समाचार

शव उठाउन किन ढिलाइ?

1620185165.jpg
फाइल तस्बिर।

काठमाडौं - कोराना संक्रमणको दर बढ्दै जाँदा बिरामीको मृत्यु दर पनि बढिरहेको छ।

मंगलबार बेलुकासम्म पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या हालसम्मकै उच्च सात हजार ५८७ पुगेको छ भने मृत्यु हुनेको संख्या पनि ५५ पुगेको छ।

अस्पतालको बेडमा मृत्यु भएका कोरोना संक्रमितको शव उठाउन विलम्ब हुँदा सोही कोठामा रहने अन्य बिरामीलाई मनोवैज्ञानिक आघात परेर बिरामीको अवस्था बिग्रने हुँदा यसतर्फ स्वास्थ्यकर्मी सचेत हुनुपर्ने सम्बद्ध बताउँछन्।

‘एउटै कोठमा रात वा दिनभर मृतकको शवसँग बिरामी बस्नपर्नु निश्चय नै मनोवैज्ञानिक त्रास हुने कुरा हो,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारी भन्छन्, ‘बिरामीलाई शवबाट पर्न सक्ने आघात कम हुने गरी शव व्यवस्थापनका विधि अपनाउनु पर्छ।’ 

विषेश गरी काठमाडौं बाहिरका अस्पतालमा शवको आन्तरिक व्यवस्थापन नगर्दा समस्या आएको सम्बद्धहरू बताउँछन्।

हेटौंडाको अस्पतालमा सोमबार बेलुका भर्ना भएका बिरामीका आफन्तले आफ्नो बिरामी रहेको कोठाका शवहरू नउठाइदिँदा रातभर तनावमा बस्नुपरेको बताए।

‘एउटै कोठामा भएका तीनजना बिरामी बिते। हामी रातभर डराइडराइ आफ्नो बिरामीलाई च्याप्दै बस्यौं,’ हेटौंडा अस्पतालमा रहेकी बिरामीको आफन्तले फोनमा भनिन्, ‘आफ्नै जस्तो रोग लागेको बिरामीको मृत्यु हुँदा अर्को बिरामीलाई कस्तो हुन्छ होला सोच्नुस् त ? त्यसमाथि रातभर शव त्यहीँ हुँदा स्वस्थ मान्छे त बिरामी पर्छ भने बिरामीको हालत के हुन्छ होला ?’

आम सर्वसाधारणले भने सेनाले शव नउठाउँदा समस्या परेको भन्ने विषयलाई सेनाले प्रष्ट पारेको छ। सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले सरकारले निर्धारण गरेको कार्यविधि अपनाएर काम गर्ने गरिएको हुँदा कहिलेकाहीँ कुनै प्राविधिक समस्याका कारण शव उठ्न केही समय लागे पनि सेनाको तर्फबाट विलम्ब नभएको बताए।

सेनाका जवानहरू शव व्यवस्थापन कार्यमा २४ घण्टा तैनाथ रहेको बताउँदै जनशक्ति थप गरेर काम सुचारु गरिएको पौडेलले बताए।

‘विगतमा भन्दा मृत्युदर बढेकाले विगतको तुलनामा समय लागेको हुनसक्छ तर विलम्ब गरिएको छैन,’ सहायक रथी पौडलले भने, ‘काठमाडौंको हकमा पशुपतिमा १० वटा चिताको लागि ओदान थप गरेर शवदाह गरिएको छ।’

मृत्युदर बढेसँगै सेनाको शव व्यवस्थापन समूहमा पनि सदस्य संख्या बढाइएको बताउँदै सहायक रथी पौडेलले काठमाडौं बाहिर शव वहान थप गर्नको लागि गृहकार्य भइरहेको बताए।

सरकारले निर्धारण गरेको शव व्यवस्थापन कार्यविधि अनुसार बिरामीको मृत्यु भएपछि सर्वप्रथम अस्पतालले केन्द्रमा भए सीसीएमसीमा तथा जिल्लामा भए जिल्ला समन्वय समितिमा कोरोना संक्रमित बिरामीको मृत्यु भएको मृत्यु प्रमाणपत्र, कोरोना संक्रमण भएको प्रमाण पत्रसहित शव व्यवस्थापनको लागि पत्र पठाउनुपर्छ। सो पत्र आएपछि मात्र सेनाले शव व्यवस्थापनको काम सुरु गर्छ।

मृत्यु भएको बिरामीको शरीरबाट अक्सिजनको लागि लगाइएको पाइप वा अन्य मेडिकल औजारहरू झिकेर, शव परिवारलाई देखाउनु पर्ने भए देखाएर, आवश्यक कागजी काम पूरा गरेर शवलाई शव गृह वा अन्य स्थानमा सुरक्षित राख्नुपर्ने दायित्व अस्पतालको हो।

अधिकांश अस्पतालले सो दायित्व पूरा नगरी शव ‘क्लियर’ गर्न सेनालाई नै पर्खने गरेका छन्। यसले गर्दा पनि शव व्यवस्थापनमा ढिलाइ हुने गरेको छ।

विषेश गरी काठमाडौं बाहिरको नेपालगञ्ज, सुर्खेत, पोखरा, भरतपुर, हेटौंडा, धरानमा शव उठ्न विलम्ब भएको समाचार आएका छन्। शव उठ्न ढिलो हुँदा सँगै रहेका बिरामी आतंकित हुने गरेका छन्।

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी भन्छन्, ‘काम गर्दा एउटा मानवीय आचारको कुरा आउँछ अर्को पेसागत आचारको कुरा आउँछ। अहिलेको अवस्था भनेको हिजो हामीले देखेभोगेको भन्दा पनि जटिल अवस्था हो। त्यही भएर त महामारी भनिएको हो। यस्तो बेलामा कार्य व्यवस्थापनमा सबैले सहयोग गर्नुपर्छ।’

बढ्दो बिरामीको चापको कारण बढी खटाइ तथा कामको चापले गर्दा चिकित्सकलगायत सबै स्वास्थ्यकर्मीहरू तनावमा रहेको हुँदा अहिले कसैलाई केही भन्नुभन्दा पनि सबैले सहकार्य गर्ने बेला भएको अधिकारीले बताए।

‘शव व्यवस्थापनमा पनि सहकार्यको खाँचो छ। मन्त्रालयमा आएको गुनासा तथा समस्या समाधान गर्न मन्त्रालय तयार रहेको बताउँदै विभिन्न निकायसँग समन्वयको कार्य भइरहेको छ,’ डा. अधिकारीले भने।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट