फोटो समाचार

भूस्वर्ग तिलिचो

1619398339.jpg
सबै तस्बिरः स्तुति डंगाेल।

काठमाडौं – उपल्लो मनाङमा रहेको तिलिचो विश्वमै उचाइमा रहेको हिमताल हो। चार हजार ९ सय ४९ मिटर उचाइमा रहेको यस तालमा कुनै जैविक अस्तित्व भेटिएको छैन।

तालको लम्बाइ चार किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराइ ८५ मिटर छ।

तिलिचोको वरपर खाङसार, मुक्तिनाथ, नीलगिरी र लिचित शिमशिखर छन्। तिलिचो तालबारे धेरै पुस्तकमा वर्णन गरिएको छ। त्यसमध्ये माउरिस हर्जोगको ‘अन्नपूर्ण’ पुस्तकमा तिलिचो तालबारे गजबको वर्णन छ। 

रामायणमा ‘काक भुसुण्डी’ का रूपमा वर्णन गरिएको ताल तिलिचो भएको विश्वास गरिन्छ। ऋषि काक भुसुण्डीले पहिलोपटक रामायणको कथा पन्छीहरूका राजा गरुडलाई यही तालको किरानामा सुनाएको पुराणमा उल्लेख छ। गरुडलाई रामायणको कथा भन्दै गर्दा ती ऋषि कागमा परिवर्तित भए। संस्कृतमा ‘काक’ भनेको काग हो।

कसरी पुग्ने तिलिचो?

लमजुङको बेसीसहरसम्म मोटरमा जान सकिन्छ। त्यहाँबाट फुर्सद भएमा दुई दिनको पैदलमा मनाङको केन्द्र चामेसम्म पुग्नु उत्तम हुन्छ। नत्र पिकअप गाडीमा एक दिनको यात्रामा चामेसम्म पुगिन्छ।

चामेपछिको अर्को गन्तव्य हो, खाङसार। चामेबाट करिब तीन घण्टा पैदल यात्रामा खाङसार पुगिन्छ। खाङसार जाने क्रममा मस्र्याङ्दी नदी र खाङसार खोलाले बनाएको समथर मैदान, काँडे सल्ला र हरिया फाँटको मनमोहक दृश्यले जोकोहीको पनि मन लोभ्याउँछ।

खाङसारबाट हिमाली पदयात्रा सुरु हुन्छ। खाङसार तीन हजार ७ सय ५६ मिटरमा अवस्थित छ। त्यसैले खाङसारदेखि यात्रामा विचार पुर्‍याउनुपर्छ। शरीरलाई ‘एक्लमटाइज’ गर्दै अघि बढ्नुपर्छ। हतार गर्दा लेक लाग्न सक्छ। 

उच्च हिमाली क्षेत्रमा अघिल्लो दिनभन्दा ३ सयदेखि ६ सय मिटरभन्दा बढी यात्रा गर्नु हुँदैन। यसो गर्दा शरीरले अक्सिजनको अवस्था सन्तुलन गर्न सक्दैन र लेक लाग्न सक्छ।

नेपालीलाई लेक लाग्दैन भन्ने भ्रम छ। लेक लाग्नु भनेको शरीरमा आवश्यक अक्सिजनको मात्रा अपुग हुनु हो। अक्सिजन कम हुने उच्च हिमाली क्षेत्रमा जोसुकैलाई लेक लाग्न सक्छ।

होसियार हुने हो भने लेक लाग्नबाट बचिन्छ। पदयात्रा गर्ने झन्डै ६० हजार जनामा एक दुईजनाको मात्र लेक लागेर मृत्यु हुन्छ। तसर्थ यात्रामा सावधानी अपनाउनुपर्छ। 

शरीरमा पानीको मात्रा कम हुन नदिन तुम्लेट आफ्नो साथमै राखेर बेलाबेला पानी खाइरहनुपर्छ। पानीले पनि शरीरमा अक्सिजन आपूर्ति गर्छ।

अन्नपूर्ण क्षेत्रमा मौसम चाँडोचाँडो परिवर्तन भइरहने भएकाले न्याना लुगा पनि उत्तिकै आवश्यक हुन्छ।

खाङसारबाट जति माथि चढ्दै गयो उति नै हिमाली दृश्य आँखै अगाडि आउँछन्। अन्नपूर्ण दोस्रो हिमशिखर र आश्चर्य लाग्ने गरी फैलिएको ढुंगेनी पहरा देखिन्छ।

खाङसारदेखिको बाटोमा खासै धेरै मान्छे भटिँदैनन्। बाटोमा एकनासे वातावरण हुन्छ। बेला–बेला हावाको सुसेली र आफ्नै हिँडाइको आवाज मात्र सुनिन्छ।

