विशेष कला/साहित्य

विशाल छ, बाँच्नुको अर्थ

1621055252.jpg

मानव सभ्यता विभिन्न समयमा विभिन्न विपत्ति झेलेर यहाँसम्म आइपुगेको हो। विपत्तिका समय निश्चय नै कठिन हुन्छन्। त्यस्तो समयलाई धैर्य र शोधले जितेको इतिहास छ।

भिक्टर फ्रयाङ्कलिनको संस्मरण ‘म्यान सर्च फर मिनिङ’ ले अतिशय दुःख र क्रुरताका बीच पनि कसरी आशावादी हुन सकिन्छ भन्ने यथार्थ प्रस्तुत गरेको छ।

भिक्टरको संस्मरणमा दोस्रो विश्वयुद्धमा जर्मन तानाशाह हिटलरको कन्सन्ट्रेसनमा हुँदाको अवस्था चित्रित छ। सो चित्र दुःखदायी छ। 

भिक्टर भन्छन्- कन्सन्ट्रेसन क्याम्प छिर्न महिला र  पुरुषको बेग्लाबेग्लै लाइन थियो। लामबद्ध महिला पुरुषलाई दायाँबायाँ भिन्न स्थानमा लगिँदै थियो।

भिक्टरको पछाडि उभिएको व्यक्तिले उनको कानमा आएर साउती गर्‍यो- जो बलियो छ त्यसलाई दाहिनेतिर पठाइन्छ र काममा लगाइन्छ। जो कमजोर छ, उसलाई त्यसलाई देब्रेतर्फ लगिन्छ र ‘विशेष क्याम्प’मा पठाइन्छ।

भोलि मुक्त हुन पाइएला, आफ्नै संसारमा जान पाइएला भन्ने सपनालाई भिक्टरले जस्तोसुकै अवस्थामा पनि मर्न दिएनन्। उनको आँखैअगाडि २७ जना मारिए। तर भिक्टर मर्न चाहँदैनथे। उनलाई बाँच्ने चाह थियो। उनी आफैं मनोवैज्ञानिक थिए। निराश चेतले मान्छेलाई हानि गर्छ भन्ने उनले बुझेका थिए।

जब भिक्टरको भित्र पस्ने पालो आयो तब उनले आफूलाई बलियो देखाउने प्रयास गरे र दाहिनेतर्फ लगिए।

समयक्रममा उनले थाहा पाए कमजोर र वृद्धवृद्धालाई लगिने ‘विशेष क्याम्प’ अरू केही नभएर ग्यास च्याम्बरको मृत्युशाला थियो, जहाँ उनीहरूको इहलीला समाप्त हुन्थ्यो।

भिक्टरलगायतका मानिसलाई एउटा कोठामा लगियो। शरीरका भएभरका रौं काटियो। जब कटनीको काम सकियो तब भिक्टरले के महसुस गरे भने उनको शिरमा एउटा चस्मा छ, अरू केही पनि छैन।

शरीरको अवस्था आमाको कोखबाट भर्खर धर्तीमा आएको जस्तो थियो। एकले अर्कोलाई चिन्नसक्ने अवस्था थिएन।

अनि उनीहरूलाई एउटा कोठामा लगियो। कोठाको लम्बाइ थियो, आठ फुट र चौडाइ ६ फुट। त्यसलाई कोठा पनि कसरी भन्नु!

९ जना नांगा मानिसलाई कोचिएको छ। कम्बल दिइएको थियो दुईवटा।

जीवनको यो वास्तविकता धेरै सहन सक्ने कुरा भएन। अधिकांश मानिस हतास भए, निराश भए। कोही आत्महत्या गर्ने कुरा गर्थे।

तर, भिक्टरले प्रतिज्ञा गरे जेसुकै होस् मर्ने प्रयास कदापि गर्ने छैन।

मान्छेको अस्तित्व क्याम्पमा छिर्दा नै गुम भइसकेको थियो। त्यहाँ नाम, थर, वतन केहीको अर्थ थिएन।

मान्छेलाई नम्बरले बोलाइन्थे। के मान्छे वस्तु हो र नम्बरी परिचय दिन? तर यी व्यक्तिको मनमा उठ्ने प्रश्न थिए, जसको उत्तर सायद सभ्यताको कुनै ज्ञानकोशमा थिएन।

भिक्टरको नम्बर थियो– ११,९१,०४।

हामी नेपालमा हुर्केका अधिकांशलाई चीरस्मरणीय नम्बर भनेको एसएससीको सिम्बोल नम्बर हो। पास र फेलसँग यसको केही भावुकता हुन्छ, जुन समयक्रममा एउटा मिठो स्मरण मात्र हुन्छ। तर, भिक्टरको नम्बर पास र फेलको थिएन। यो त जन्म र मृत्युको नम्बर थियो।

अवस्था ब्रह्माण्डको अन्तिम विन्दुमा पुगेसहरको नैराश्य थियो तर पनि जसरी हुन्छ बाँच्नुपर्ने हुटहुटी थियाे। बाँच्न किन पर्छ भने शासकले काम लगाउन पाउँछ। कथम् बिरामी परियो, गलियो र काम गर्न सकिएन भने शासकको विशेष क्याम्पको पाहुना हुन पुगिन्छ। विशेष क्याम्प अर्थात्- ग्यास च्याम्बरको मृत्यु।

त्यो निराश अवस्थाको कथा अहिले सुन्नेका त कान पोल्छन् भने भोग्ने भिक्टरहरूले कसरी भोगे होलान् अत्याश लाग्छ। प्रत्येक दिनजसो कोही न कोही मरिरहेका हुन्थे।

