हेटौंडा : राप्रपा अध्यक्ष कमल थापाले राजनीतिक स्थिरता र शान्तिका लागि चुनाव उपयुक्त हुने बताएका छन्।
उनले संसद् विघटन सम्बन्धी अस्पष्टता हटाउन सर्वोच्च अदालतले थप व्याख्या दिनुपर्ने पनि बताए।
‘प्रधानमन्त्री केपी ओलीको असफलता र स्वेच्छारिता अन्त्यका निमित्त पनि चुनाव आवश्यक छ’, हेटौंडा–१३ को पदमपोखरीमा मंगलबार आयोजित कार्यकर्ता भेलामा अध्यक्ष थापाले भने।
उनले सत्ताको लोभ देखायो भने कांग्रेस पनि जनताको नजरबाट खस्ने बताए। निषेधको राजनीतिले मुलुकलाई संकटतर्फ लैजाने भएकाले सबै उदार ढंगबाट अघि बढ्नुपर्ने भनाइ उनको छ।
उनले १४ वर्षको राजनीतिक रोडम्यापले निकास दिन नसकेको दाबी गरे। थापाले भने, अब ‘त्रुटिपूर्ण मार्गचित्र सच्याउनुपर्छ।’
गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विदेशीको एजेन्डा भएकाले त्यो भारी बिसाउनुपर्ने उनको धारणा थियो।
‘विदेशीको भरिया बन्ने होइन, अब मौलिक किसिमको राज्य व्यवस्था र प्रणाली कायम गरौं, जुन सहमतिमा आधारित होस्’, थापाले भने।
भ्रष्टाचार, बेरोजगारी र धर्म परिवर्तनले मुलुकलाई थप अधो गतितर्फ लैजाने भन्दै थापाले यो दुष्चक्रको अन्त्य जरुरी भएको बताए।