इटहरी-६० हजार जनसंख्या, १० वडा र वार्षिक आम्दानी करिब दुई करोड । पहाडी जिल्ला धनकुटा सदरमुकामस्थित नगरपालिकाको आँकडा हो यो । जनप्रतिनिधिहरूले नगरलाई हराभरा बनाउन पार्क निर्माणलाई प्राथमिकता दिएका छन् ।
अधिकांश शहरी इलाकामा खुला ठाउँ र पार्कहरूको अभाव छ । पहाडी क्षेत्रमा यो समस्या अझ चर्को छ । पहाडी जिल्ला धनकुटा नगरपालिकाका जनप्रतिनिधिले भने खुला ठाउँ जोगाउने उपाय निकालेका छन् ।
धनकुटा–७ का वडाध्यक्ष जंगबहादुर राई त्यसको कारण प्रष्ट्याउँछन्, ‘धनकुटामा आवागमन राम्रो छ । साँझ होटेलमा बस्नेहरू र स्थानीय बासिन्दाका लागि पनि खुला र हरियालीयुक्त स्थानहरू आवश्यक छन् ।’
राईको वडा साँघुरो बजार क्षेत्रमा पर्छ, जहाँ खुला ठाउँ भेट्नै मुस्किल छ । उनले भने भेटेजति स्थानमा पार्क निर्माण गर्ने गरेका छन् ।
हुलाक टोलको एउटा खाली स्थानमा उभिएको थियो, चुवाको पुरानो बोट । आसपासमा थियो, खाली क्षेत्र । पार्क बन्नुअघि हार्डवेयर पसलेहरूले रड र सिमेन्ट थुपार्थे । अहिले सुन्दर पार्क तयार भएको छ ।
पार्कको एउटा भित्तोमा साहित्यकार झमक घिमिरेको स्केच र उनको पुस्तक ‘जीवन काँडा कि फूल’ कोरिएको छ । त्यसभन्दा मुनि गमलामा आकर्षक फूलहरू राखिएका छन् । सानो क्षेत्र भए पनि २० जनासम्म अटाउने फलैंचा बनाइएको छ ।
फलैंचा अघिल्तिर मूर्तिकलाको आकर्षक नमूना सजाइएको छ । चुवाको रुख वरिपरि ‘एक्वारियम’ बनाइएको छ । रुखमै बत्तिहरू जडान गरिएको छ, जसले साँझपख पार्क इलाका अझै आकर्षक देखिन्छ ।
वडाध्यक्ष राईका अनुसार नगरपालिकाबाट १५ लाख र स्थानीय बासिन्दाको डेढ लाख रुपैयाँ बराबरको जनश्रम जुटाएर उद्यान निर्माण गरिएको हो ।
धनकुटा-६ मा तीन वटा पार्क निर्माणाधीन छन् । ‘ल्यान्डफिल्ड साइट’ रहेको इलाकामा पार्क बनिसकेको छ । सोही वडाको खानेपानी कार्यालयनजिक पनि पार्क तयार भएको छ ।
रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्रनजिकको पार्क नगरकै पुरानोमध्येको हो । विभिन्न कलाकृति, चौतारो र फूलहरूले त्यसलाई आकर्षक बनाएका छन् ।
सोही वडाको शिव मन्दिर अगाडि बीच बजारमा अर्को नयाँ उद्यानको निर्माण धमाधम छ, जसको नाम राखिएको छ शिव पार्क । उक्त उद्यानमा सानो पुल र पोखरी पनि छन् ।
नगरका सबै वडाका बजार र एकीकृत बस्ती आसपास यस्ता धेरै उद्यान निर्माणाधीन छन् । नगरप्रमुख चिन्तन तामाङ भन्छन्, ‘हरेक सार्वजनिक स्थानमा पार्क बनाउँदैछौं ।’
हरित र पर्यटकीय शहरका रूपमा धनकुटाको परिचय थपिने क्रममा रहेको नगरपालिकाका पर्यटन शाखा प्रमुख विकास अधिकारी बताउँछन् ।
उनका अनुसार उद्यानहरूको रेखदेखमा स्थानीय बासिन्दाले उत्साहजनक सहभागिता देखाएका छन् । ‘फूल रोप्ने नगरपालिका र पानी हाल्ने नागरिक,’ अधिकारी भन्छन्, ‘यही केमेस्ट्रीका कारण परियोजनाले सफलता पाउने देखिएको छ ।’