काठमाडौं– नेकपा एमालेको माधव नेपाल समूहले अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणको जवाफ नदिने बरु ओलीलाई नै जवाफ माग्ने बताएको छ।
उक्त समूहले सार्वजनिक चिठीमार्फत प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसँग जवाफ माग्ने भएको हो।
यसका लागि मनमैजुस्थित धनबहादुर गुरुङको घरमा माधव–झलनाथ पक्षका स्थायी कमिटी सदस्यहरुको बैठक बसिरहेको छ। बैठक सकिएपछि चिठी सार्वजनिक गर्ने एक नेताले जानकारी दिए। उनीहरुलाई स्पष्टीकरणका लागि दिइएको समय आज सकिँदैछ।
चैत ७ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, स्थायी कमिटी सदस्य भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
केही दिनअघि महासचिवको तर्फबाट हस्ताक्षरसहित नेताहरूलाई स्पष्टीकरण सोधिएको थियो।