काठमाडौं- नेकपाको दाहाल-नेपाल पक्षीय अध्यक्ष माधव नेपालले केपी शर्मा ओलीले पार्टी एकीरणको कामै गर्न नचाहेको बताएका छन्।
३ वर्षअघि चुनावी गठबन्धन र त्यसपछि भएको पार्टी एकतापछि एकीकरणका काम सम्पन्न गर्न ओलीले नचाहेको अध्यक्ष नेपालले आरोप लगाए।
काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले भने, बिडम्बना करिब तीन वर्षसम्म एकीकरणको कुनै काम गर्न सकिएन। ओलीले चाहनु भएन, उहाँले कहिले हतारो गर्नु भएन। पार्टी र जनवर्गीय संगठनलाई एकता गर्न कहिले उहाँले चाहना नै राख्नुभएन।’
नेपालले ओलीमा कम्युनिष्ट विचार नै नभएको आरोप लगाए। उनले भने, रास्ट्र, जनता र परिवर्तनलाई केन्द्रविन्दुमा होइन उहाँमा व्यक्तिवाद हाबी रह्यो। उहाँको गलत प्रवृत्तिकै कारणले अहिलेको अवस्था आइलाग्यो।’
नेता नेपालले ओली अहिले आफ्नो बचाउको लागि साइबर सेना बनाएको आरोप लगाए। साथै पार्टीको अवस्था यो हुनुमा ओलीमात्र नभई आफूहरु पनि दोषी रहेको भन्दै सच्चिनुपर्ने बताए।
उनले भने, ‘केपी ओलीलाई कतिले सच्याउन खोजेका रहेका छन् तर उहाँ सच्चिने मानिस होइन। बालुवा पेलेर कुनै पनि हालतमा तेल निस्किन्न।’
अध्यक्ष नेपालले ओली सरकार र पार्टीको नेतृत्वमा आएपछि मात बढदै गएको, अहंकारी फस्टाएर गएको तथा अरुलाई अपमान गर्ने प्रवृति देखिएको बताए। उनले भने, ‘आफ्नो पार्टीभित्र मात्रै होइन सिंगो समाजले आलोचना गर्न थालेपछि उहाँले अपमान गर्ने काम गर्न थाल्नुभयो। ओली प्रवृत्तिसित अहिले हामी सबै लडिरहेका छौँ।’
‘ओली अहिले पनि अध्यक्ष भएको घोषणा गर्दैछन्। उनलाई त बहुमत नेकपा केन्द्रीय कमिटी बैठकले अध्यक्ष र साधारण सदस्यबाट नै निकालिसकेका छौं। उनी अहिले पनि आफूलाई अध्यक्ष भनिरहेका छन्। अब गर्ने के आयोगलाई हामिले सबै जानकारी त दिइसकेका छौँ।’ उनले अगाडि भने, ‘बहुमत सदस्यले हटाएको छ अब योभन्दा वैधानिकता के हुन्छ ? बहुमत नै नमान्ने भन्ने त हुँदैन नि। विधानमा प्रष्ट व्यवस्था हुँदाहुँदै विधानभन्दा माथि ओली कसरी हुन्छन्। ओली जी नवौं महाधिवेशनबाट निर्वाचित भएको भनेर भाषण गर्दै हिड्नु भएको छ।’
नेपालले हिजो पार्टी एकता हुँदा दुबै पार्टी विघटन भएको बताए। ‘हामीले त हिजो दुवै पार्टी विघटन गरेर एकता गरेका हौं। नेकपाको नाम प्रयोग गर्ने अधिकार केपी ओलीलाई छैन। हामीले निर्वाचन आयोगमा निवेदन गरिसकेका छौं अब आयोगले छिटो कानुनअनुसार नै निर्णय गर्छ भन्ने हामीलाई विश्वाश छ। निर्वाचन चिन्ह र पार्टी हाम्रो नै हो भ्रममा नपरे हुन्छ।’
नेपालले अदालतको फैसला नहुन्जेल धेरै भ्रम सिर्जना गरिएको र अदालतको फैसलाले संविधान जोगाएको बताए।
उनले पार्टीको सदस्य नै नभएको मानिसले प्रमुख सचेतकबाट गुरुङलाई हटाए भन्ने आफूले सुनेको बताउँदै भने, ‘ओलीलाई त हामीले ससदीय दलको नेताबाट नै हटाइसकेका छौं। कुनै एक व्यक्तिको सनकको भरमा देश अगाडि जान सक्दैन। यो लडाई व्यक्तिबीचको होइन यो विधि पद्धति र नितिको लडाइ हो।’