वीरगञ्ज - पर्सा प्रहरीले हुण्डी कारोबारको आरोपमा दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल-२५ बस्ने ४० वर्षीय संजयकुमार गुप्ता र सोही ठाउँका ३७ वर्षीय बिनोद कुमार रहेका छन्।
उनीहरूलाई प्रहरीले वीरगन्ज महानगरपालिका-१६ रजतजयन्ती चोकमा चेकजाँचको क्रममा स्रोत खुल्न नसकेको सात लाख नेपाली रूपैयाँसहित पक्राउ गरेको हो।
बी.आर. ०५ एरुडि ६८६९ नम्बरको पल्सर मोटरसाइकलमा सवार भई भारतको रक्सौलबाट नेपालतर्फ आइरहेको अवस्थामा नियमित चेकजाँचको क्रममा बिहीबार राति रकमसहित दुवैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पक्राउ परेका दुवैजनालाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ विपरीतको कसूरमा शुक्रबार पर्सा जिल्ला अदालतको आदेशले ५ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ।