काठमाडौँ : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको झन्डै आठ महिना लामो एकता प्रक्रिया संभवत: बिहीबार टुंगो लाग्ने भएको छ । केही प्रक्रियागत र प्राविधिक पक्ष मिलाएर बिहीबार साँझसम्ममा एकता घोषणा गर्ने तयारी छ।
प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार बिहान भएको निर्णायक वार्ताले एकतालाई निर्णायक मोड दिएको हो । प्रचण्ड र ओलीबीच भएको एकताको फाइनल डिललाई लिपिवद्ध गरेर बिहीबार त्यसलाई फाइनल टच दिन दुवैतर्फका नेताहरु बिहानैदेखि व्यस्त छन् ।
प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार बिहान भएको निर्णायक वार्ताले एकतालाई अन्तिम रुप दिने सहमति गरेको थियो । एकता घोषणालाई अन्तिम रुप दिन बिहीबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ ।
बैठकले प्रक्रिया, समय र स्थान तय गर्नेछ । समितिको बैठकपछि एमाले केन्द्रीय कमिटीले त्यसलाई अनुमोदन गर्नेछ । निर्णयपछि बिहीबार नै निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी दर्ता हुने पत्रकार सम्मेलनबाट घोषणा गरिने एमालेका युवा नेता योगेश भट्टराईले नेपाल समयसँग बताए।
एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २५ औँ स्मृति दिवसका दिन आज पार्टी एकताको ऐतिहासिक घोषणा हुन लागेकामा दुवै दलका कार्यकर्तामा उत्साह देखिएको छ । दुई दलको कार्यदलले तयार गरेको प्रतिवेदनमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने, माक्र्सवादी—लेनीनवादी सिद्धान्त अवलम्बन गर्ने, महाधिवेशनसम्म जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादलाई विधिवत् बहसमा लाने, पालैपालो नेतृत्व सहअध्यक्ष गर्नेलगायत विषयमा सहमति भइसकेको छ ।
एकता अन्तर्गत एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० गरी ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने तयारी छ । यस्तै, स्थायी कमिटीमा एमालेबाट २५ र माओवादी केन्द्रबाट १८ जना सदस्य रहने लगभग सहमति भएको छ । गत असोज १७ गते भएको चुनावी गठबन्धनमा सामेल यी दुई वाम दलले स्थायित्व, शान्ति, स्थिरता, समानता र समृद्धिका लागि एकीकृत हुने घोषणा गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४