आईटीप्रति विद्यार्थीको आकर्षण कस्तो छ?
कोभिड–१९ को प्रभावपछि यसको आवश्यकता झनै बढेर गएको छ। सूचना प्रविधिकै कारण कोरोनाकालमा धेरै काम सम्भव भयो। अधिकांशले घरमै बसेर काम गरे। ‘वर्क फ्रम होम’ ले व्यापकता पायो। यो सबै आईटीले गर्दा भएको हो। जसले गर्दा विद्यार्थीमात्र नभएर आईटी शिक्षाप्रति अभिभावकको रुचि पनि बढाएको छ।
सूचना प्रविधि पढेका जनशक्तिको माग चाहिँ कस्तो छ?
केही वर्ष यता सरकारी, गैरसरकारी तथा निजी कम्पनीमा आईटी अध्ययन गरेका विद्यार्थीका लागि प्रशस्त रोजगारीको अवसर सृजना भएको छ। हरेक कार्यालय, उद्योगमा आईटी अनिवार्य छ। अहिलेको अवस्था र भविष्यलाई हेर्दा पनि आईटी पढेका जनशक्ति बेरोजगार हुनुपर्ने अवस्था छैन।
त्यसाेभए आईटी पढेका सबै विद्यार्थीका लागि स्वदेशमै अवसर छ?
नेपालमा आईटी उद्योगको बजार विस्तार हुने क्रममा छ। पछिल्लो समय त संसारको जुन कुनामा बसेको भए पनि जहाँको पनि काम गर्न सक्ने अवस्था छ। यसका जनशक्तिको दायरा फराकिलो छ। आईटी असीमित सम्भावना बोकेको क्षेत्र हो। त्यसैले स्वदेश, विदेश दुवैमा आईटी पढेका जनशक्तिको माग बढ्दो छ।
जागिरको हिसाबले निर्धक्क भएर आईटी अध्ययन गर्दा हुन्छ। सफ्टवेयर डेभलपमेन्ट बीएससी सीएसआईटी अध्ययन गरेका विद्यार्थीको प्रमुख रोजगारीको क्षेत्र हो। यो बाहेक बैंक, मोबाइल एप्लिकेसन, आईटी उद्योग, आईटी अनुसन्धान केन्द्र आदिमा काम गर्न सकिन्छ।
त्रिभुवन विश्वविद्यालयमा आईटी अध्ययन गर्ने विद्यार्थी बढी हुनुको कारण चाहिँ के हो?
त्रिविको कोर्स अन्यको तुलनामा समायानुकूल परिमार्जित छ। यसले बजारको मागलाई मध्यनजर गर्दै पाठ्यक्रममा परिमार्जन गरेको छ। केही विश्वविद्यालयमा तीन वर्षे कोर्स पनि सञ्चालनमा छन्।
त्रिविको चार वर्षे कोर्स भएकाले पनि यसको मान्यता विश्वभर समान हुन्छ। यसलाई ध्यान दिएर आईटीको नयाँ कोर्स निर्माण गरिएको छ– बीएससी सीएसआईटी र बीसीए।
बीएससी सीएसआईटी र बीसीएको पाठ्यक्रममा के फरक छ?
बीएससी सीएसआईटी र बीसीए दुवै सूचना प्रविधितर्फको जनशक्ति उत्पादन गर्ने विषय हुन्। केही समानता छ। विशेष गरेर विज्ञान संकायअन्तर्गत सञ्चालन भएको सीएसआईटी कम्प्युटरको हार्डवेयर र सफ्टवेयर डेभलपमेन्टसँग सम्बन्धित छ। सीएसआईटी तुलनात्मक रुपले बढी खर्चिलो पनि छ।
बीसीए नयाँ विषय र शुल्क पनि सहुलियत भएकाले मध्यमवर्गीय परिवारका विद्यार्थीले पनि अध्ययन गर्न सक्छन्। पढ्नकै लागि पनि सीएसआईटी भन्दा बीसीए अलि सहज हुन्छ। प्रोजेक्ट बेस्ड भएकाले विद्यार्थीले काम सिक्दै पढ्दै गर्न पाउँछन्।
आईटीको पाठ्यक्रम सबै हिसाबले पूर्ण छ की, केही परिवर्तन गर्नुपर्ने छ?
गुणस्तरीय शिक्षाका लागि विश्वविद्यालयले विदेशी शिक्षण संस्थाको अभ्यासलाई हेरेर अनुगमन र मूल्याङ्कनको शैली परिवर्तन गर्दा हुन्छ जस्तो लाग्छ। शिक्षकलाई विभिन्न खालका तालिममार्फत् प्रशिक्षित गर्नु पनि पर्छ। अरु त नयाँ कोर्स हो त्यसैले तत्काल परिवर्तन नगर्दा पनि हुन्छ जस्तो लाग्छ।
सगरमाथा कलेजको विशेषता चाहिँ के हो?
आईटी उद्योगसँग सहकार्य गरेर सगरमाथा कलेजले विद्यार्थीलाई अध्ययनकै क्रममा तालिम प्रदान गर्ने र इन्टर्नसिपका लागि पठाउने गर्छ। हामीले आईटीका एक्सपर्टहरूलाई पनि बेलाबेला कक्षामा अनुभव ‘सेयर’ गर्न बोलाउने गरेका छौँ। जसले गर्दा गुणस्तरिय शिक्षा पाउनेमा विद्यार्थी ढुक्क भए हुन्छ।
बीसीए र सीएसआईटी अध्ययन गर्न विद्यार्थीले गर्नुपर्ने तयारी केके हुन्? बीसीए र सीएसआईटी अध्ययन गर्न त्रिभुवन विश्वविद्यालयले लिने प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ। विद्यार्थीले कक्षा १२ उत्तीर्ण गरेपछि विज्ञान संकायका विद्यार्थीले ‘सि’ ग्रेड ल्याएमा सीएसआईटी अध्ययन गर्न पाउँछन्।
बीसीए अध्ययन गर्न सबै संकायका विद्यार्थीले पाउँछन्। कूल विद्यार्थी संख्याको १० प्रतिशत कोटा छात्रवृत्तिका लागि छुट्याइएको हुन्छ। सगरमाथा कलेजको कुरा गर्ने हो भने हामीले छात्राहरूलाई विशेष छात्रवृत्तिको व्यवस्था गरेका छौँ। सूचना प्रविधिको क्षेत्रमा महिला सहभागिता बढाउन हाम्रो कलेजमा छात्रालाई भर्ना शुल्क लाग्दैन।
कक्षा १२ मा विद्यार्थीले ल्याएको ग्रेड स्कोर र प्रवेश परीक्षाको स्कोरलाई हेरेर पनि हामीले योग्य विद्यार्थीलाई छात्रवृत्ति प्रदान गछौँ। कलेजले लिने मक टेस्टमा सहभागी हुने उत्कृष्ट पाँच विद्यार्थीले एकएक लाखका दरले छात्रवृत्ति पाउँछन्।
आईटी पढ्न खर्च चाहिँ कति लाग्छ?
सीएसआईटी अध्ययन गर्न सगरमाथा कलेजमा ८ लाख ५० हजार शुल्क तोकिएको छ। बीसीए अध्ययन गर्न ५ लाख शुल्क निर्धारण गरेका छौँ। पढाइमा अब्बल विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिएको छ। सेमेस्टर टप गर्ने विद्यार्थीले निःशुल्क पढ्न पाउँछन्। अन्यको हकमा कलेजअनुसार शुल्क थोरै तलमाथि होला।