहाँका कृतिले किन पुरस्कार पाएनन् भन्ने प्रश्न आइरहन्छ मभित्र। र बाध्य भएर उहाँको प्रतिभाको उचाइलाई राष्ट्रले सम्मान गर्न नसकेकै हो भन्ने निष्कर्षमा पुग्छु म। धन्न नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा ‘राष्ट्रिय कलाश्री पुरस्कार—२०७१’ द्वारा उहाँलाई सम्मान गरियो। यसैले यस सम्बन्धमा मलाई पछुतो भने छैन। 

राष्ट्रिय कलाश्री पुरस्कार-२०७१  सम्मान समाराेहमा बायाँबाट क्रमश: साहित्यकारहरू वानीरा गिरी, मोमिला जाेशी, तुलसी दिवस, रमेश श्रेष्ठ र पत्रकार जयदेव भट्टराई। तस्बिर साैजन्य : माेमिला

हो, त्रिमूर्ति निकेतनले दिएको ‘विश्व नारी रत्न’ उपाधिको साच्चै लायक हुनुहुन्थ्यो, उहाँ। तर चिन्नुपर्ने जति चिनिदिएनन्। प्राज्ञिक क्षमता, सिर्जन क्षमताका कारण महिलाका लागि मात्र होइन सबैका लागि गर्व गर्न लायक हुनुहुन्थ्यो, वानीरा दिदी। त्यसैले ढुक्कले भन्न सक्छु, ‘वानीरा गिरीको म पक्षधर हुँ।’

वानीरा एक मोम
'म हुँ मोम,
जसको पछि ‘इला’ प्रत्ययको योग छ
जो तापमा केही क्षणमै पग्लन पनि सक्छ
र बिना ताप कठोर भएर जमिरहन पनि सक्छ।'

त्यतिबेलासम्म माथिको कवितांशलाई नै आफ्नो परिचय ठानी म आफूलाई मैनजस्तो मान्थें। जब वानीरा दिदीसँग भेट भयो; मेरो भ्रम टुटेको थियो। लाग्थ्यो, तापमा मोमजस्तै चाँडै पग्लिन र बिनाताप जम्न पनि सक्छु म। तर त्यो भेटपछि वानीरा दिदीचाहिँ वास्तविक मैनजस्तो लाग्यो। साँच्चै नै उहाँ मैनजस्तै पग्लिन पनि सक्ने र कठोर भएर जम्न पनि सक्ने उहाँलाई ‘वानीरा एक मोम’ भनेर सम्बोधन गर्न मन लागेको थियो। 

उहाँ मायाको भाषा अधिक बुझ्नुहुन्थ्यो। जीवन र जगत्भित्र अटाएको सिंगाे र सग्लो प्रेम उहाँले कवितामा पाउनुभएको थियो। ‘मेरो पहिलो प्रेम कविता हो’, उहाँले भन्नुभएको थियो। जो प्रेमहीन हुन्छ उही प्रेम प्रेम भनेर चिच्याउँछ। तर उहाँको प्रेम त कवितामा पोखिन्थ्यो। कवितामा देखिन्थ्यो। जीवन र जगत्सँग जोडिएर कुरा गर्दा नि प्रेम छुट्थेन। के यति प्रेम हुन्छ कवितासँग! आश्चर्यमिश्रित मेरो प्रश्न हुन्थ्यो। सायद, कोमलभाव सलबलाउँथे उहाँभित्र। व्यावहारिक प्रेम पनि सरल थियो। उहाँ एउटा पूर्ण कविताजस्तो लाग्थ्यो र त्यो कविता बारबार पढिरहन मन लाग्थ्यो।

कवितालाई प्रेम गर्ने वानीरालाई कतिपयले त घमण्डी पनि भन्थे। तर म त्यसलाई घमण्ड ठान्दिनँ। तिमीहरूले मेरो विशिष्ट अस्तित्वलाई स्वीकार गर भनेर उहाँले भन्न खोज्नुभएको जस्तो लाग्थ्यो। यथार्थमा त्यो अभिमान नभएर स्वाभिमान थियो भन्ने लाग्छ। 

