विशेष समाचार
1619877304.jpg

काठमाडौं- १४ वर्षको कलिलो उमेरमा उनको टाउकोमा इँटाको भारी छ। किताबको झोला बोकेर स्कुल जानुपर्ने समयमा उनी बाँच्नका लागि इँटाभट्टामा मजदुरी गरिरहेका छन्। आफ्नै उमेर समूहका बालबालिका स्कुल गएकाे देख्दा उनी पनि लाेभिन्छन्। तर रोल्पाका सुवास विक सबेरैदेखि सकीनसकी टुटेका-बिग्रिएका इँटाको भारी उठाउँछन्। साँझसम्म त्यहीं व्यस्त रहन्छन्। 

विपन्न परिवारमा जन्मिएका उनको जिन्दगीको सुवास भने इँटाभट्टाको धुलोबाट बाहिर निस्किन पाएको छैन। उनी भन्छन्, 'स्कुल जाने रहर नभएको कहाँ हो र ? परिवारको आर्थिक अवस्थाले इँटाभट्टामा पुर्‍यायाे।'  कलम समात्नुपर्ने कलिला हात हरेक दिन खस्रो इँटासँग मुकाबिला गर्दैछन्। भोकका सामु निरिह छन् सुवास।

बिहीबार भक्तपुर चाँगुनारायण पुग्दा टाउकोमा नीलो कपडा बेरेर इँटा बोक्दै थिए सुवास। बिग्रेका इँटाले भरिएको बाटा टाउकोमा राखेर इँटाभट्टाको छेउतिर जाँदै गरेका सुवास आफ्नो फोटो खिच्न लागेको देखेर फिस्स हाँसे। थकान र अभावले उनको मुस्कान पनि त्यतिसारो खुलेको थिएन। 

‘गाउँमा बस्यो भने भोकै परिन्छ, यहाँ काम गर्‍यो भने पेटभर खान त पाइन्छ’, यही बुझाइले रोल्पाबाट भक्तपुर आइपुगेकाे उनी बताउँछन्। पढ्न छाडेर किन काममा आएको भन्ने प्रश्नमा उनी भन्छन्, ‘स्कुल जाने मन त थियो तर कसरी जाने, के खाएर जाने, के लगाएर जाने ?’

सुवासले भट्टामा काम गर्न थालेको दुई साता भएको छ। दिनभरिमा  १ हजारदेखि १२ सयसम्म इँटा बोक्दा १ हजारसम्म हुन्छ। 'कमाइ त राम्रै हुन्छ तर पढाइ त गयो नि', सुवासकाे दुःखेसाे छ, ‘पढौं भने खान पाइँदैन, पेटभरि खान आफैँले काम गर्नुपर्छ, काम गर्दा पढ्न पाइँदैन।’ 

भट्टामा मजदुरकाे संख्या घटेकाे छ। काँचो इँटा बोक्न  १५ जना खटिएका छन्। सुवासलाई भने बिग्रिएका इँटा बोक्ने जिम्मा छ।

सुवासलाई नुहाउनसम्म फुर्सद छैन। नुहाउन एक त पानी छैन, नुहाए पनि त्यही धुलोमा घोटिनुपर्ने। उनले भोकको कथाबाहेक केही भन्न सकेनन्।

साेही भट्टामा काम गर्छन् सुवासका दाइ अविनाश पनि। सुवाससँग कुरा गरिरहेको देखेर अविनाश पनि छेउमा आइपुगे।

अविनाशले दैनिक ६–७ हजार इँटा बोक्छन्। ‘नाइकेबाट ऋण लिएको छु काम त जसरी पनि गर्नैपर्छ', भट्टाको धुवाँले फुटेका ओठमा हातले सुमसुम्याउँदै उनी भन्छन्, ‘हाम्रो त पूरै परिवार भट्टामा काम गरेर गुजारा गर्छ।’

सुवासका आमा-बा र एक भाइ र बुहारी धादिङको इँटाभट्टामा काम गर्छन्। परिवार नै किन मजदुरीमा त? अविनाश भन्छन्, 'दुई-अढाई लाख ऋण छ, अर्कोतिर घर खर्च चलाउनुपर्छ। गाउँमा रहेकाे जग्गाजमिनमा हुने उत्पादनले वर्षभरि खान पुग्दैन।' उनीहरू राेल्पाको त्रिवेणी गाउँपालिकाका हुन्। 

