इटहरी- तराईलाई अन्न भण्डार पनि भनिन्छ। कुल भूभागको १५ प्रतिशत क्षेत्रफल ओगट्ने तराईले बाँकी ८३ प्रतिशत जमिनको भन्दा बढी अन्न उत्पादन गर्छ। तर, त्यही क्षेत्रमा खान नपाएर भोकभोकै बस्ने जनसंख्या ठूलो छ।
सन् २०११ मा सरकारले गरेको जनसांख्यिक तथा स्वास्थ्य गणनाले पनि नेपालमा कुपोषणको अवस्था भयावह देखाएको थियो। गणनाअनुसार पाँच वर्षमुनिका ४१ प्रतिशतमा बालबालिकामा पुड्कोपना देखिएको छ भने २९ प्रतिशत कम तौलका छन्।
यस्तै, ११ प्रतिशतमा ख्याउटेपना देखिएको छ। हरेक पाँच वर्षमा हुने यो गणनाको पछिल्लो अध्याय यही वर्ष सञ्चालन हुँदैछ। नेपालका पहाडी र हिमाली क्षेत्रमा खाद्य असुरक्षा र कम अन्नबाली उत्पादनका कारण कुपोषण देखिने गरेको छ।
तर, अन्नभण्डारमै कुपोषण चिन्ताजनक अवस्थामा देखिएको छ। धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसका विद्यार्थीले सप्तरीमा गरेको नमुना सर्वेले यसको पुष्टि गरेको छ।
पोषण विज्ञानका विद्यार्थी विपिन कार्की र मोदनाथ पौडेलले सप्तरीको साविक डाँडा गाविसको बलिया गाउँमा नमुना सर्वे गरेका थिए।
'नमुना सर्वेका आठमध्ये पाँच वटा केसमा बच्चाहरूमा कुपोषण देखिएको छ,' पौडेलले भने, 'तराईका विपन्न तथा सीमान्तकृत समुदायमा कुपोषणको अवस्था भयावह छ।'
पोषण विज्ञानका विभागीय प्रमुख डम्बरबहादुर कार्कीका अनुसार खान नजानेर पनि कुपोषणको समस्या देखिन्छ।
तराईका २० जिल्लामध्ये सप्तरीमा कुपोषणको अवस्था भयावह
झापा, मोरङ र सुनसरीमा पनि कुपोषणको खराब अवस्था देखिएको उनले जानकारी दिए। 'आठ वटा नमुनामध्ये पाँच वटामा कुपोषण देखिनु धेरै असामान्य समस्या हो,' कार्कीले भने।
सप्तरीमा कुपोषणको भयावह अवस्था अर्को अध्ययनबाट पनि देखिएको छ। भोकविरुद्धको फ्रान्सेली संस्था एसीएले सप्तरीमा अध्ययन गरेको थियो। उक्त अध्ययनमा ५५ प्रतिशत बालबालिकामा ख्याउटेपन देखिएको छ। ७४ प्रतिशतमा पुड्कोपन र ८२ प्रतिशतमा कम तौल देखिएको छ।
तराईमा कुपोषणको अवस्थाबारे सरकारी ध्यान जानैपर्ने पोषण विज्ञानमा स्नातक गरेका अर्पण ढकाल बताउँछन्।
यस्ता छन् असरखान खान नपाउँदा र पाएको खाना बढी खाँदा पनि कुपोषण हुने विज्ञहरू बताउँछन्। तराईमा भने खानै नपाएर कुपोषणको शिकार हुनेहरु बढेको जानकारहरू बताउँछन्।
गर्भदेखि जन्मेर दुई वर्ष हुँदासम्मका हजार दिनमा बच्चाको स्वास्थ्यमा धेरै ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन्।
विभागीय प्रमुख कार्कीका अनुसार त्यस अवधिमा धेरै मानसिक विकास हुन्छ। 'त्यस अवधिलाई सुनौला हजार दिन पनि भनिन्छ,' उनी भन्छन्, 'यही अवधिमा आवश्यक पौष्टिक तत्त्व नपाउँदा कुपोषणले बच्चाको शारीरिक, मानसिक र बौद्धिक विकासमा असर पुग्छ।'
कुपोषणले बाल मृत्युदरसमेत बढाउने विज्ञहरू बताँउछन। नेपाल जनसांख्यिक तथा स्वास्थ्य गणना २०११ ले पनि नेपालको बाल मृत्युदरको अवस्था खराब देखाएको छ।
गणनाअनुसार नेपालका पाँच वर्ष मुनिका बालबालिका प्रतिहजारमा ४१ जनाको मृत्यु हुने गर्छ। अपवादबाहेक थुप्रै मृत्युको कारण कुपोषण हुने पोषण विज्ञानका जानकारहरू बताउँछन्।
कुपोषण आफैंमा रोग भएन। तर, त्यसका कारण धेरै रोग निम्तिन्छ। कुपोषणले भिटामिन ए, भिटामिन डी, आइरन र आयोडिनजस्ता अत्यावश्यक पौष्टिक तत्वको अभाव सिर्जना गर्छ।
फिटनेसरिपब्लिक डट कम नामक न्युजपोर्टलका अनुसार कुपोषणले श्वासप्रश्वासको समस्या, निमोनिया, सुकेनास, रुन्चे, रक्तअल्पता, गलगाँडजस्ता स्वास्थ्य समस्या निम्त्याउँछ।
खानामा निकोटेनिक एसिड कमीका कारण हुने रोग पेलाग्रा, हड्डी कमजोर हुने रोग रिकेट्सलगायत समस्याको कारक पनि कुपोषण नै हो।
प्रौढमा पनि कुपोषणकोसमस्या उत्तिकै हुने गर्छ। असन्तुलित आहार र पौष्टिक तत्त्वको अपर्याप्तताका कारण त्यस्तो समस्या हुने विज्ञहरू बताउँछन्। नियमित व्यायाम, सन्तुलित भोजन र मानसिक स्वास्थ्यको व्यवस्थापन नै बयस्क उमेरको कुपोषण निर्मुलका आधार हुने पोषण विज्ञहरू बताउँछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४