दिदी भन्नुहुन्थ्यो— ‘बोल्न जीवनले सिकाउँछ। लेख्नचाहिँ नछोड; लेखनमा जीवनका रङहरू छर! डोबहरूबाट जीवनको विशेष बाटो आफैं बन्दै जान्छ।’

फेरि दृष्टिकोण सबैको एउटै हुन्छ भन्ने कहाँ छ र! यसर्थ सबै–सबैका लागि प्रिय नहुन सक्छन्। तर कविताको प्रेममा पर्नुभएका वानीराका लागि अहंकाे स्थापना गर्न खोज्नु पनि एक अर्थमा प्रतिरोध थियो। महिला पनि बौद्धिक हुन्छन् है भन्नु थियो। यो अस्तित्वको लडाइँ थियो, अस्तित्वको स्थापना गर्न खोज्नु थियो। घमण्ड गरेको होइन, दयाको आवश्यकता पनि होइन; बरु, माया र विशिष्ट पहिचानको खोजी थियो!
म पेन्टिङ रुचाउँथें। कलामा पेन्टिङ मेरो प्रथम थियो। पेन्टिङको मौन भाषा मन पर्थ्याे। बोल्न डराउँथे। दिदी भन्नुहुन्थ्यो— ‘बोल्न जीवनले सिकाउँछ। लेख्नचाहिँ नछोड; लेखनमा जीवनका रङहरू छर! डोबहरूबाट जीवनको विशेष बाटो आफैं बन्दै जान्छ।’

उहाँलाई डिप्रेसनसँगै अल्जाइमरले समाएपछि उहाँको जीवन एकसरो भयो। उहाँले लामो समय एकान्तमा बाँच्ने संघर्ष गर्नुभयो। उहाँका लागि लकडाउन अल्जाइमरसँगै आएको थियो। कोरोना कहरले सारा जनता एकान्तबासमा छन्। तर दिदीले देहत्याग गर्नुभयो। 

जीवन कलात्मक बाँच्ने मोह हरेक मानवभित्र हुन्छ, सायद। समय र परिस्थितिले कला छुट्न सक्छ। दिदीको कलात्मक जीवन पनि अल्जाइमरले गुमेको थियो। त्यो भेटमै दिदीले भन्नुभएको थियो— ‘आर्टबिनाको जीवन त जिउनु नै कहाँ हो र मोमिला!’
‘मोमिला मलाई बिर्सियौ है।’ कुनै एक कार्यक्रममा भेट हुँदा भन्नुभएको थियो। 

दिदीको साहित्य साधनाले नेपाली कविताको वाङमयलाई सम्पन्न बनाउन सधैं योगदान रह्यो। गद्य साहित्यमा पनि आफ्नो गतिशील उपस्थिति जनाउनमा सधैं अग्रसर हुनुुहुन्थ्यो।

बिर्सिएको छैन दिदी भन्न मात्रै सकें। माया र सम्मान मनभरि थियो। बडो कठोर भइदिएझै‌ं भएँ उनलाई अल्जाइमरले च्यापेपछि। जीवन बाँच्न केवल ओछ्यानमा अलजाइमरसँग संघर्ष गरिरहँदा कुन्नि के लय नमिलेर हो, उहाँलाई भेट्न जान पनि पाइनँ। अहिले पछुतो भइरहेकोे छ। उषा दिदीले डिप्रेसन, अल्जाइमर भएको खबर दिनुभएको थियो। महाभूकम्प आयो; नाकाबन्दी लाग्यो; कोरोनाले क्रमशः पहिलो अनि दोस्रो प्रवेश गर्‍यो। देशमा भित्रिएको विपत्ति आफैंलाई परेझैं भयो। अफसोस! अघिपछि भए कम्तीमा मलामी त जान पाइन्थ्यो होला। 

