धनगढी- छिमेकी गाउँको केटासँग उनको माया बस्यो । दुवैले एकअर्कालाई मन पराए । प्रेम बसेको थाहा पाएपछि दुवै परिवारले धुमधाम साथ बिहे गरिदिए ।
एक छोरा जन्मिए, जो अहिले १० वर्ष पुगे । बिहे भएको एक दशकसम्म घरबार राम्रैसँग चल्यो । तर, त्यसपछि उनलाई छाडेर केटाले अर्कै बिहे गरे । श्रीमान्ले उनलाई छोड्नुको कारण हो, उनी सशस्त्र द्वन्द्वका बेला सुरक्षाकर्मीबाट सामूहिक बलात्कारमा परेकी महिला हुन् ।
१३ वर्षकी किशोरी छँदा कैलाली चौमालास्थित घरमै उनी सुरक्षाकर्मीको सामूहिक बलात्कारमा परेकी थिइन् । घटनाबारे एक दशकपछि थाहा पाएका श्रीमान्ले उल्टै कुटपिट गर्दै घर निकाला गरे ।
उनी भन्छिन्, 'बलात्कार हुँदादेखिको पीडा त छँदैछ, त्यसमाथि घरबाट लखेटिँदाको पीडाले बाँचेर पनि केही काम छैनजस्तो लाग्छ ।'
सशस्त्र द्वन्द्वका बेला यौन हिंसा पीडित महिला उनीजस्तै मनमा पीडा लुकाएर बाँचिरहेका छन् । घटनाबारे अरूलाई भनौं भने घरपरिवार र समाजबाटै तिरष्कार र अपहेलित हुनुपर्ने चिन्तामा देखिन्छन्, उनीहरू ।
पीडित महिलाका लागि न्यायको कुरा धेरै टाढाको विषय बनेको छ । 'यस्ता महिला समाजमा धेरै छन् तर उनीहरू विभिन्न समस्याले गर्दा पीडा लुकाएरै बसिरहेका छन्,' द्वन्द्वपीडित साझा चौतारी कैलालीकी उपाध्यक्ष कृति चौधरी भन्छिन् ।
सत्यनिरुपण आयोगमा बलात्कारमा परेका महिलाले उजुरी दिन सकेनन् किनकि परिवारले थाहा पाए घरबाटै निकालिनुपर्छ ।
उनका अनुसार कैलालीमा मात्र सशस्त्र द्वन्द्व पीडित ३५ महिला सम्पर्कमा आएका छन् ।
भजनीकी एक महिला सम्पर्कमा आएकाहरूमध्येकी हुन् । सुरक्षाकर्मीको सामूहिक बलात्कारमा परेकी उनलाई घटना थाहा पाएलगत्तै श्रीमान्ले घर निकाला गरिदिए । घर निकालामा पर्दा भरखरै छोरालाई जन्म दिएकी थिइन्, उनले ।
बलात्कारका कारण उनको पाठेघरमा घाउ छ । उनले नियमित औषधि सेवन गरिरहनुपर्छ । सबै कुरा बताएर उनी अहिले अर्कै युवकसँग बिहे गरेर बसेकी छन् ।
उनीहरूका लागि काम गरिरहेकी आशा चौधरीका अनुसार अर्की पीडित महिलाको पाठेघरमा गम्भीर समस्याका कारण बाँझोपन देखिएको छ । र, उनका श्रीमान् सम्बन्ध विच्छेद गर्ने अवस्थामा पुगेका छन् ।
अधिकांश पीडितले न्याय नपाए पनि स-साना राहत भने पाएका छन् । आफू यौन हिंसा पीडित भएको बताउँदै न्याय माग्न अदालतको ढोका ढक्ढक्याउने अवस्थामा पनि छैनन् ।
सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वका घटनामा उजुरी दिन पटक-पटक सूचना जारी नगरेको पनि होइन । तर, अन्य प्रकृतिका पीडितले उजुरी दिए पनि यौन हिंसा पीडित अगाडि सर्न सकेनन् ।
'३५ पीडितमध्ये २/३ जनाले मात्र उजुरी दिए, बाँकीले दिन सकेनन्,' चौतारीकी उपाध्यक्ष चौधरी भन्छिन्, 'परिवारको सहयोगबिना उजुरी दिन सम्भव छैन, परिवारलाई भन्ने त कुरै भएन ।'
कैलालीमा मात्र तत्कालीन राज्य र विद्रोही दुवै पक्षबाट यौन हिंसामा परेका महिलाको संख्या धेरै हुन सक्ने चौतारीको अनुमान छ । प्रदेश-७ का सबै जिल्लामा गरी यौन हिंसा पीडित महिला तीन सयभन्दा बढी हुन सक्ने चौतारीका प्रदेश संयोजक गणेशबहादुर मल्ल बताउँछन् ।
कैलालीपछि अछाम र कञ्चनपुरमा बढी पीडित रहेको अनुमान चौतारीको छ । अछाममा यौन हिंसा पीडित ३१ महिलाले स्थानीय शान्ति समितिमार्फत् उजुरी दिएका छन् । समितिका सचिव अनिल बिष्टका अनुसार अछाममा पनि पीडितको संख्या यकिन छैन ।
सत्यनिरुपण तथा मेलमिलाप आयोगको दिपायलस्थित कार्यालयका मुख्य अनुसन्धान अधिकृत दमनसिंह बिष्टका अनुसार त्यस्ता कति महिलाको उजुरी परेको छ भन्ने यकिन भइसकेको छैन । उजुरीहरू खोलिसकिएपछि गोपनीयता कायम राखेर अनुसन्धान गरिने उनी बताउँछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४