काठमाडौं- जन्मेदेखि नै हिमाल हेर्दै हुर्केकी डोमा शेर्पालाई सानैदेखि अग्ला हिमाल चढौं-चढौं लाग्थ्यो ।सोलुखुम्बुको दुधकुन्डमाा जन्मिएकी डोमाले विश्वकै अग्लो शिखर सगरमाथा चुम्ने सपना बाल्यकालमै देखेकी थिइन् ।
त्यही सपनालाई विपना बनाउन आठ वर्षअघि उनका पाइला सगरमाथातिर सोझिए । भन्छिन्, 'सन् २०१० मै आफूलाई मानसिक रूपमा तयार गरेकी थिएँ ।'
परिवारबाट पनि सहयोग र प्रोत्साहन भएपछि सन् २०१४ मा उनले सगरमाथा चढ्ने प्रारम्भिक योजना बनाइन् र तयारीमा जुटिन् । उनका पाइला सगरमाथासम्म पुग्न त्यसपछि पनि चार वर्ष लाग्यो । एसएलसीपछि उच्चशिक्षाका लागि काठमाडौं आइन् तर डोमाको मन हिमालतिरै थियो । काठमाडौं बसेर पनि हिमालकै बारेमा सोधखोज गरिरहिन् ।
ब्रिलियन्ट मल्टिपल कलेजबाट प्लस टु गरेकी डोमाले सेफर्ड कलेजमा मिडिया प्रविधिमा स्नातक गरिन् । जब मिडिया विषय लिएर सेफर्डमा अध्ययन थालिन्, सगरमाथा चुम्ने उनको सपनाले अझै कुत्कुत्याउन थाल्यो ।
सेफर्ड कलेजले पनि उनलाई सगरमाथा चुम्न सहयोग गर्यो । सोही कलेजबाट अब स्नातकोत्तर गर्दैछिन् ।
२५ मंसिर ०७४ मा उनले नेपालकै आइसल्यान्ड पिक (६,१८९मिटर)को शिखर चुमिन् । गत ३१ वैशाखमा सगरमाथाको शिखर टेक्न उनको सपना, साहस र सकसको कथा कम रोमाञ्चक छैन ।
डोमासँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस्
संसार जितेको अनुभव
'सगरमाथा चुम्न सजिलो छैन । कति संघर्ष गर्नुपर्छ, कति सकस हुन्छ, चढ्नेहरूलाई मात्र यसको कथा र व्यथा थाहा हुन्छ,' डोमा भन्छिन्, 'पाइला-पाइलमा मरिन्छ कि पुरिन्छ भन्ने डर हुन्छ । पल-पलमा जोखिम हुन्छ । यी सबैलाई सामना गर्दै सम्पूर्ण साहस बटुलेर संयमपूर्वक अगाडि बढ्नुुपर्छ ।'
उनलाई सगरमाथामा पाइला टेक्दा संसार जितेको अनुभव भयो । जब चुचुरोमा पुगिन्, त्यहीं बसिरहुँझैं लाग्यो । शिखर पुग्दा भावुक बनिन् । तर, उनको दिमागलाई शेर्पाहरूको सकसले घोच्यो । उनीहरूका लागि केही गर्नुपर्छ भन्ने ठानिन् ।
सगरमाथा चढ्ने निधो गरेपछि परिवार र आफन्तबाट उनलाई निरन्तर सहयोग र प्रोत्साहन भयो । उनी भन्छिन्, 'मेरो सफलताको पछाडि मेरो दाइ सोनाम शेर्पाको ठूलो हात छ । केही गर्नुपर्छ, छोरी मान्छे भएर घरमा बस्नु हुँदैन, बाहिरको दुनियाँ हेर्नुपर्छ, रम्नुपर्छ, सबै जान्नुपर्छ भन्दै दाइले हरेक समय प्रेरित गर्नुभयो ।'
तीन दिदी-बहिनीलाई अगाडि बढ्न हरेक पाइलामा सोनामको साथ रहने गरेको छ । डोमालाई यहाँसम्म पुर्याउन पनि उनकै हात छ ।
