शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोना महामारी : यी ७ घटना, जहाँ प्रधानमन्त्री ओली आफैँले गरे मापदण्ड उल्लंघन

कोरोना महामारी : यी ७ घटना, जहाँ प्रधानमन्त्री ओली आफैँले गरे मापदण्ड उल्लंघन

'यसले ठूलो खतरा निम्त्याउन सक्छ,' जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डे भन्छन्, 'लकडाउन गर्नु पर्ने बेला आफैँ भीड जम्मा गर्नु प्रधानमन्त्रीको बेमतलवको पराकाष्ठा हो।'
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

काठमाडौं- कोरोना संक्रमण तीव्र गतिमा फैलिएको भन्दै सरकारले वैशाख ६ गते २५ जनाभन्दा बढी एकै स्थानमा भेला हुन नपाउने निर्णय गर्‍यो। मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण रोकथाम नियन्त्रण निर्देशिका जारी गर्दै विवाह, ब्रतबन्ध भोजलगायतका धार्मिक/सामाजिक कार्यमा २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्देशन जारी गरेको थियो। मृत्यु संस्कारका लागि मलामीसमेत २५ जना भन्दा बढी जान नपाइने निर्देशिका जारी गरिएको थियो। 

triton college

सरकारको उक्त निर्णय र निर्देशिकाको खिल्ली उठाउँदै प्रधानमन्त्री केपी शर्मा ओली स्वयं भने एकपछि अर्को गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्ने दौडमा छन्। भीडभाडसहितका कार्यक्रमलाई प्रधानमन्त्री ओलीले न त स्थगित गरेका छन्, न त घटाएका नै छन्।

सरकारले जारी गरेको मापदण्ड उल्लंघन गर्दै देशका कार्यकारी प्रमुखका हैसियतमा वैशाख ६ पछि नै ७ वटा (मुख्य) कार्यक्रममा सहभागी भएर सरकारकै मापदण्डको खिल्ली उडाएका छन्। सयौं मानिसको भीड बटुलेर सरकारले नै जारी गरेको मापदण्ड पालना नगर्न प्रधानमन्त्री ओलीले दिनहुँ प्रश्रय गरेका गर्‍यै छन्। 

प्रधानमन्त्री आफैले निरन्तर भीड जम्मा गर्नुले उनी कोरोना रोकथामका लागि कत्ति पनि संवेदनशील नरहेको प्रष्ट हुने जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डे बताउँछन्। 'यसले ठूलो खतरा निम्त्याउन सक्छ,' उनले भने, 'लकडाउन गर्नु पर्ने बेला आफैँ भीड जम्मा गर्नु प्रधानमन्त्रीको बेमतलवको पराकाष्ठा हो।'

प्रधानमन्त्रीले नै मापदण्ड उल्लंघन गरेका ७ घटना
१. २६५ नेताको उपस्थितिमा बालुवाटार बैठक 

प्रधामन्त्री ओलीले वैशाख ६ गते बिहान मन्त्रिपरिषद्को बैठक राखेर २५ जनाभन्दा बढी भेला हुन नपाउँने निर्णय गराएका थिए। त्यही दिन दिउँसो बालुवाटरमै ओलीले २६५ जना नेताहरूको उपस्थितिमा राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक राखे । बैठकमा सामाजिक दुरी भन्ने कहीँ कतै देखिएको थिएन। प्रधानमन्त्री ओलीले आफैँ नेतृत्वको सरकारले जारी गरेका मापदण्डको उल्लंघन गर्न बालुवाटारबाटै उद्घाटन गरे। यो क्रम अद्यापि जारी छ। 

corrent noodles
Metro Mart

२. सयौंको भीड जम्मा गरेर रामसीताको मूर्तिपूजा
२५ जनाभन्दा बढी मानिस एकैठाउँमा भेला हुन नपाइने मापदण्ड लागू भएको दोस्रो दिन अर्थात् वैशाख ७ गते पनि प्रधानमन्त्री ओलीले बालुवाटारमा भीड जम्मा गरेर रामसीताको मूर्तिमा पूजा गरे। देवघाट हुँदै चितवनको माडी पुग्न ५ सय गाडीको शोभायात्रालाई बालुवाटारमा जम्मा गराएर बिदाइ गरे। 'श्री सीताराम शोभा रथयात्रा' नाम दिइएको धार्मिक र्‍यालीमा सयौं मानिसलाई सहभागी गराइयो। 