साहित्य यात्रा

भाषागत दक्षता, काव्यिक चेतना, भावनात्मक यात्रा र आत्मिक प्रवाह थियो उहाँभित्र। आधुनिक नेपाली कविता साहित्यमा नारी अस्मिता र मानवीय गरिमाको उद्घोष गर्ने एक बौद्धिक नारी स्रष्टा हुनुहुन्थ्यो।

दिदीको साहित्य साधनाले नेपाली कविताको वाङमयलाई सम्पन्न बनाउन सधैं योगदान रह्यो। गद्य साहित्यमा पनि आफ्नो गतिशील उपस्थिति जनाउनमा सधैं अग्रसर हुनुुहुन्थ्यो। यस सन्दर्भमा उहाँद्वारा लिखित ‘कारागार’ उपन्यासले एउटा कीर्तिमान नै स्थापित गरिसकेको कुरा स्वयंसिद्ध छ। भारतीय साहित्य अकादमी दिल्लीले उहाँको उपन्यास कारागारलाई प्रदीप विहारीको अनुवादमा ‘कारा’ नामले प्रकाशन गरेको छ। 

हामीले जीवनलाई टुक्राटुक्रामा हेर्‍यौं भने केही अर्थ रहँदैन समग्र रूपमा जोडेर हेरेमा मात्र समष्टिगत पोस्टरमय चित्र बन्दछ। जब हामी टुक्रिन्छौं; तब हामीले हाम्रो समष्टिगत जीवनको अर्थ भुल्दछौं।

उहाँका कवितामा जीवनको गहिराइबाट टिपिएका मोतीहरूको विन्यास भेटिन्छ। जीवन अनि समाजलाई दिशानिर्देश गर्ने सबल बाटो कोर्दै अघि बढिरहनुलाई उहाँ मानवीेय गरिमाको उद्घोष मान्नुहुन्थ्यो। 

१९४६ अप्रिल ११ मा जन्मिएकी दिदी वानीराले आफ्नो सिर्जन प्रतिभाको कीर्तिमानका रूपमा 'एउटा जिउँदो जंगबहादुर', 'जीवन थायामरु', 'मेरो आविष्कार' जस्ता काव्यकृति र 'कारागार', 'निर्वाण', 'शब्दातीत शान्तनु' जस्ता उपन्यासबाट आफ्नो उत्कर्षपूर्ण गर्वको दाबी गर्न सफल अनुभूत हुन्छ। 

हामीले जीवनलाई टुक्राटुक्रामा हेर्‍यौं भने केही अर्थ रहँदैन समग्र रूपमा जोडेर हेरेमा मात्र समष्टिगत पोस्टरमय चित्र बन्दछ। जब हामी टुक्रिन्छौं; तब हामीले हाम्रो समष्टिगत जीवनको अर्थ भुल्दछौं। मानिसबीचको वैमनस्यभन्दा एकताको अर्थबोध गर्न एउटा सिंगो पोस्टरले सन्देश दिएको छ :

‘जिन्दगी यो व्याख्या होइन महाकाव्यको 
भूमिका होइन आत्मकथाको 
संस्मरण होइन आफ्ना कृतिहरूको 
म चुलाको प्वालबाट 
एउटा जिन्दगी फुकिदिन्छु 
र तपेसको चामल छड्काइदिन्छु 
म ऐनाको सतहमा
एउटा जिन्दगीको सास फेरिदिन्छु 
र आफ्नै अनुहारलाई धमिलो देखिदिन्छु।     
म एउटा च्यातिएको पोस्टर 
समयको भित्तामा 
ए मान्छे! 
च्यातिएका वाक्यका टुक्राहरूका पटकपटकमा 
बेग्लाबेग्लै अर्थ नलगाऊ 
मैले आफ्नै कहानी बिर्सिसकेकी छु।’

(गिरीको ‘म एउटा च्यातिएको पोस्टर’बाट) 

यत्तिखेर म मेरो हृदयको सग्लो पोस्टरमा उही सग्लो वानीरा खोजिरहेछु...!
 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट