विचार समाचार

महामारीका बेला घरमै व्यस्त रहौं, मनमा कुरा नखेलाऔं

1620358323.jpg

हामी अहिले असमान्य अवस्थामा छौं। हाम्रो काम गर्ने शैलीलाई, दैनिक जीवनलाई पनि हामीले सामान्य अवस्थाभन्दा परिवर्तित गर्नुपर्छ।

अहिले हामी स्कुल, कलेज, अफिस नगई घरमै बसिरहनु पर्दा हाम्रो दैनिकी अर्थात रुटिन लाइफ अस्तव्यस्त भएको छ।

कुनै पनि कुरा बिग्रन लाग्यो भने जोगाउनु पर्छ भनेजस्तै हाम्रो दैनिकी बिग्रिन लागे त्यसलाई जोगाउनु पर्छ। अस्तव्यस्त दैनिकी व्यवस्थित गर्न कुनै ठूलो परिश्रम वा मिहेनत चाहिँदैन। केही सामान्य काम गरे पुग्छ।

हामीहरूले स्कुल, कलेज, अफिस, जानु नपरेपछि खाने, सुत्ने, उठ्ने कुरालाई लापरवाही गर्नु हुँदैन।

सुत्ने, उठ्ने कुरामा लापरवाही गर्नु हुँदैन अलिअलि छुट लिए भयो तर साह्रै गर्न थाल्यो भने हाम्रो गाउँघरको ‘अतिले गर्छ खति’ भनेजस्तै समस्या आउँछ।

त्यसैले निश्चिम समयमा सुत्ने, उठ्ने, काम गर्ने गर्नुपर्छ, अर्थात व्यवस्थित दिनचर्या हुनुपर्छ। देख्दा यी सामान्य कुरा देखिन्छन्। काम नहुँदा सुते भइगो नि भने जस्तो लाग्ला तर यसले ठूलो समस्या निम्त्याउँछ।

साना–साना समस्याले ठूलो समस्या जन्माउँछ। समस्या साना हुँदा व्यवस्थापन गर्न सजिलो हुन्छ, त्यही भएर समयमै सचेत हुनुपर्दछ। त्यसैले पहिलो कुरा हाम्रो सुत्ने तथा उठ्ने दैनिकी नियमित एकदम जरुरी छ।

अर्को कुरा, अहिले हाम्रो हात हातमा मोवाइल र इन्टरनेट सुविधा छ। जसले गर्दा हामीले आफूलाई चाहिनेभन्दा धेरै तथा अनावश्यक सूचना ग्रहण गरिरहेका छौं। यसले पनि हामीमा मानसिक तनाव बढ्न सक्छ।

फेरि इन्टरनेटमा कस्तो सुविधा छ भने हामीले जस्तो भिडियो वा समाचार हेर्‍यौ‌ त्यसै प्रकारका अरु समाचार लाइन लागेर आउँछ। त्यसैले एउटा नकारात्मक वा डरलाग्दो भिडियो वा समाचार हेर्‍यौं भने त्यस्ता किसिमका समाचार सामग्री हाम्रो सामाजिक सञ्जालमा आउन थाल्छ।

यस्तो अवस्थामा हामीले सही र गलत छुट्याउन सकेनौं भने हामी नकारात्मक प्रवृत्तिमा फस्ने डर हुन्छ।

फेरि इन्टरनेटमा जसले पनि सूचना अपलोड गर्न सक्छ। कतिपय सूचनाको पुष्टि नभएको हुन सक्छ। त्यसैले विश्वसनीय साइट मात्र हेर्नु पर्छ। जे पायो त्यही हेर्नु हुँदैन। भ्रमको पछि लाग्नु हुँदैन।

लकडाउनका बेला घरमा बस्दा परिवारका सदस्य एक्ला एक्लै नबसी सामूहिक रुपमा बस्नु पर्छ। एक अर्कासँग गफ गर्ने, छलफल गर्ने, सामूहिक कार्य गर्ने गर्नु पर्दछ।

एक्लो भएको अवस्थामा विभिन्न क्रियाकलाप गर्न सकिन्छ। गीत गाउने, नाँच्ने, चित्र बनाउने, संगीत, बजाउने, खानाका विभिन्न परिकार बनाउने काम गर्न सकिन्छ।

समय कटाउन सिनेमा हेर्ने, नाटक, गीत, संगीत सुन्नेलगायतका मनोरञ्जनका काम पनि गर्न सकिन्छ। त्यस्तै कुनै नयाँ सोखमा काम थाल्न यो उपयुक्त समय हो।

