काठमाडौ– कर्मभूमि समाज र नेपाल बंगलादेश (एनबी) बैंकबीच कर्मभूमि समाजले सिफारिस गरेका व्यवसायहरूमा कर्जा लगानी गर्ने सम्झौता भएको छ।
हात्तीवन–१५ ललितपुरमा अवस्थित कर्मभूमि समाजले हातमा सीप भएकाहरूलाई उद्यमशील बनाउन बैंक तथा वित्तीय संस्थामार्फत् वित्तीयकरण सुविधा उपलब्ध गराउन मध्यस्थकर्ताको काम गर्दै आएको छ।
देशमा उद्यमशीलता प्रवर्द्धन गरी गरिबी निवारण तथा विपन्न क्षेत्रलाई माथि उकास्ने काममा क्रियाशील कर्मभूमि समाज र एनबी बैंकबीच साना, मझौला उद्यम (एसएमईज्), व्यावसायिक कृषि र पशुपालन कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारबाट फर्केकालाई परियोजना कर्जा, सहुलियतपूर्ण महिला उद्यमशीलता कर्जा र दलित समुदाय उद्यमशीलता कर्जा प्रदान गर्ने सहमति भएको हो।
कर्मभूमि समाजले कर्जाको आवश्यकता रहेका उद्यमी, व्यवसायी पहिचान गरी ऋण लिनेका तर्फबाट बैंकको मापदण्डअनुसारका कागजात, प्रस्ताव बैंक समक्ष पेश गर्नेछ।
कागजातहरूको पहिलो चरणको जाँचबुझ समाजले गर्नेछ। समाजले नेपाल राष्ट्र बैंकको निर्देशिकाले तोकेबमोजिम शर्तहरू पालना गरी कर्जाका लागि ऋणग्राहीका तर्फबाट उक्त कागजातहरू तथा ऋणीका बारेमा बैंकका लागि आवश्यक जानकारी पेश गर्नेछ।
ऋण लिने पक्ष र बैंकबीचको पुलको रुपमा समाजले ऋण लिने पक्षका क्रियाकलापहरू नजिकबाट अनुगमन गरी दुवै पक्षका बीच सहजकर्ताको भूमिका निर्वाह गर्नेछ।
ऋण लिने पक्षका नाममा कर्जा बुकिङ गर्दा समाजको सिफारिसमा भएको हुनेछ। तर कर्जा प्रवाह गर्दा बैंकले आफ्नो आन्तरिक कार्यविधि, जोखिम मूल्यांकन, नेपाल राष्ट्र बैंकको निर्देशिका तथा आफ्नो विवेक प्रयोग गर्ने सम्पूर्ण अधिकार बैंकमा निहित रहने सम्झौतामा उल्लेख छ।
कर्जा भुक्तानीको प्राथमिक दायित्व ऋणीको हुनेछ। कर्मभूमि समाजले कर्जाको भूक्तानी तालिका अनुसार साँवा, ब्याज तथा शुल्क भुक्तानीमा पूर्ण रूपमा सहयोग गर्नेछ।
सहुलियत कर्जासम्बन्धी सरकारको नीति तथा नेपाल राष्ट्र बैंकको निर्देशिकाअनुसार ब्याजदर र जोखिम बापतको शुल्क बैंकले निर्धारण गर्नेछ र राष्ट्र बैंकको निर्देशनअनुसार यो परिवर्तन हुन सक्नेछ। यसका साथै बैंकले वित्तीय साक्षरता कार्यक्रम सञ्चालनका लागि कर्मभूमि समाजलाई सहयोग गर्नेछ।
उक्त सम्झौतापत्रमा कर्मभूमि समाजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजु नेपाल र एनबी बैंकका एसएमई तथा रिटेल बैंकिङ प्रमुख सुदीन ढुङ्गेलले हस्ताक्षर गरेका छन्।