काठमाडौं- वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाँदा बायोमेट्रिक हाजिरी नमिलेमा विमानस्थलबाटै फर्काउने व्यवस्था गरेको छ।
विभागले आगामी १ वैशाखबाट लागू हुनेगरी अभिमुखीकरणका क्रममा लिइने हाजिरी नमिले विमानस्थलबाटै फर्काउने व्यवस्था गरेको हो।
यसले सम्बन्धित व्यक्तिबाहेक अन्यलाई उपस्थित गराएर गरिने अभिमुखीकरण अन्त्य हुने वैदेशिक रोजगार विभागले जनाएको छ। विभागका महानिर्देशक कुमार प्रसाद दाहालले अभिमुखीकरण तालिममा सम्बन्धित व्यक्तिबाहेकका व्यक्तिलाई उपस्थित गराउने गरेको पाइएकाले त्यसको अन्त्य गर्न बायोमेट्रिक हाजिरी परीक्षणको व्यवस्था गरिएको बताए।
अभीमुखीकरणपछि वैदेशिक रोजगारीमा जाने बेला विमानस्थलमा हाजिरी परीक्षण गरिने र त्यसमा हाजिरी नमिलेमा फर्काउने व्यवस्था गरिएको दाहालले बताए।
विभागले गरेको अनुगमनका क्रममा अभीमुखीकरण तालिममा फरक व्यक्तिलाई उपस्थित गराउने र वैदेशिक रोजगारीमा जाने बेला अन्य व्यक्ति नै जाने गरेको पाइएकाले आगामी दिनमा त्यसको अन्त्य हुने दाहालको भनाइ थियो।
‘अभीमुखीकरण तालिम दिने संस्थाले नक्कली हाजिर बनाएर अभीमुखीकरण दिएको पाइयो’ दाहालले भने, ‘वैदेशिक रोजगारीमा जाने वास्तविकले उता गएर दुःख पाएको पाइएपछि बायोमेट्रिक हाजिर मिल्नुपर्ने व्यवस्था गरेका हौँ।’
वैदेशिक रोजगार ऐन २०६४ अनुसार वैदेशिक रोजगारीमा जाने कामदारले रोजगारमा जानुपूर्व तोकिएबमोजिम अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था गरिएको छ।
पछिल्लो समय अभिमुखीकरण तालिम नलिई वा फरक व्यक्तिलाई नै बोलाएर अभिमुखीकरण तालिम दिने गरेको पाइएपछि हाजिर मिलनुपर्ने व्यवस्था गरिएको विभागको भनाइ छ।
विभागका महानिर्देशक दाहालका अनुसार पछिल्लो समय वैदेशिक रोजगारीमा पठाउने मेनपावरहरु, अभिमुखीकरण गर्ने संस्थालगायतको मिलेमतोमा वैदेशिक रोजगारीमा जानेहरु ठगिने क्रम पाइएको छ।