त्यस्तै, बगैंचामा टहल्ने, गोडमेल गर्ने, बारीको काम गर्ने, गमला सजाउनेलगायतका काम गर्न पनि सकिन्छ।

घरका अन्य काम लूगा धुने, लुगा पट्याउने, भान्छाको काममा सघाउनेलगायतका साना कामको पनि ठूलो महत्व हुन्छ।

घरै बस्ने भएपछि दिनको दुई घण्टा कुनै न कुनै शारीरिक काम गर्नु लाभदायक हुन्छ।

योग, प्राणायाम तथा ध्यान गर्दा पनि हामी शारीरिक तथा मानसिक रुपमा स्वस्थ्य हुन सक्छौं।

पुसअप, सिटअपजस्ता सामान्य अभ्यास गरेर केही मिनेट श्वासप्रश्वासको अभ्यास गर्नु लाभदायक हुन्छ।

अरु केही सकिएन भने, ढाड सिधा पारेर आँखा चिम्लेर लामो शास लिएर केही सेकेण्ड रोकेर बिस्तारै–बिस्तारै शास छोड्ने अभ्यास गर्नु लाभदायक हुन्छ।

अहिले घेरैले घरबाटै काम गर्ने चलन छ। यसको एउटा बेफाइदा के देखिएको छ भने काम गर्ने र आराम गर्ने समय नै छुट्याउन नसकिने भएको छ। यदि हामी घरबाटै काम गर्छौ भने प्रत्येक घण्टापछि दश–पन्ध्र मिनेट विश्राम लिनैपर्छ।

घरका कुनै सदस्य लामो समय एक्लै बस्ने गरेको छ भने पनि परिवारका अरु सदस्यले ख्याल राख्नुपर्छ। उसलाई समूहमा मिसाउने वा आफू ऊसँग गएर बस्ने, छलफल गर्ने, कुरा गर्र्ने बानी गर्नुपर्छ। एकान्तमा लामो समय बस्न दिनु हुँदैन।

यदि आफूलाई कुनै मानसिक समस्या छ भन्ने लागेमा आफ्ना साथीभाइ, परिवारका सदस्यसँग सो विषयमा छलफल गर्नुपर्दछ। मनामा भएका कुनै पनि नकारात्मक सोच विचारलाई पालेर बस्नु हुँदै हुँदैन। कसै न कसैलाई पोख्नै पर्छ।

मानसिक समस्या भनेको छलफल गर्दा, अरुलाई भन्दा विस्तारै घट्दै जाने वा निकास निस्कने रोग हो। तर आफ्नो समस्या भनिएन भने समस्या बढ्दै जान्छ।

त्यही भएर आफूलाई निरासा लाग्ने, दिक्क लाग्ने, नकारात्मक विचार आउने गरेको छ भने त्यो कुरा अरुसँग ‘सेयर’ गर्नुपर्छ। छलफल गर्नुपर्छ।
अहिले विभिन्न अनलाइनमा मनोपरामर्श तथा मनोचित्सिकीय परामर्श सेवा उपलब्ध छ भने फोनबाट पनि काउन्सिलिङ लिन सकिन्छ।

अस्पतालको ओपिडी खुला भएका ठाउँमा सम्पर्क गरीकन सुरक्षित तवरमा डाक्टरलाई जचाँउन जान पनि सकिन्छ। मुख्य कुरा मनमा कुरा खेलाएर बसिरहन हुँदैन।

अहिलेको असामान्य परिस्थितिमा हामी सकारात्कक रुपमा अघि बढ्न सक्यौं भने भविष्यमा हामीले अझ ठूला विपत्तिहरूसँग सामना गर्न सक्छौं।
आफूलाई कुनै मानसिक समस्या छ भन्ने लागेमा त्यो अरुलाई ‘सेयर’ गर्नुपर्छ। अरु स्वास्थ्य समस्याजस्तै मानसिक स्वास्थ्य समस्यालाई पनि निराकरण गर्न सकिन्छ। कहिले काहीँ साह्रै अफ्ठेरो महसुस भएमा विभिन्न हेल्पलाइन र हटलाइनमा सम्पर्क गरेर पनि सहयोग लिन सकिन्छ।

(नेपालसमयको लागि महेश्वर आचार्यले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका, मानसिक विभागका डा. सगुनवल्लभ पन्तसँग गरेका कुराकानीका आधारमा।)

प्रतिक्रिया दिनुहोस्
थप समाचार
ताजा अपडेट