जति उकालो चढ्दै गयो मनाङदेखि छुट्दै आएका बिरुवा र पोथ्रापोथ्री कम कम हुँदै जान्छन्। खाङसारबाट बाटो श्रीखर्क हुँदै अघि बढ्छ। श्रीखर्क चार हजार ४५ मिटरको उचाइमा छ। श्रीखर्कमा स्याँठले अँठ्याउन सक्छ।

यसपछिको तीनवटा बाटो देखा पर्छन्। माथ्लो बाटो धेरै लामो र गाह्रो छ। तल्लो बाटो त्यत्ति चल्तीको बाटो होइन। चल्तीको भनेको बीचको बाटो हो। अधिकांश पदयात्री बीचकै बाटो हिँड्छन्। 

आकाश सफा भएको अवस्थामा सो क्षेत्रबाट देखिने तिलिचो पिकको मनोहारी दृश्य हो। अघि बढ्दै जाँदा देखिने अद्भूत पर्वत हो, खाङसार खाङ। जुन पर्वत कालो वर्णको शिलाले युक्त छ।

खाङसार खाङ उत्तरी पाखोमा बढ्दै गएर अन्नपूर्ण पहिलो हिमालमा मिसिन पुगेको छ, जुन अन्नपूर्ण क्षेत्रको उच्च हिमाल हो। खाङसार खाङ र तिलिचो पिकको बीचमा ढुंगेनी पर्वतमाला तेर्सिएका छन्।

बाटोको एक खण्ड साह्रै भिरालो र सानाठूला ढुंगाका गिर्खाले युक्त छ। एकदुई स्थानका घुम्तीमा बार र भर्‍याङ पनि बनाइएको छ। यद्यपि उच्च क्षेत्र, थकान र बाटोको अवस्थाले गर्दा बिस्तारैबिस्तारै पाइला चाल्दै अघि बढ्नुपर्छ। माथिबाट ढुंगा गुड्दै आइरहेको पनि हुन सक्छ। 

खाङसारबाट एकाबिहानै हिँड्ने हो भने सो ढुंगेनी बाटो घामले नतात्दै पार गर्नु पनिसुरक्षित मान्न सकिन्छ। घामले तातेपछि ढुंगा गुड्दै तलतिर आउँदो रहेछन्।

हामी तीन बजेतिर त्यहाँ पुग्दा पनि मसिना गिर्खा निरन्तर गुडेर आइरहेका थिए। ठूलै ढुंगा गुडेर आउने हो कि भनेर सासै रोकेर चुपचाप बाटो पार गर्‍यौं हामी पनि।

यो धराप बाटो पार गर्न ३०/४० मिनेट लाग्छ। जसै यो बाटो पार गरिन्छ तब संकटको एउटा चरण पार भएको अनुभूति हुन्छ।

तिलिचो बेस क्याम्पसम्मको बाटो तेर्सो छ। आँखाले देखुन्जेल तेर्सिएको पैदल मार्ग अर्को पहाडको कुइनेटोमा पुगेर बिलाउँछ। र, त्यसपछि पनि अर्को त्यस्तै बाटो देखिन्छ।

एकलासझैं लाग्ने ढुंगेनी बाटोको पारिपट्टि भएको पहाडी दृश्यले आनन्द दिन्छ। यदाकदा उडेको देखिने चिलबाहेक अरु कुनै प्राणी अस्तित्व देख्न मुस्किल पर्छ।

खाङसारबाट एक दिन हिँडाइमा तिलिचो बेस क्याम्प पुगिन्छ। तिलिचो बेस क्याममा रहेको तुलनात्मक रूपमा ठूला तीनवटा लजमध्ये एउटामा बास बस्न सकिन्छ।

सोलार प्यानलले गर्दा तातोपानी पनि उपलब्ध छ। तातोपानीका लागि छुट्टै पैसा तिर्नुपर्छ। लजमा बिजुलीको अनावश्यक खपत गर्न पाइँदैन। मोबाइल, क्यामरा लगायतका सबै विद्युतीय सामग्री काउन्टरमै चार्ज गर्नुपर्छ।

बेस क्याम्पबाट बिहानै उठेर झन्डै चार घण्टामा तिलिचो पुगिन्छ भने फुर्सदले झरेर फेदीमा आउन सकिन्छ।

तिलिचो पुगेपछि मनमा उत्पन्न हुने भाव र आनन्दा शब्दमा वर्णन गर्न सकिन्न। नीलो आकाशमुनिको नीलो पानीको दह हेर्दै रमाउँदा सारा थकान बिर्सिइन्छ। नेपालको एउटा पुग्नेपर्नै ठाउँ हो, तिलिचो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट