कला - साहित्य

स्वतन्त्रताका व्यवहार र प्रयोग बदलिँदै छन्

1619836654.jpg

व्यक्तिगत स्वतन्त्रता नै समाजको स्वतन्त्रताको आधार मानिन्छ। जहाँ व्यक्ति स्वतन्त्र हुँदैन, त्यो समाज स्वतन्त्र छ भन्ने कल्पना पनि गर्न सकिँदैन। जुन समाजमा मानवीय प्रतिभा, अन्वेषण र आविष्कारलाई निषेध गरिन्छ, त्यो समाजले प्रगति पनि गर्न सक्दैन।

व्यक्तिगत ज्ञान र क्षमतालाई सम्मान गर्ने समाजले नै प्रगति गर्छ। स्वतन्त्रता मानव जातिको सबैभन्दा महत्त्वपूर्ण मूल्य हो।स्वतन्त्रताका निम्ति आफ्नो जीवन उत्सर्ग गरेकाहरूको सूची लामो छ। स्वतन्त्रताका निम्ति भएका व्यक्तिगत प्रयासदेखि सामूहिक आन्दोलन र क्रान्तिको इतिहास पनि लामै छ।

आधुनिक समाजमा आर्थिक, सांस्कृतिक संरचनाहरूले व्यक्तिगत स्वतन्त्रतालाई संकुचन गराउँदै लगिए पनि स्वतन्त्रताका लागि मानिसले जस्तोसुकै मूल्य चुकाएको हामी पाउँछौं। साथै, डिजिटल प्रविधि र ‘आर्टिफिसियल इन्टेलिजेन्ट’ का कारण हाम्रो स्वतन्त्रता अर्थात् स्वतन्त्र रूपमा सोच्ने र कार्य गर्ने क्षमतामा अंकुश लागेको अनुभव गरिँदै छ।

यसर्थ, स्वतन्त्रताको अनुभव, व्यवहार र प्रयोग बदलिँदै छन्। तथापि स्वतन्त्रताका सैद्धान्तिक एवम् व्यावहारिक आधार छन्, त्यसमा टेकेर नै स्वतन्त्र समाजको आग्रह गरिन्छ।

‘स्वतन्त्र समाजका आधारशिला’ ले केही सैद्धान्तिक आधारहरूलाई छोटो र सरल रूपमा प्रस्तुत गरेको छ। त्यस्तै, कुनै पनि समाजको स्थायित्व त्यसका सदस्यबीच रहेको भाइचारा र सद्भावमा भर पर्छ। सद्भाव र भाइचाराको मुख्य आधार नै बृहत् समानता हो, जुन स्वतन्त्र व्यक्तिहरुबीच मात्र सम्भव छ। भन्नुको अर्थ– स्वतन्त्रताबिना दिगो समानताको कल्पना गर्न सकिँदैन।

सुखी समृद्ध समाजको कल्पनाभित्र स्वतन्त्रता लुकेको हुन्छ। आर्थिक, सामाजिक र सांस्कृतिक असमानताले समाजमा विद्वेष र कलह ल्याउँछ। समानता भन्नेबित्तिकै हामीले व्यक्तिगत आत्मसम्मानलाई पनि बझ्नुपर्छ। मानिस आध्यात्मिक, नैतिक रूपमा समान जाति हो।

मानवता यस्तो मूल्य हो, जसले हरेक मानिसलाई भावनात्मक र नैतिक रूपमा जोड्छ, जसको प्रमुख आधार नै हामी समान भन्ने नै हो। स्वतन्त्र समाजको आधारशिलाको प्रमुख प्रस्थान विन्दु व्यक्तिगत स्वतन्त्रता नै हो। यसमा कुनै द्विविधा छैन। तथापि आधुनिक समाजले आफूलाई व्यवस्थित गर्न केही सामूहिक विधि स्थापित गरेको छ।

यो विधि विभिन्न कालखण्डमा विभिन्न प्रयोगबाट खारिँदै आएको छ। तसर्थ स्वतन्त्र समाजमा सरकार विधिको शासनबाट बाँधिएको हुन्छ। यस सन्दर्भमा हामीले देखेका छौं, सामाजिक सन्तुलन वा त्यसका निम्ति तय गरिएको विधि खलबलियो भने सबैभन्दा पहिलो प्रहार स्वतन्त्रतामै हुन्छ। त्यसको राजनीतिक उदाहरण संकटकाललाई मान्न सकिन्छ।

सामाजिक सुव्यवस्थाको सुनिश्चितताका निम्ति भन्दै हाम्रा व्यक्तिगत र सामूहिक स्वतन्त्रताका हरण भएका दृष्टान्त प्रशस्त छन्। जब व्यक्तिगत स्वतन्त्रताको हरण हुन्छ, तब सम्पूर्ण सामाजिक तथा राजनीतिक व्यवस्था नै समस्याग्रस्त हुन्छ।

केही देशमा व्यक्तिगत आर्थिक स्वतन्त्रतालाई सुनिश्चित गरी राजनीतिक स्वतन्त्रतालाई संकुचन गरिएको छ। अर्थात् स्वतन्त्रतालाई खण्डित गरिएको छ। त्यस्ता देशमा सामाजिक सुव्यवस्था र स्थायित्वका लागि निकै खर्चिलो व्यवस्था गरिएको हुन्छ। नागरिकका हरेक गतिविधि निगरानी गरिएका हुन्।

यस्तो व्यवस्थामा स्वतन्त्र नागरिकको कल्पना गर्न सकिँदैन। किनकि नागरिक भय र आशंकामा बाँचेका हुन्छन्। हालैका दिनमा आर्थिक विकास र समृद्धिका नाममा राजनीतिक स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रतामा सम्झौता गनुैपर्छ भन्ने विचार पनि बलियो हुँदै आएको छ।

खण्डित स्वतन्त्रताको आग्रहले खण्डित अर्थात् विभाजित समाजको निर्माण हुन्छ। तसर्थ अहिलेको समयमा ‘स्वतन्त्र समाजका आधारशिला’ ले स्वतन्त्रताको पक्षमा वकालत गर्ने महत्त्वपूर्ण योगदान गर्नेछ।

(फाइन प्रिन्टबाट हालै प्रकाशित इमन बटलरको ‘स्वतन्त्र समाजको आधारशिला’ पुस्तकबाट। पुस्तकको नेपाली अनुवाद मुराहरि पराजुलीले गरेका हुन्।)

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप