शनिबार, वैशाख ८, २०८१

क्रसिङकै बेला पाउन थाले उखु किसानले भुक्तानी

अहिले उखु क्रसिङको समय चलिरहेको छ र यो चैतसम्म चल्छ।
 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

काठमाडौं– उखु किसानले चिनी मिलबाट भुक्तानी नपाउने समस्या पुरानै भइसक्यो। भुक्तानी नपाएपछि किसानहरु आन्दोलनमा पनि उत्रिन्छन्। तैपनि विगतको सबै रकम पाउँदैनन्। यस वर्ष पनि गत वर्षसम्मको भुक्तानी नपाएको भन्दै उखु किसानले काठमाडौंमै आएर आन्दोलन गरे।

triton college

यस वर्ष भने उखु खरिदको भुक्तानी भने उद्योगीले क्रसिङको समयमै दिइरहेको किसानले बताएका छन्। अहिले उखु क्रसिङको समय चलिरहेको छ र यो चैतसम्म चल्छ। अहिले क्रसिङ भइरहेको उखुको मूल्य चिनी उद्योगीले समयमै भुक्तानी गरिरहेका उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए।

‘सरकारले चाहिँ क्रसिङ सकेको दुई महिनाभित्र भुक्तानी गरिसक्नु पर्ने भनेर कार्यविधि बनाएको छ। उद्योगीहरुले १५–१५ दिनमा भुक्तानी गरिराखेका छन्। एउटा उद्योगले मात्रै होइन, अहिले त सबै उद्योगले १५ दिनमै दिइरहेका छन्,’ उनले भने।

उखु उत्पादन घट्यो

अध्यक्ष मैनालीका अनुसार पछिल्लो समय उखुको उत्पादन घट्दै गएको छ। लागत मूल्य नपाउने भएपछि उखु खेतीबाट किसानहरु पलायन हुन थालेकाले उत्पादन घटेको मैनालीको भनाइ छ। ‘०६९–०७०मा नेपालमै २ लाख ८० हजार टन चिनी उत्पादन हुनेगरी उखु उत्पादन हुन्थ्यो,’ उनले भने, ‘अहिले १ लाख २० हजार टनमात्रै उत्पादन भइरहेको छ। उखु उत्पादन वर्षेनी घट्दै गइरहेको छ।’

corrent noodles
Metro Mart

उनका अनुसार ०६९ सालमा दैनिक ४० देखि ५० हजार क्विन्टल उखु क्रसिङ हुने गरेकोमा पछिल्लो समय १० देखि २० हजार क्विन्टलमात्र क्रसिङ भइरहेको छ। ‘उत्पादन लागत नउठ्ने भएपछि यो अवस्था आयो,’ उनी भन्छन्।

यस वर्ष कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५४४ रुपैयाँ निर्धारण गर्न गत मंसिरमै उद्योग मन्त्रालयमा प्रस्ताव पठाएको थियो। उद्योग मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाएपछि मन्त्रिपरिषदले स्वीकृत दिएमा सो मूल्य कार्यान्वयनमा आउने छ। तर, मन्त्रिपरिषदले स्वीकृति दिएको बारेमा कृषि तथा पशुपन्छी मन्त्रालय जानकार छैन।

मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले मन्त्रिपरिषदबाट स्वीकृत पाएपछि मन्त्रालयमा आउनुपर्नेमा अहिलेसम्म नआएको बताए। ‘उद्योगमा पठाएका थियौं। मन्त्रिपरिषदबाट पास भएपछि समर्थित मूल्य निर्धारणबारे कृषिमा जानकारी आउनुपर्ने हो। आएको छैन,’ सचिव कार्कीले भने।

उद्योगीले अहिले कृषि मन्त्रालयले गरेको प्रस्तावअनुसार ५४४ रुपैयाँ प्रतिक्विन्टलका दरले नै उखु खरिद गरिरहेका छन्। उद्योगीले समर्थन मूल्य ५४४ रुपैयाँ प्रतिक्विन्टलका दरले उखु खरिद गरेपछि त्यसमा ६५ रुपैयाँ प्रतिक्विन्टलका दरले सरकारले अनुदान दिन्छ।

अहिले उद्योगीले प्रतिक्विन्टल ४७० रुपैयाँदेखि ४८० रुपैयाँका दरले खरिद गरिरहेका मैनाली बताउँछन्। उक्त मूल्य आफूहरुको लागत भन्दा निकै कम भएको उनको भनाइ छ।

अध्यक्ष मैनालीका अनुसार उखुको उत्पादन घट्दै गएपछि उद्योगीले खरिदको परिमाण पनि घटाएका छन्। ‘अघिल्लो वर्ष ५७ लाख क्विन्टल खरिद गरेको एभरेष्ट सुगर मिलले यसपालि जम्मा २० लाख क्विन्टल क्रसिङ गर्ने भएको छ,’ मैनालीले भने, ‘इन्दुशंकरले १५ देखि १६ लाख क्विन्टल क्रसिङ गर्ने भनेको छ।’

यसअघि आर्थिक वर्ष ०७४–०७५ देखि गत वर्षसम्म उखुको मूल्य प्रतिक्विन्टल ५३६ रुपैयाँ रहेको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा उखु खेतीमा १ लाख परिवार आश्रित छन्।

नेपालमा भारत, पाकिस्तान, श्रीलङ्कालगायत देशको तुलनामा उखु उत्पादकत्व न्यून छ। सोही कारण उखु उत्पादनमा अत्यधिक लागत लाग्ने गरेको मन्त्रालयको अध्ययन प्रतिवेदनमा उल्लेख छ। नेपालमा प्रतिहेक्टर ४२ टन उत्पादकत्व छ। श्रीलङ्कामा ५५ टन प्रतिहेक्टर, पाकिस्तानमा ४२ टन र भारतमा ६८ टन प्रतिहेक्टर उत्पादकत्व छ।

प्रकाशित: Feb 22, 2021| 11:46 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्