भट्टामा काम गरिरहेका सबै आ–आफ्नै सुरमा थिए। गेटमा एक जना ट्रिप गन्ने व्यक्ति उभिएका हुन्छन्।  ती व्यक्तिको काम हरेक ट्रिप गरेपछि पर्चामा छाप लगाउने हो। सबैले आआफ्नै रुचिअनुसारका गीत सुन्दारहेछन्। कसैले मोबाइलमा ‘यो भाग्यमा खोट छ’, कसैको मोबाइलमा ‘गलबन्दी च्यातियो’ बजिरहेको थियाे।

अविनाश अहिले २२ वर्षका भए। घरमा श्रीमती र दुई बालबच्चा छन्। घरको  कमजाेर आर्थिक अवस्थाकै कारण पढ्न नपाएको गुनासो छ उनको पनि।

१५ वर्षको कलिलो उमेरमै उनको विवाह भएकाे रहेछ।  ‘कापी, किताब र ड्रेस किन्न नसकेपछि कसरी पढ्न सकिन्छ र ?’ उनी भन्छन्।  आफूले पढ्न नपाएको धोको छोराछोरीलाई पढाएर पूरा गर्ने चाहाना छ अविनाशको। ‘मैले त पढ्न पाइनँ, सकुन्जेल छोराछोरीलाई पढाउँछु। उनीहरुले मैले जस्तो दुःख पीडा भोग्नु नपरोस्’, उनले मलीन अनुहार लगाउँदै भने। 

उनकी पाँच वर्षीया छोरी भने गाउँको स्कुलमा भर्ना भइसकेकी छन्। भाइ सुवास पढ् भन्दा नमानेर काम गर्न आएको उनी बताउँछन्। ‘रोल्पामा भोकै बस्नुभन्दा त यहाँ काम गरे खान पाइन्छ भनेर काम गर्न आयो, सके गर्छ नत्र घर पठाइदिन्छु’, सुवासतर्फ हेर्दै अविनाशले भने।

गत वर्ष  कोरोनाका कारण लकडाउन हुँदा ७ दिन  हिँडेर रोल्पा पुगेका थिए अविनाश। ‘लगातार सातदिन दालमोठ र चिउराको भरमा रोल्पा पुगेका थियौं', उनले सुनाए। पोहोर सालको जस्तो दुःख यो साल भोग्नु नपरोस् यही कामना गर्छन् उनी।

सन् २०१७ मा चाइल्ड डेभलपमेन्ट सोसाइटीले गरेको एक सर्वेक्षणअनुसार ५ वर्षमुनिका १७, ५–१० वर्षका १७, १०–१५ वर्षका १८ र १५–१८ वर्षका ७ प्रतिशत बालबालिका इँटाभट्टासँग सम्बन्धित क्षेत्रमा मजदुरी गरिरहेका छन्। साेसाइटीले काठमाडौं उपत्यकामा रहेका इँटा उद्योगमध्ये ४९ उद्योगलाई नमुनाका रुपमा लिई अध्ययन गरेको थियो। जुन जम्मा उद्योगको प्रतिशतको ४५ प्रतिशत हो।

उपत्यकाका भट्टामा काम गर्ने मजदुरमा काभ्रेका २२, रामेछाप १८, रोल्पाका १४, दाङका ७ र सिन्धुलीका ७ प्रतिशत रहेको अध्ययनले देखाएको छ।अध्ययनमा बालबालिकाले स्कुल छोड्नुका ६ कारण देखाएको छ, जसमा पारिवारिक र स्वास्थ्य समस्याका कारण ८.७४, पारिवारसँग आएका १.४८, स्कुल टाढा भएकाले ३.२६, आर्थिक अवस्थाका कारण ५.९३, र पढ्न इच्छा नभएका १४.९३ प्रतिशत छन्।

सोसाइटीले गरेको अध्ययनमा २२ प्रतिशत बालबालिका पढाइबाट रहेको उल्लेख छ। भट्टामा काम गर्ने बालबालिकामध्ये इँटा लोड गर्नेमा १.६ प्रतिशत, फ्याक्ट्री असिस्टेन्टमा २, इटा बोक्नमा ४६.७, पानी बोक्नेमा १.६ र इँटा बनाउने कार्यमा ३६.६ प्रतिशत बालबालिका प्रयोग भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्