'सगरमाथा चुम्न सजिलो छैन । कति संघर्ष गर्नुपर्छ, कति सकस हुन्छ, चढ्नेहरूलाई मात्र यसको कथा र व्यथा थाहा हुन्छ ।'
पत्रकारिताको आठ वर्षे यात्रा
सोलुखुम्बूकाे दूधकुण्ड नगरपालिकाकी उनको सञ्चारकर्मीको यात्रा शुरु भएको आठ वर्ष बित्यो ।
सन् २०१४ मा हिम पहिरोमा परेर १६ जना आरोही शेर्पाहरूको मृत्यु भयो । १२ वैशाख ०७२ को विनासकारी भूकम्पले ठूलो क्षति पुग्यो, हिमालमा । तर, हिमालका दुःख हिमालमै सीमित बने । सञ्चार माध्यमले पनि 'कभर' गर्न सकेका थिएनन् ।
उनले सोचिन्, काठमाडौं बसेर अनुमानको खेती गर्नु हुँदैन, हिमालमै पुगेर वास्तविकता कोट्याउनुपर्छ ।
अनि शुरु भयो, हिमाली भेगको रहस्य, कथा र व्यथा केलाउने उनको यात्रा । उनीसहितको समूहले हिम पहिरो र भूकम्पको क्षति बेहोरेका परिवारका लागि विदेशबाट सहयोग संकलन गर्यो ।
मृतक आरोहीहरूका परिवारको स्थिति नाजुक थियो । स-साना बालबच्चा हुर्कंदै थिए । वृद्ध बाबुआमाको आँशु थामिएको थिएन ।
पीडित परिवारको अवस्था देखेर द्रवित बनेको उनको मन भने सगरमाथाको चुचुरोतिरै थियो । विदेशमा भएका दाजुभाइले उनका लागि आर्थिक सहयोग उपलब्ध गराउने बचन दिए । हिमालको ज्ञान बटुलिसकेकी थिइन् । सपनालाई विपना बनाउन कुनै सकस भएन ।
शेर्पाको सहयोगमा शिखर
प्रशिक्षणबिनै सगरमाथा चुमिन्, डोमाले । पर्याप्त तालिम लिएकाहरूका लागि पनि शेर्पाहरूको साथ अनिवार्य हुने गर्छ । डोमाले बिनातालिम शेर्पाको सहयोगमै शिखर चुमिन् ।
सगरमाथा आरोहणअघि उनले ओलम्पिक समिट गरिन् । त्यसक्रममा उनी दुर्घटनामा पनि परिन् । उनले हिम्मत हारिनन् । त्यसबाट सगरमाथा शिखर चुम्ने उनको लक्ष्यलाई अझ हौसला मिल्यो ।
सगरमाथालाई आरोहीहरूले नाम दिएका छन्, मृत्युको जिल्ला । विश्वको सर्वोच्च शिखर आरोहण कति कठीन छ भन्ने त्यसैबाट छर्लंग हुन्छ । 'सगरमाथा आरोहणका चुनौती शब्दमा बयान गर्न सकिँदैन,' डोमा भन्छिन्, 'खुम्बुको अाइसफलकाे पहिरो छिचोल्दै अगाडि बढ्नुपर्छ । भर्याङको सन्तुलन नमिलेर खोंचमा खसिने भयानक डर हुन्छ ।'
उनका अनुसार 'क्याम्प-१' र 'क्याम्प-२' बीचको ह्यांगिङ पोइन्टमा जाम हुन्छ, आरोहीहरूको । त्यस्तो जाममा टाउको दुख्ने, सास फेर्न गाह्रो हुने र हातखुट्टालाई समस्या हुन्छ ।
'क्याम्प-२' देखि 'क्याप-३' बीचमा जाममा पर्नु भनेको त खतराको सामना गर्नु हो ।
'तेन्जिङ-हिलारी स्टेप' यति धेरै खतरनाक र जोखिमपूर्ण छ कि कठीन चट्टानबाट गुज्रिनुपर्छ आरोहीहरूले । त्यहाँ पुग्दा चिनियाँ भूभागको दृष्यावलोकन गर्न पाइन्छ । डोमा भन्छिन्, 'त्यहाँ पुग्दा मात्र संसारभरका मानिस सगरमाथाप्रति किन लालायित छन् भन्ने थाहा पाएँ ।'