३. सीतारामको मूर्ति स्थापना गर्न प्रधानमन्त्रीको निर्देशनमा हजारौंको भिड
वैशाख ८ गते चितवनको माडीमा हजारौँको काठमाडौंबाट पठाएको सीतारामको मूर्ति स्थापनाका लागि चितवनको माडीमा हजारौंको भीड लाग्यो। पर्यटनमन्त्री भानुभक्त ढकाल र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल सहभागी भएर उक्त भीडलाई सम्बोधन पनि गरेका थिए। यो काम प्रधानमन्त्री ओलीकै निर्देशनमा भएको थियो भन्ने आकलन गर्न गाह्रो छैन। भारतमा निर्वाचनका र्‍याली र कुम्भमेलामा सहभागी सयौँमा एकैपटक कोरोना फैलिएको समाचार विश्वभर प्रसारित हुँदा पनि प्रधानमन्त्रीकै निर्देशनमा नेपालमा भीडभाड बढाउने काम भने स्वयं प्रधानमन्त्रीकै सक्रियतामा भइरहेका छन्। 

४. पार्टी कार्यालय उद्घाटन र शिलान्यास
एमालेको नयाँ केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथली सारिएको छ। प्रधानमन्त्री ओलीले गत बिहीबार नेकपा (एमाले)को थापाथली पार्टी कार्यालय उद्घाटन गरे। यही दिन ओली दलबलसहित बल्खु पुगेर पुरानो पार्टी कार्यालय रहेकै स्थानमा पार्टीको केन्द्रीय कार्यालय भवनको पनि शिलान्यास गरे। यी दुवै कार्यक्रममा प्रधामन्त्रीले सयौँको भीड जम्मा गरेका थिए। स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघनमा प्रधानमन्त्री ओलीले आफूलाई झन् दरिलो बनाए। 

५. बालुवाटारमा साढे २ सय नेताको जमघट
प्रधानमन्त्री निवास बालुवाटारमा गत शुक्रबार एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्यो।  बिहान ११ बजेदेखि ४ बजेसम्म बसेको बैठकमा साढे २ सयभन्दा धेरै एमालेका नेताहरु सहभागी थिए। स्वास्थ्य सुरक्षा मापदण्ड पालनाको नमुना देखाएर सबैलाई प्रोत्साहन गर्नुपर्नेमा प्रधानमन्त्री ओली भने दिनानुदिन भीडभाड बढाउन र स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्न दुरुत्साहन गर्ने क्रम जारी नै राखेका छन्। 

६. धरहराको भीडभाड
निर्माण कार्य पूरा नै नभएको २२ तले धरहराको शनिबार प्रधानमन्त्री ओलीले उद्घाटन गरे। उद्घाटन कार्यक्रममा सयौं सहभागी थिए। मापदण्डलाई कुल्चँदै प्रधानमन्त्री ओलीले महामारीको जोखिमलाई नजरअन्दाज गर्दै तामझामका साथ उद्घाटन कार्यक्रम गरेर सक्नेले 'मापदण्ड उल्लंघन गर' भन्ने कुसन्देश प्रवाह गरे। 

७. बालुवाटमा अढाई सय नेताको भीड
२५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेको ६ दिनकै बीचमा प्रधानमन्त्री ओलीले बालुवाटारमा मात्रै तीन पटक साढे २ सयभन्दा बढी नेता भेला गराएर बैठक राखेका छन्। आइतबार पनि यस्तै प्रकृतिको बैठक बस्यो। 

यसरी आफैले गरेको निर्णय प्रधानमन्त्री आफैले सयौंको भीड जम्मा गरेर हरेक दिन उल्लंघन गरिरहेका छन्। कोरोना संक्रमण तीव्र रुपमा फैलिएको भन्दै 'मलामीसमेत २५ जनाभन्दा बढी नजानू' भनेर सरकारले जारी गरेको मापदण्ड उल्लंघनमा प्रधानमन्त्री ओलीले आफूलाई अब्बल बनाइरहेका छन्।  

प्रकाशित: Apr 25, 2021| 14:38 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।