काठमाडौं- कम्युनिस्ट सरकारले सय दिन पुरा गरेको संयोग पारेर जंगी अड्डामा जर्नेल सम्मेलन भएको छ । आइतबार र सोमबार दुई दिनसम्म चलेको सम्मेलनमा मुलुकको पछिल्लो सुरक्षा अवस्था, राजनीतिको घरेलु वस्तुस्थिति र भूराजनीतिक परिवेशबारे गम्भीर छलफल भएको छ ।
तीन तहको चुनाव भएर स्थिर सरकार गठन भए पनि तराई तथा पहाडी भेगमा अझै पनि हिंसात्मक गतिविधि जारी रहेकोमा सेनाले गम्भीर सरोकार व्यक्त भएको छ । कम्युनिस्ट एकतापछि पहाडी भेगमा विप्लव माओवादीको सक्रियता बढ्दै गएको र तराईमा सिके राउतलगायतका समूहरुको गतिविधि जारी रहेकोमा जर्नेलहरुले नेतृत्वको ध्यानाकर्षण गराएका थिए।
बैठकमा प्रधानसेनापति, उपत्यकासहित पाँचै क्षेत्रमा रहेका पृतना मुख्यालयका पृतनापति (उपरथी) हरु, पिएसओजमा रहेका रथी तथा विभागीय प्रमुख उपरथीहरु, सैनिक मुख्यालयस्थित विभिन्न निर्देशानालयको नेतृत्व गर्ने सहायकरथीहरु सहभागी थिए। प्रधानसेनापति राजेन्द्र क्षत्रीले विद्यमान परिस्थितिको मुल्याँकन गरी आउन सक्ने जस्तो सुकै चुनौतीको सामना गर्न सक्ने गरी अपरेशनल, तालिम तथा बन्दोबस्ती पक्षमा तयारी हालतमा रहन निर्देशन दिएका थिए । क्षत्रीले विभागीय प्रमुखहरु तथा पृतनापतिहरुलाई नियमित संस्थागत जिम्मेवारी तथा कार्यहरुको अलावा अपरेशनल रेडिनेस तथा सांगठनिक सुदृढिकरणका क्षेत्रहरुमा विशेष ध्यान केन्द्रित गर्न मातहतका कमान्डरहरुलाई सुझाव दिएका थिए । बलाधिकृत रथी पूर्णचन्द्र थापाले सम्मेलनमा उठेका विषयमा स्पष्ट पारेका थिए।
जर्नेल बैठकमा युद्धकार्य महानिर्देशनालयले मुलुकको समग्र बस्तुस्थितिसहित राष्ट्रिय सुरक्षाको वर्तमान अवस्था, चुनौतीबारे विशेष प्रस्तुती गरेको थियो । त्यसैगरी हरेक प्रदेशमा रहेका पृतना मुख्यालयको नेतृत्व गर्ने उपरथीहरुले आआफ्नो कमान्डमा रहेको क्षेत्रको सुरक्षा अवस्थाबारे प्रस्तुत गरेका थिए ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले पृतनापति बैठक नियमित प्रक्रिया भएको नेपाल समयसँग बताए । उनले भने, 'व्यवसायिक विकास तथा अप्रेशनल प्रयोजनका लागि यस्ता बैठक र छलफल भइरहन्छन् । यसलाई कुनै विशेष घटनाक्रमसँग जोड्न आवश्यक छैन। '
जर्नेल बैठकलाई नीति निर्माण तथा नेतृत्वमा रहेका अधिकांश जर्नेलहरु एकै ठाउँ बसेर मुलुकको वस्तुस्थिति र सुरक्षाबारे रणनीतिक छलफल गर्ने सेनाको सबैभन्दा महत्वपूर्ण मंचको रुपमा लिने गरिएको छ । यसले सेनाको अप्रेशनल नीति तथा कार्यदिशासमेत निर्धारण गर्दछ । मुलुकको सुरक्षा अवस्थाको नियमित समीक्षा तथा विश्लेषणसँगै राजनीतिक परिस्थितिको बारेमा समेत सुक्ष्म अध्ययनमा आधारित सघन छलफल हुन्छ । जर्नेल बैठककको छलफल र निश्कर्षलाई राजनीतिक तहमा पनि अर्थपूर्ण रुपमा लिने गरिएको छ ।
कम्युनिस्ट सरकार छँदा सेनामाथि भएका हस्तक्षेपका विगतका प्रयास तथा असझदारीका प्रकरणलाई स्मरण गर्दै जंगीअड्डा यसपटक तुलानात्मक रुपमा बढी चनोखो देखिएको छ। प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले सत्तामा कम्युनिस्टहरुको एकाधिकारसँगै अधिनायकवाद खतरा बढेको अभिव्यक्ति दिइरहेको अवस्थामा सेनाले आफूमाथि कतैबाट पनि चलखेल नहोस् भन्नेमा सचेत देखिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४