शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • निगमको ट्यांकरबाट भारतीय भूमिमै चोरी हुन थाल्यो पेट्रोल

निगमको ट्यांकरबाट भारतीय भूमिमै चोरी हुन थाल्यो पेट्रोल

‘निगमका ट्यांकर रक्सौलस्थित रेल्वे लाइन छेउछाउका बस्तीमा लगेर रोकिन्छ। त्यहींबाट पेट्रोल निकालेर बिक्रीवितरण हुन्छ।’
 |  आइतबार, फागुन १६, २०७७

जियालाल साह

जियालाल साह

आइतबार, फागुन १६, २०७७

पर्सा– नेपाल आयल निगमको ट्यांकरबाट भारतीय भूमिमा पेट्रोल चोरी हुने गरेको पाइएको छ। 

triton college

भारतको बरौनीबाट पेट्रोलियम लोड गरेर ल्याउने नेपाली ट्यांकरका चालक, सहचालक र तस्करको मिलोमतोमा पेट्रोल चोरी हुने गरेको हो।

सीमापारि रक्सौल रेल्वे लाइन छेउछाउका बस्तीमा ट्यांकर पार्किङ गरेर पेट्रोल चोर्ने गरिएको प्रत्यक्षदर्शीले बताए।

सीमावर्ती क्षेत्रको नेपाली इलाकामा भने विगतदेखि नै पेट्रोलियम चोरी हुँदै आएको छ। 

अहिले नेपालमा भन्दा भारतीय बजारमा पेट्रोलको मूल्य सस्तो छ। नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर ११२ रुपैयाँ ५० पैसा छ भने भारतमा १८७ नेपाली रुपैयाँ पर्छ। 

corrent noodles
Metro Mart

डिजेलको मूल्य नेपालमा प्रतिलिटर ९५ रुपैयाँ ५० पैसा छ भने भारतमा १२७ नेपाली रुपैयाँ पर्छ।  नेपालमा भन्दा भारतमा पेट्रोल प्रतिलिटर झन्डै ३५ रुपैयाँ र डिजेल झन्डै ४१ रुपैयाँ महँगो छ।

त्यसैले पनि भारतीय भूमिमा पेट्रोल चोरीको क्रम बढेको हो। डिजेल भने मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट आयात हुन्छ।

विगतमा वीरगन्जका पेट्रोलियम व्यवसायीले रक्सौलस्थित भारतीय आयल कर्पोरेसनको डिपोबाट पेट्रोलियम पदार्थ लोड गरी भन्सार प्रक्रिया पूरा गरी सीधै आफ्नो पम्पमा ट्यांकर ल्याउँथे। 

जनवरी १६ देखि त्यहाँबाट लोड गर्ने कार्य बन्द गरी बरौनीबाट सीधै पेट्रोलियम पदार्थ आउने गरेको छ। ती ट्यांकर निगमको प्रादेशिक कार्यालय अमलेखगन्ज जानुपर्छ।

तर ती ट्यांकर सरासर नेपाल प्रवेश नगरी सीमावर्ती सहरका बस्तीतिर छिर्ने गरेका छन्। एक प्रत्यक्षदर्शीले भने, ‘निगमका ट्यांकर रक्सौलस्थित रेल्वे लाइन छेउछाउका बस्तीमा लगेर रोकिन्छ। त्यहींबाट पेट्रोल निकालेर बिक्रीवितरण हुन्छ।’ 

नेपाल सरकारबाट मान्यता प्राप्त प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) कागज लिएर पुगेका ट्यांकरले मात्रै बरौनीमा पेट्रोल लोड गर्न पाउँछन्। 

सीमावर्ती क्षेत्रमा सञ्चालित पेट्रोल पम्पबाट तस्करहरूले जर्किनमा पेट्रोलियम पदार्थ किनेर भारतमा तस्करी गर्ने प्रवृत्ति पुरानै हो। 

कतिपयले भारतीय नम्बरको मोटरसाइकलमा फुल ट्यांकी हालेर भारतमा लगेर बेच्ने गरेको पेट्रोल पम्पका कर्मचारी बताउँछन्। 

सीमावर्ती क्षेत्रका नेपाली बजारका पेट्रोल पम्पमा जर्किन बोकेर पेट्रोलियम पदार्थ किन्न आउने भारतीय पनि प्रशस्त भेटिन्छन् ।

निगमको वीरगन्जस्थित शाखा कार्यालयका प्रमुख मनोजकुमार ढकाल पेट्रोलिम पदार्थ किन्ने र आयात गर्ने सबै कार्य प्रादेशिक कार्यालयले हेर्ने भएकाले चोरीका सम्बन्धमा केही बताउन नसक्ने बताउँछन्। 

उनी भन्छन्, ‘बरौनीबाट लोड भएर आएका ट्यांकरबाट भारतीय सीमावर्ती सहरमा चोरी भइरहेको विषयमा उपल्लो स्तरका कर्मचारीको पहलमा न्यूनीकरण गर्नुपर्छ।’ 

निगम प्रादेशिक कार्यालय अमलेखगन्जका प्रमुख भरतप्रसाद रेग्मी विगत तीन महिनायता पेट्रोल चोरीको घटना न्यूनीकरण भएको दाबी गर्छन्। 

तीन महिनायता नेपाली ट्यांकरबाट पेट्रोलियम पदार्थ चोरी नभएको उनको भनाइ छ। 

केही दिनअघि भारतीय सीमावर्ती सहरमा ट्यांकरबाट पेट्रोल चोरी भइरहेको घटनाबारे जानकारी आउनेबित्तिकै निगमले एक दर्जनभन्दा बढी ट्यांकरका चालकलाई कारबाही गरेको थियो। 

रेग्मीले भने, ‘उनीहरूलाई एक वर्षसम्म निगमभित्र प्रवेश गर्न नदिने लगायतका कारबाही गरेपछि तेल चोरीका घटनामा कमी आएको छ।’

नेपालबाट भारततर्फ भइरहेको पेट्रोलियम तस्करी नियन्त्रणमा कडाइ गरिएको  भारतीय सीमा सुरक्षा बल (एसएसबी) का अधिकारी बताउँछन्। 

एसएसबी ४७ बटालियन कमान्डेन्ट प्रियव्रत शर्माले पेट्रोल तस्करी रोक्न निगरानी बढाएको बताए। 

उनले भने, ‘जर्किनमा पेट्रोलियम पदार्थ बोकेर सीमामा ओहोरदोहोर गर्नेलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएका छौं।’ 

पर्सा र बारामा गरी ११४ वटा पेट्रोलपम्प छन्। सीमावर्ती क्षेत्रको वीरगन्ज महानगरपालिका क्षेत्रमा २० देखि २५ वटा पेट्रोल पम्प सञ्चालनमा रहेको निगमको तथ्यांक छ। 

 

प्रकाशित: Feb 28, 2021| 06:19 आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।