सगरमाथा फेदीमा डाइरिया
उनलाई खुम्बु हिमपहिरोमा परिने साह्रै ठूलो डर थियो रे । सामानको भारीले शरीर थिचिएको थियो । तर, शेर्पाहरूले उनलाई हौसला दिइरहे, जसले उनको मनमा शक्ति पैदा गरिरह्यो ।
त्यतिबेला उनलाई लागेको थियो, 'म एडभेन्चरमा रम्न आएकी हुँ । सगरमाथाका कथा-व्यथा बुझ्न आएकी हुँ । त्यसैले निडर भएर अगाडि बढ्नुपर्छ ।'
'क्याम्प-१, २, ३ र ४' सबै छिचोल्दै जब 'तेन्जिङ-हिलारी स्टेप' पुगिन्, वास्तविक एडभेन्चर थाहा पाइन् । उनलाई स्वर्गमा पुगेको अनुभूति भयो ।
हिमालमा अक्सिजनको अभाव हुनु स्वाभाविकै हो । उनी शाकाहारी भएकाले खानपानको पनि समस्या भयो । 'साउथ कोल' पुग्दा उनलाई झाडापखालाले सतायो । र, उनले तीन दिन त्यहीं बिताइन् ।
'आठ हजार फिटमाथि तीन दिनसम्म त्यसरी बस्नु भनेको ज्यानै जोखिममा पार्नु हो,' उनी भन्छिन्, 'तर पनि, हिम्मत हारिनँ । पखाला रोकिएपछि शिखरमा पुगिछाड्ने अठोट गरें ।'
उनी बालकोनीसम्म पुगिन्, दुई पटक शिखरतिर बढ्ने प्रयास गरिन् । तर, पाइला सरेनन् । शेर्पा आरोहीहरूले हौसला दिइरहेका थिए । उनलाई लाग्यो, 'सगरमाथा त जहाँको त्यहीं रहन्छ तर मेरो ज्यानभन्दा ठूलो केही छैन । अर्को पल्ट आउँछु ।' अनि, उनी फर्किइन् ।
'बेस क्याम्प' झरेर दुई दिन विश्राम गरिन् । अनि शिखर चुम्ने आत्मविश्वास बढाइन् । त्यसपछि उकालो लागेकी उनले शिखर चुमेर मात्र विश्राम लिइन् ।
हिमालका समस्याको फेहरिस्त
हिमाल आरोहणका समस्याका फेहरिस्त तयार पारेकी छन्, डोमाले । आरोहणका क्रममा लियाजन अधिकृतको अभाव खड्कियो, उनलाई ।
संकट आइलागे बच्ने उपाय कमजोर पाइन् । मृत्युवरण गर्न पुगेका आरोहीहरूको शव तत्काल उद्धार हुन नसक्ने समस्या देखिन् ।
शिखरमा फोहोर व्यवस्थापन हुन नसक्नु अर्को ठूलो समस्या लाग्यो, उनलाई । 'क्याम्प-३' र ४ बीचको भूभाग डम्पिङ साइटजस्तै देखिन्, डोमाले । भन्छिन्, 'आरोहीले जति पनि सामान लैजान्छन्, सबै माथि नै छाडेर फर्किन्छन् ।'
साउथ कोल पुग्दा खानपानको सन्तुलन मिलेन र उनी झाडापखालाका कारण सकसमा परिन् ।
अबको गोरेटो
हिमाली भेग आवाजविहीन छ । त्यहाँका महिलाको सशक्तिकरण हुन सकेको छैन । हिमाली पाखा, पखेरा चहार्दै हुर्केकी हुन्, उनी । एक सञ्चारकर्मीका रूपमा डोमालाई विकट गाउँ र ठाउँका समस्या संसारभर पुर्याउनुपर्छ भन्ने लागेको छ ।
हिमाली भेग महँगो छ । महँगीबाट त्राण पाउन पनि त्यस भेगका बासिन्दा विदेश पुगेर कमाउने ध्याउन्नमा हुन्छन् । कक्षा-१० सक्नासाथ सबैको रोजाइको गन्तव्य बन्छ, विदेश ।
