काठमाडौं- केही खेलाडी घाइते भए पनि आजको खेलमा बाँकी खेलाडीका साथ रियल मड्रिडले जित निकाल्न सक्ने प्रशिक्षक जिनेदिन जिदानेले बताएका छन्।
रियलले च्याम्पियन्स लिगअन्तर्गत आज राति इटालियन क्लब एटलान्टासँग अन्तिम १६ को पहिलो लेगमा उसकै मैदानमा खेल्दैछ।
यो खेलका लागि फ्रेन्च प्रशिक्षकको स्क्वाड रियलका मात्र ११ सिनियर खेलाडी फिट छन्। कप्तान सर्जियो रामोसका साथ केही खेलाडी मैदान बाहिर भए पनि बाँकी खेलाडीसँग खुसी रहेको जिदान बताउँछन्।
‘तपाइँहरु मलाई इन्ज्युरीबारे सोध्नुहुन्छ तर मसँग जति खेलाडी उपलब्ध छन्। म तिनीहरुसँग नै खुसी छु,’ उनले भने, ‘म बाँकी खेलाडीलाई जोखिममा राख्न सक्दिनँ।’
उनले थपे, ‘सँधै जितका लागि बाहिर जानेछौं र जितभन्दा कमले हामीलाई कहिल्यै शन्तोष दिँदैन।’
यता एटलान्टाका प्रशिक्षक जियन पियरो गास्पेरीनीले ठट्टा गर्दै आफू जिदानभन्दा धेरै खुसी रहेको बताएका छन्। उनी खुसी हुनूको कारण चाहिँ जिदान आफैं मैदानमा नखेल्ने भएकाले रहेको पनि बताएका छन् जसलाई पत्रकार सम्मेलनमै जिदानले पनि स्वीकार गरेका छन्।
जिदानले गास्पेरीनीलाई जवाफ फर्काए, ‘भाग्यवस् म आज खेल्दिनँ र म सक्दिन पनि। खेलाडीका रुपमा म अब सकिसकेँ। जब म युभेन्टसमा खेल्थेँ गास्पेरीनी युवा प्रशिक्षक थिए।’
उनले थपे, ‘उनले एटलान्टाका लागि धेरै गरेका छन्। त्यसैले एक प्रशिक्षकका हिसाबमा म उनलाई सम्मान गर्छु।’
जिदानले एटलान्टाका खेलाडी शारीरिक रुपमा बलिया र आक्रामक माइन्ड भएको बताएका छन्।
रियल र एटलान्टाबीचको खेल आज राति पौने दुई बजे इटालीमा हुँदैछ।