काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्ष २०७७ निरर्थकको वर्ष नरहेको बताएका छन्।
आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले २०७७ लाई सफलताको वर्ष मान्नु पर्ने बताए।
‘हामीले गत वर्षलाई सफलताको वर्ष नै मान्नुपर्छ, असफलताको होइन,’ उनले भने, ‘कोभिड महामारीका बेला सही नीतिकै कारण हामीले कमभन्दा कम क्षति भोग्नु पर्यो।’
यसबीचमा मेलम्चीको काठमाडौं ल्याएको, विभिन्न पुनर्निर्माणका काम भएको, अनलाइन माध्यमबाट शिक्षा प्रदान गरिएको उनको भनाइ छ।
‘हामीले जनातामा आशा जगाउने कामहरू गर्याैं,’ उनले भने, ‘महामारीका बेला जनताको सुरक्षालाई पहिलो प्राथमिकता दियौं, नागरिकको जीवन रहेन भने कुनै पनि कुरा चल्न सक्दैन।’
यस्तै उनले प्रतिदिन साढे ५ किलोमिटर बाटो बनेको र एक दिनमा १२ वटा आवास निर्माण भएको दाबी गरे। सामाजिक, आर्थिक क्रियाकलापमा महामारीले केही प्रतिकूल असर परे पनि ऋणात्मकतर्फ जान नदिएको उनको भनाइ छ।