शुक्रबार, वैशाख १४, २०८१

भीमदत्त राजमार्गका मृत्यु स्तम्भ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- तराईबाट प्रदेश–७ का सात वटा पहाडी जिल्लाको प्रवेशद्वार कैलालीको गोदावरी पुल तरेर उकालो लाग्नेबित्तिकै सडकका दुवैतिर देखिने स्तम्भले सबैको ध्यान तान्छन् । विभिन्न आकारका स्तम्भमा ठूलो अक्षरमा मानिसका नाम कुँदिएको छ । ती हुन्, मृत्यु स्तम्भ ।

कैलाली सदरमुकाम धनगढीबाट डडेलधुरा जोड्ने राजमार्गका दायाँ–बायाँ राखिएका छन्, ती स्तम्भ । जसले, सडक दुर्घटनामा ज्यान गुमाउनेहरूको स्मरण गराउँछन् । 

दुई दशकदेखि सडक मर्मतमा खटिएका छन्, कैलाली चुरे गाउँपालिका–३ का ६० वर्षीय रणबहादुर राना । उनी भन्छन्, ‘पुराना धेरै स्तम्भ त भत्किसके ।’ 

एक सय ३० किलोमिटरको राजमार्गको कैलालीमा पर्ने गोदावरी–फलटुडेको ५० किमि क्षेत्रमा सबैभन्दा बढी दुर्घटना भएको उक्त खण्डमा निर्मित मृत्यु स्तम्भहरूले पुष्टि गर्छन् । 

निकै घुमाउरो, चिप्लो सतह रहेको सोही खण्डमा भासुको भीरसमेत पर्छ । त्यहाँ पुग्ने चालक र यात्रु सधैं त्रसित देखिने गर्छन् । 

‘जहाँनेर सडक अप्ठ्यारो छ, त्यहीं मृत्यु स्तम्भ देखिन्छन् । मन त्यसै झसंग हुन्छ,’ धनगढी–अछाम रुटमा चल्ने ना४ख ७९०४ बसका सहचालक सुदीप बिष्ट भन्छन्, ‘कुनै–कुनै स्तम्भमा त मृत्यु भएका मानिसको फोटो नै टाँसिएको छ । त्यो देख्दा मनमा डर पैदा हुन्छ ।’

२०२६ सालमा निर्माण शुरु भएको भीमदत्त राजमार्गमा करिब ५० वर्षमा सवारी दुर्घटनामा परी कतिले ज्यान गुमाए भन्ने यकिन तथ्यांक कसैसँग छैन । दुर्घटनाकै यकिन तथ्यांक नरहेका निकायसँग मृत्यु स्तम्भको आँकडा हुने कुरै भएन । सडक दायाँ–बायाँ करिब डेढ सय स्तम्भ छन् । 

दुई दशकयता ठूला दुर्घटना भएका छन्, उक्त राजमार्गमा । सडक पक्की भएपछि बढी दुर्घटना भएको आसपासका बासिन्दा बताउँछन् । 

२०३३ सालतिर डोजर चालक मैते पुन भासु भीरमा दुर्घटनामा परेपछि उनको स्मृतिमा पहिलो मृत्यु स्तम्भ निर्माण गरिएको अत्तरियाका रामचन्द्र अवस्थी बताउँछन् । उनी सडक विभागमा मेसिन अपरेटर थिए । 

त्यसयता नै हो, दुर्घटनाको दर उकालो लागेको पनि । दुर्घटना कम गर्न सडक किनारामा पर्खाल लगाउनुपर्ने नागरिक आवाज नआएको पनि होइन । त्यही निर्माण नगर्दा दुर्घटना दर कम हुन नसकेको अवस्थीको ठम्याइ छ । 

उक्त खण्डमा हुने करिब ९० प्रतिशत दुर्घटनामा चालकको लापरवाही देखिने गरेको अत्तरियास्थित क्षेत्रीय ट्राफिक प्रहरीका निरीक्षक टेकबहादुर जोरा बताउँछन् । राम्रोसँग सवारी चलाउन नजानेका कम उमेरका चालकले तीव्र गतिमा दौडाउँदा दुर्घटना बढेको उनको भनाइ छ । 

धनगढीका बस व्यवसायी पदम सापकोटा भने केही घटनामा चालक दोषि देखिए पनि लामो समयदेखि सडकको स्तरोन्नती नहुँदा दुर्घटना बढेको बताउँछन् । भन्छन्, ‘भीरको बाटो, साँघुरा मोड र खाल्डाखुल्डीका कारण दुर्घटना बढेको हो ।’ 

सोही खण्डमा बढी दुर्घटना हुनुको वैज्ञानिक कारण खोजी गर्नुपर्ने उनको सुझाव छ । निकट भविष्यमा सेती राजमार्ग र धनगढी–दिपायल द्रुतमार्गमा सवारी चाप बढ्ने र भीमदत्त राजमार्गको उक्त खण्डमा दुर्घटना दर कम हुने सापकोटाको ठम्याइ छ । 

तीन वर्षयता लागू गरिएको ‘टाइम कार्ड’को व्यवस्थाका कारण पछिल्ला दिनमा दुर्घटनामा कमि आएको ट्राफिक प्रहरीको भनाइ छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।