काठमाडौं- नेपालगन्जमा सोमबार सुरु भएको एन्फा प्रेसिडेन्ट लिग-२०७७ को पहिलो खेलमा सुदूरपश्चिमको स्टार सिटी युवा क्लब कैलालीले प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहटलाई ३-० ले पराजित गरेको छ।
स्टार सिटी युवा क्लबको तर्फबाट रुपबहादुर लामाले २ र दीपक राज सिंह ठकुरीले १ गोल गरे। खेलको म्यान अफ दि म्याच बनेका रुपबहादुरले तेस्रो र ८१ औं मिनेटमा गोल गरे। दीपकले ४६ मिनेटमा गोल गरे।
चैत १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदूरपश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन्।