हिमाल आरोहणमा शेर्पाहरूका दुःख नजिकबाट नियालेकी छन्, उनले । अब ती दुःख संसारलाई बुझाउने यात्राको तयारीमा छिन् । भन्छिन्, 'महिलाहरूलाई घरभित्र होइन, अगाडि आउन र केही गर्छु भन्ने आत्मविश्वास जगाउन सहयोग गर्छु ।'
हिमाली भेगका महिलाहरूलाई स्वतन्त्रता दिइएको हुन्छ तर त्यो पनि घरभित्रको चाबी बुझाउने तहमै सीमित रहेको डोमाको बुझाइ छ ।
शेर्पा आरोहीहरूको जिन्दगी एकदमै नाजुक रहेको उनी बताउँछिन् । पाइला-पाइलामा जोखिम मोलेर हिमाल आरोहण गर्ने उनीहरूको आवाज बाहिर ल्याउन चाहन्छिन् । उनी भन्छिन्, 'वास्तविक हिरो त शेर्पाहरू हुन् । उनीहरूका कथा-व्यथा सञ्चारमाध्यममा आउन सकेका छैनन् ।'
उनी 'इन्डिजिनियस टेलिभिजनमा 'हिमाली आज' कार्यक्रम चलाउँछिन् । र, त्यसमा शेर्पा आरोही र पर्यटनमा लागेका व्यक्तिहरूको मिहिनेतलाई प्राथमिकता दिन्छिन् ।
उनी कलेज आउँदा बोली र भाषा पनि स्पष्ट थिएन । संघर्षको परिणाम, उनले दुवै पक्षमा सुधार गर्न सकेकी छन् । उनी जन्मे/हुर्केको समुदायले पत्रकारिता पेशालाई खासै राम्रो मान्दैन ।
पर्याप्त तालिम लिएकाहरूलाई पनि शेर्पाहरूको साथ अनिवार्य हुन्छ । डोमाले बिनातालिम शेर्पाकै सहयोगमा शिखर चुमिन् ।
उनी भने यही पेशामा रम्ने र अगाडि बढ्ने सोचमा छिन् । हरेक महिला पत्रकारलाई उनी आत्मविश्वास अझ जगाउन आग्रह गर्छिन् ।
'खुलेर बोल्ने र डकुमेन्ट्री बनाउनेलगायत सबै काम हामी गर्न सक्छौं,' उनी भन्छिन्, 'त्यसकारण खुलेर आवाज उठाउनै पर्छ । हामीले पनि पुरुषसरह काम गर्न सक्छौं ।'
सगरमाथा शिखर चुम्ने शेर्पा समुदायकी पहिलो महिला पत्रकार हुन् उनी । भन्छिन्, 'पत्रकार साथीहरू, शेर्पा आरोहीका समस्या बुझ्न एक पटक हिमाली भेग पुग्नु होला । कम्तिमा बेस क्याम्पसम्म पुग्नु होला । केन्द्रमा बसेर हिमालका समाचारलाई प्राथमिकताका साथमा आफैं त्यहाँ पुगेर समस्या बुझिदिनु होला ।'
शेर्पा आरोहीका सन्तानका लागि अलग्गै विद्यालयको व्यवस्था मिलाउन सके शिक्षादीक्षाको पाटोमा ठूलो योगदान पुग्ने उनले बुझेकी छन् । हिमाल चढ्दा चढ्दै शरीर शिथिल भइसकेका शेर्पाहरूका लागि ५० वर्षमै वृद्धभत्ताको व्यवस्था मिलाउन सके जीवन चलाउन राहत पुग्ने उनी बताउँछिन् ।
र, घाइते शेर्पा आरोहीहरूको लागि सरकारले जीविकोपार्जनको गोरेटो पहिल्याइदिनुपर्ने बताउँछिन् । (तस्बिर र भिडियो : सन्ध्या श्रेष्ठ/नेपाल समय)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...