शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आफूनिकट नेतालाई देउवाको ब्रिफिङ– झिनो बहुमतको प्रधानमन्त्री बन्दिनँ

आफूनिकट नेतालाई देउवाको ब्रिफिङ– झिनो बहुमतको प्रधानमन्त्री बन्दिनँ

देउवा निकट नेताका अनुसार अहिले जसपालाई सांसद रेशम चौधरीको रिहाइको मागमा लचक हुन ‘कन्भिन्स’ गर्ने प्रयास भइरहेको छ।
 |  बिहीबार, चैत १२, २०७७

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

बिहीबार, चैत १२, २०७७

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विपक्षी दलहरुको सत्ता समीकरण बनाउने विषयमा खुलेका छैनन्। उनले पटकपटक कांग्रेस सत्तामा जान मरिहत्ते नगर्ने बताउँदै आएका छन्। उनले भन्ने गरेका छन्, ‘सरकारमा जान मरिहत्ते गरेको छैन। अवसर आए भाग्ने पनि छैन।’

triton college

मंगलबार विराटनगर पुगेर उनले भनेका थिए– सत्तामा जान हतार गरेको छैन। कांग्रेस विपक्षी पार्टी हो। 

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गर्दा विपक्षी दलहरु आन्दोलित बनेका थिए। फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरिदियो।

सर्वोच्चको फैसलापछि विपक्षी दलहरुबीच समीकरण बन्ने र मुलुकले नयाँ प्रधानमन्त्री पाउने विश्लेषण भएको थियो। तर, अहिलेसम्म न माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ, न त विपक्षी दलहरुबीच समझदारी नै जुट्न सकेको छ।  

प्रमुख प्रतिपक्षी दलको नेतालाई ‘वेटिङ प्राइममिनिस्टर’का रुपमा हेरिन्छ। अहिले प्रमुख प्रतिपक्षी दल कांग्रेसको संसदीय दलका नेता हुन्, देउवा। तर, उनै देउवा सरकारमा जान किन इच्छुक छैनन् ? देउवाले खोजेको परिपक्व परिस्थिति कस्तो हो त ? त्यसको जवाफ देउवाले सार्वजनिक रुपमा त दिएका छैनन्। तर, आफ्नो निवास बूढानीलकण्ठ आउने आफू निकटका नेताहरुलाई दिने गरेका छन्। देउवाले आफू निकट नेताहरुलाई भन्ने गरेका छन्– म झिनो बहुमतको प्रधानमन्त्री बन्न चाहन्नँ।  

corrent noodles
Metro Mart

अहिले समान्य बहुमतको सरकार बनाउन प्रतिनिधिसभाका १३८ जना सांसदको साथ चाहिन्छ। जसपाले सत्तामा जाने–नजाने निर्णय गरिसकेको छैन। यदि कांग्रेस, माओवादी केन्द्र र जसपाबीच समीकरण बन्ने हो भने १४१ जना सांसद हुनेछन्। त्यो भनेको सरकार बनाउन चाहिने संख्याभन्दा तीन जना मात्रै बढी हो।  

‘उहाँले हतार गर्दैनौं भन्दै आउनुभएको छ। हामीसँग उहाँले ओलीको विपक्षमा रहेका सबै (माओवादी केन्द्र, जसपा र स्वतन्त्र सांसद)सँग सहमति नभएसम्म हतार गर्न नहुने बताउनुभएको छ,’ देउवा निकट एक नेताले भने, ‘हतारमा निर्णय लिँदा जसपा फुट्यो र केही सांसद संसद् बैठकमा अनुपस्थित भए भने के हुन्छ ? सबै परिस्थितिको मूल्यांकन गरौं। झिनो बहुमतको प्रधानमन्त्री बन्दिनँ भन्दै आउनुभएको छ।’ 

