पाल्पामा भएको सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।
११ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा अस्पतालमा ज्यान गएको उद्दारका लागि घटनास्थल पुगेका सशस्त्र प्रहरी पाल्पाका डीएसपी राजु शाहले नेपाल समयलाई जानकारी दिए ।
दुर्घटनामा परी ज्यान गुमाउने १२ जनाकै परिचय खुलेको छ । पाल्पाका प्रहरी उपरीक्षक डिल्लीराज पन्तका अनुसार रामपुरको अध्ययन अवलोकन भ्रमणका लागि निस्केको तानसेनको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको टोली छ ।
दुर्घटनामा तानसेन नगरपालिका-४ का विष्णुमान बज्राचार्य, कृष्णबहादुर बोहरा, तानसेन-२ का लोकनाथ ढकाल, तानसेन-३ का वसन्ती खाँड, देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य र सुुशीलप्रसाद श्रेष्ठ छन् । यस्तै, तानसेन-६ का दुर्गाबहादुर सारू र गीता बुढाथोकी तथा तानसेन बजारका सचिन बज्राचार्य र कमला कार्कीको मृत्यु भएको छ ।
घाइते भएका १० जनालाई उद्दार गरी अस्पताल पठाइएको छ ।
लु १ ख ९७५ नम्बरको बस रम्भा गाउँपालिका-४ होमिनमा सडकबाट खसेर दुर्घटना भएको हो । मोटरसाइकललाई साइड दिन खोज्दा बस सडकबाट दुई सय मिटर तल खसेको थियो ।
तस्बिर : अनिल पन्थीको फेसबुकबाट ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४