काठमाडौं – मानिसहरू क्रिस्टियानो रोनाल्डोलाई जति प्रशंसा गर्छन् त्यति नै प्रशंसा जोजिना रोड्रिगेजलाई पनि गर्ने गर्दछन्।
अहिले तिनै पोर्चुगिज स्टार रोनाल्डोकी गर्लफ्रेन्ड रोड्रिगेजले उनीहरूको सम्बन्धको बारेमा केही चर्चा गरेकी छन्।
साथै उनले युभेन्टस् फरवार्डको घरमा कस्तो व्यवहार छ भन्ने कुराको पनि खुलासा गरेकी छन्।
‘उनले खाना पकाउँदैनन्,’ रोड्रिगेज भन्छिन्, ‘बिहानभरिको अभ्यासपछि उनी मायाले पकाएर दिएको केही तातो खानेकुरा चाहन्छन्।’
उनले थपिन्, ‘हामीसँग भान्से त छन्। तर म पनि कहिलेकाहीँ पकाउँछु।’
उनी खाना पकाउनेबाहेक रोनाल्डोले गर्न नभ्याएका काम पनि गर्ने गरेको बताउँछिन्।
‘हाम्रो घरमा बिजुलीको बत्ती परिवर्तन गर्न सजिलो छैन। किनभने हाम्रो सिलिङ निकै उचाइमा पर्छ,’ उनी घरको बयान गर्छिन्, ‘यदि तपार्इं रोनाल्डो नै हुनुहुन्थ्यो भने के २० फिट अग्लो सिलिङमा बल्ब जोड्न सक्नुहुन्थ्यो ?’
त्यो काम जसले गरे पनि एकै रहेको उनी बताउँछिन्।
उनी थप्छिन्, ‘उनले मैदानमा देखाउने कलाका निम्ति आफ्नो धेरै ख्याल राख्न्ुपर्छ। त्यसैले म बाँकी कुराहरूको ख्याल राख्छु। म उनलाई सबैकुरा ठिकठाक छन् भन्ने भान गराउँछु। मलाई घरपरिवारको हेरविचार गर्न मनपर्छ।’
अर्जेन्टिनामा जन्मिएकी स्पेनिस मोडेल रोड्रिगेज यो कुरा पनि मान्छिन् कि जब दुवैजना सँगै शारीरिक अभ्यासमा लाग्छन् तब उनी सचेत रहन्छिन्।
‘हामीसँगै जिम गर्छौं किनभने हाम्रो घरमा एकमात्र जिम छ,’ उनले भनिन्, ‘त्यहाँबाट मैले धेरै कुरा सिकेको छु।’
‘उनले मलाई सिकाउँछन्, प्रेरणा दिन्छन्। अन्त्यमा, तपाईं जे देख्नुहुन्छ तपाईं त्यसको प्रतिबिम्ब हुनुहुन्छ र म उनलाई देख्छु,’ रोड्रिगेज भन्छिन्, ‘म पहिले पनि स्पोर्टी र स्वस्थ थिएँ तर अहिले अझै राम्रो भएको अनुभव भइरहेको छ। सबै कुराका पछि क्रिस्टियानो रोनाल्डो जो छन्।’
‘उनी मेरो प्रेरणा हुन्।’