देउवाले माओवादी केन्द्र र जसपासँगै संसद्मा रहेका तीन जना स्वतन्त्र सांसदसँग समेत सहमतिको प्रयासमा जोड दिँदै आएको ती नेताले बताए। ‘झिनो बहुमतको सरकार बनाउँदा नटिक्न सक्छ। जसपाको नागरिकता र संविधान संशोधनको मागमा सहमति गर्न सकिन्छ। तर, अदालतमा विचाराधीन मुद्दामा के गर्ने ?’ देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने। 

माधवकुमार नेपालहरु एमाले फुटाएर आए नेपाललाई नै प्रधानमन्त्री बनाउन सकिने पनि देउवाले बताउँदै आएका छन्। नयाँ समीकरणका विषयमा हल्ला गर्न आवश्यक नभएको देउवाको बुझाइ छ। ‘मलाई प्रधानमन्त्रीको लोभ छैन। पार्टी फुटाएर आउँछन् भने बरु नेपाल नै प्रधानमन्त्री हुन्,’ देउवाले भन्ने गरेका छन्, ‘नयाँ समीकरण बनाउने विषयमा हल्ला होइन, सल्लाह गरेर अघि बढ्नपर्छ। हतारो गर्ने हल्ला, गर्ने कुरो छैन।’ 

देउवा निकट नेताका अनुसार अहिले जसपालाई सांसद रेशम चौधरीको रिहाइको मागमा लचक हुन कन्भिन्स गर्ने प्रयास भइरहेको छ।

‘नागरिकता र संविधान संशोधन गर्न सकिन्छ। तर, ओलीले असंवैधानिक काम गरे भनेर अर्को समीकरण बनाउने र अदालतमा विचाराधीन मुद्दाका विषयमा सहमति गर्दा त्योचाहिँ संविधानमाथि प्रहार हुन्छ कि हुँदैन ? यसबारे सोच्नुपर्छ,’ उनले भने, ‘ओलीले अहिले जसपामाथि यही विषयमा खेलेका छन्। त्यसलाई रोक्नुपर्छ। रेशम चौधरी रिहाइको मागमा लचक हुन कन्भिन्स गर्ने प्रयास भइरहेको छ।’

माओवादीले तत्काल समर्थन फिर्ता लिँदा परिस्थिति बिग्रन सक्ने आकलन कांग्रेसको छ। समर्थन फिर्ता लिएपछि ओलीले ३० दिन खेल्ने मौका पाउने भएकाले समर्थन फिर्ता लिनुअघि नै नयाँ समीकरण बनाउनुपर्ने कांग्रेसको जोड छ।

‘अहिले जसपालाई ओलीले अनेक लोभ देखाएका छन्। माओवादीले समर्थन फिर्ता लिँदा ३० दिन खेल्ने समय पाउँछन्। समर्थन फिर्ता लिनुअघि नै विपक्षीहरुबीच सत्ता समीकरणको सहमति हुन आवश्यक छ,’ कांग्रेस नेता डा. नारायण खड्का भन्छन्, ‘ओलीको विकल्प खोज्ने विषयमा दुविधा छैन। तर, जसपाले निर्णय लिन नसक्दा समस्या भइरहेको छ।’ 

प्रधानमन्त्री ओलीको विकल्प खोज्ने विषयमा जसपाभित्र दुई धार देखिँदै आएको छ। महन्थ ठाकुर र राजेन्द्र महतोको समूह ओलीसँग निकट देखिन्छ। सत्ता सहकार्यका लागि जसपाको माग सम्बोधन गर्न सरकार र ठाकुर–महतोले कार्यदल पनि बनाएका छन्।

तर, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई भने ओलीको विकल्प खोज्नुपर्ने बताउँदै आएका छन्। जसपाको अलमल र बहुमतको ग्यारेन्टी नहुँदासम्म देउवा हतार गर्ने पक्षमा देखिँदैनन्। 

प्रकाशित: Mar 25, 2021| 08:30 बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।