काठमाडौं– गृहमन्त्री एवम् नेकपा ओली पक्षीय सचिवालय सदस्य रामबहादुर थापाले पार्टी छाडेर गएकालाई भदौ २६ को अवस्थामा फर्कन आग्रह गरेका छन्।
उनले नेताहरूलाई सच्चिने अन्तिम अवसर रहेको दाबी गर्दै भदौ २६ अघिको अवस्था फर्किए एकता जोगाउन सकिने बताएका हुन्।
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले गत भदौ २६ मा सम्पन्न स्थायी कमिटी बैठकको निर्णय उल्लंघन गरेको आरोप दाहाल–नेपाल पक्षको छ।
ओलीनिकट नेताहरुले भने भदौ २६ को स्थायी कमिटी बैठकले गरेको निर्णयकै अवस्थाबाट समाधान निस्कने बताउँदै आएका छन्।
पोखरामा गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै थापाले थापाले भने, ‘सर्वोच्च अदालतको निर्णय अवसरवादीका निम्ति सच्चिने एउटा अवसर पनि हो। अविश्वासको प्रस्ताव फिर्ता लिएर पार्टी एकतामा आउने सच्चिने अन्तिम अवसर छ। सच्चिनुस् गलत बाटोबाट पछाडि फर्केर भदौ २६ गतेमा फर्किनुस्।’
स्थायी कमिटीको बैठकले गरेको निर्णयलाई ध्यानमा राखेर आत्माआलोचनासहित निर्णयमा फर्किएर पार्टी एकताबद्ध बनाउन भूमिका खेल्न उनको सुझाव छ।
‘एकथरी कमरेडले नेकपाको सरकार अपदस्थ गर्ने, प्रधानमन्त्रीले राजीनामा नदिएमा अविश्वासको प्रस्ताव राखेर हटाउने खेल खेलिरहेका छन्,’ उनले भने, ‘नेकपा विरोधी पार्टीलाई सरकारको नेतृत्व दिएर कम्फर्टटेबल सरकार बनाउन चाहिरहेका छन्।’
अदालतको फैसलालाई आफूले मान्ने भन्दै उनले अदालतको निर्णय देशको स्थायित्वको पक्षमा भने नरहेको बताए।
‘सदनको मोर्चामा संघर्ष केन्द्रित भएको छ। हामी संसद्भित्र सरकारको रक्षा गर्नेछौं,’ उनले भने, ‘हामीले विजय प्राप्त गर्नेछौं, गर्नैपर्छ।’