भिक्टर भन्छन्- मान्छेको आशा, विश्वास र मनस्थितिको सामाञ्जस्य हुन्छ। जब उसको आशा र विश्वास टुट्छ उसको रोग प्रतिरोधी क्षमता पनि धर्मराउँछ।

एकपटक क्याम्पमा रोग फैलियो। बन्दीलाई अर्को बन्दीगृहमा लगियो, रेलमा कोचेर।

कहाँ लगिँदै छ केही थाहा थिएन। तर, उनलाई यात्रारत ठाउँ चिनेचिने जस्तो लाग्यो। आखिर उनकै घर भएर कतै लगिँदै रहेछ।

उनले बन्दी सहयात्रीलाई भने- अलिकति ठाउँ देओ न म आफ्नो घर हेर्छु।

सबै भेँडाबाख्रा जसरी कोचिएका थिए। त्यहाँ कसले कसलाई ठाउँ दिनु। उनले घर हेर्न पाएनन्।

जीवन यसरी घिस्रिँदै गयो, जसरी बलेका दाउरा खरानी बन्छन्। वर्तमानमा केही पनि थिएन। पूर्णतः निराशा मात्र। थियो भने खाली मनमा रहेका विगत र भोलिको सपना।

भोलि मुक्त हुन पाइएला, आफ्नै संसारमा जान पाइएला भन्ने सपनालाई भिक्टरले जस्तोसुकै अवस्थामा पनि मर्न दिएनन्।

उनको आँखैअगाडि २७ जना मारिए। तर भिक्टर मर्न चाहँदैनथे। उनलाई बाँच्ने चाह थियो।

उनी आफैं मनोवैज्ञानिक थिए। निराश चेतले मान्छेलाई हानि गर्छ भन्ने उनले बुझेका थिए।

उनले बुझेको सो कुरा उनलाई जीवन बचाउने सञ्जीवनी भएको थियो। भिक्टरको अनुभवले भन्छ- जब मानिसले ‘किन’ भन्ने थाहा पाउँदैन उसले ‘कसरी’ भन्ने कुरासँग तालमेल गर्न सक्दैन।

आखिर जीवनको एउटा मात्रै अर्थ छैन। जीवनको अर्थ आफैंले दिन सकिन्छ। सकारात्मक मनोवृत्तिले जस्तोसुकै निराशमा आशा उमार्न सकिन्छ। आशा उमार्नु भनेको बाँच्नु हो।

अहिले हामी पनि महामारीका बीचमा छौं। हामीले पनि भोलिको सुन्दर संसार, आत्मीयहरूको साथ र पौरखको क्षमतालाई कम आँक्नु हुँदैन। मृत्यु अवश्यम्भावी हो, तर सामयिक मृत्यु मात्र। असामयिक मृत्युलाई धकेल्न हामी अन्तरहृदयबाटै बलियो हुनुपर्छ।

हामी परिस्थितिलाई बदल्न सक्दैनौं तर हामीलाई परिस्थितिसँग कसरी जुध्ने छनोट हुन्छ। भिक्टरको अनुभव छ- जीवनलाई तीन प्रकारले अर्थ्याउन सकिन्छ- काम, प्रेम र दुःखबाट प्राप्त हुने सुख।

मान्छेले गर्नुपर्ने एउटै काम के हो भने कुनै पनि अवस्था र हालतमा आफ्नो आशा र विश्वासलाई भत्कन नदिने।

म बाँच्छु भन्ने बलियो आधार भएको मान्छे निराश हुनुपर्दैन र निराश नहुने मान्छेले यो इहलीलाबाट असामयिक बिदा लिनु पनि पर्दैन।

घोर निराशाबीच आशाको दियो जलाइरहेको भिक्टर एक दिन देख्छन् सेनाको एक हुल बन्दीगृहमा आउँछन्। सबैलाई मुक्त गराए। र, बन्दीगृहमा आगो लगाइदिए।

बन्दीगृहमा भिक्टरको एक साथी थिए। उनी भन्थे, ‘डाक्टर मेरो सपनामा हरेक प्रश्नको उत्तर हल हुन्छ।’

भिक्टर उनलाई सोध्थे त्यसो भए भन हामी कहिले स्वतन्त्र हुन्छौं? उनले उत्तर दिए- मार्च १३, १९४५।

मार्च १३ आयो, गयो। तर मुक्तिको दिन आएन। बरु मार्च २० का दिन उनी बिरामी परे र ३१ मार्चमा बिते।

भिक्टर भन्छन्- मान्छेको आशा, विश्वास र मनस्थितिको सामाञ्जस्य हुन्छ। जब उसको आशा र विश्वास टुट्छ उसको रोग प्रतिरोधी क्षमता पनि धर्मराउँछ।

भिक्टर आफ्ना ती साथीबारे भन्छन्- उसको बाँच्ने इच्छामा पक्षघात भयो र उसको शरीरमा टाइफसका कीटाणुले हमला गर्‍यो। उसको सपनामा भएको भविष्यवाणी ठीक थियो तर त्यो दिन अलि ढिलो गरी आयो।

अहिले हामी पनि महामारीका बीचमा छौं। हामीले पनि भोलिको सुन्दर संसार, आत्मीयहरूको साथ र पौरखको क्षमतालाई कम आँक्नु हुँदैन। मृत्यु अवश्यम्भावी हो, तर सामयिक मृत्यु मात्र। असामयिक मृत्युलाई धकेल्न हामी अन्तरहृदयबाटै बलियो हुनुपर्छ।

भिक्टरले घोर निराशामा आशाका दियो जलाए। हामी गाह्रो समयमा छौं। यद्यपि हामी त उनको जत्तिको घोर निराशमा छैनौं भन्ने सन्देश नै ‘म्यान सर्च फर मिनिङ’ले चीर कालसम्म दिइरहनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट