बिहीबार, वैशाख १३, २०८१

यस्तो छ देउवाको 'कोर टिम'

'शेरबहादुर दाइ कोर टिममा सुझाव माग्नुहुन्छ। छलफल गर्नुहुन्छ। तर, निर्णयचाहिँ आफैं गर्नुहुन्छ,' उनी निकट एक नेता भन्छन्। उनका अनुसार सरकार वा पार्टी सञ्चालनमा देउवाको शैली यही हो।
 |  मंगलबार, साउन १९, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

मंगलबार, साउन १९, २०७८

काठमाडौं– प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा तुरुन्तै निर्णय लिन सक्ने राजनीतिज्ञ मानिन्छन्। कतिपय अवस्थामा तत्काल निर्णय लिइदिँदा त्यसको प्रभावबारे ख्यालै नगर्ने प्रवृत्ति विद्यार्थी कालदेखि नै रहेको उनका समकक्षीहरू बताउँछन्। त्यसैले त उनी थुप्रै पटक विवादमा परेका छन्। यद्यपि विरोधीले के भन्छन्, के भनिरहेका छन् भन्ने चासो रहँदैन देउवालाई। उनका समकक्षी भन्छन्, 'देउवाले आफ्ना विश्वासपात्रका कुरा सुन्छन्, तर आफैं निर्णय लिन्छन्। उनलाई कसले के भन्छ मतलबै हुँदैन।'

triton college

उनको कोर टिममै रहेर काम गरेका नेता पनि यो टिप्पणी नकार्दैनन्। 'शेरबहादुर दाइ कोर टिममा सुझाव माग्नुहुन्छ। छलफल गर्नुहुन्छ। तर, निर्णयचाहिँ आफैं गर्नुहुन्छ,' उनी निकट एक नेता भन्छन्। उनका अनुसार सरकार वा पार्टी सञ्चालनमा देउवाको शैली यही हो। 

अहिले देउवाको काँधमा पार्टी र सरकार सञ्चालन दुवै जिम्मेवारी छ। सरकार सञ्चालनका लागि उनलाई सचिवालय आवश्यक पर्छ। सरकारले गर्ने काममा प्रधानमन्त्रीको सचिवालयको ठूलो भूमिका रहने भएकाले यसले विशेष अर्थ राख्छ। 

पाँचौं पटक प्रधानमन्त्री बनेका देउवा आफ्नो सचिवालय बनाउने तयारीमा छन्। असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएकाले देउवाले यो साताभित्र सचिवालय बनाउने तयारी गरेको उनी निकट स्रोत बताउँछ। सचिवालयमा २०७४ सालमा प्रधानमन्त्री रहँदाकै व्यक्तित्वलाई ल्याउने सम्भावना छ। 'यो साताभित्र सचिवालयका केही महत्त्वपूर्ण पोस्टमा नियुक्त गर्ने तयारी छ। त्यसमा अघिल्लै कार्यकालमा सचिवालयमा रहेका व्यक्तिहरु पर्ने सम्भावना छ', स्रोत भन्छ। 

प्रमुख स्वकीय सचिव, स्वकीय सचिव, प्रेस संयोजक र परराष्ट्र सल्लाहकारमा यसअघिकै व्यक्तिले काम थालेकाले पनि देउवाले उनीहरूलाई नियुक्त गर्ने सम्भावना छ। देउवाले प्रमुख स्वकीय सचिवमा भतिजा भानु देउवालाई नै दोहोर्‍याउनेछन्। उनी यसअघि देउवा प्रधानमन्त्री रहँदा प्रमुख स्वकीय सचिव थिए। देउवा प्रधानमन्त्री नभएको समयमा पनि उनी स्वकीय सचिव थिए। भानुले सिंहदरबार गएर काम थालिसकेका छन्। यद्यपि नियुक्ति भने पाएका छैनन्। 

corrent noodles
Metro Mart

स्वकीय सचिवमा वीरेन्द्र थापाले काम सुरु गरिसकेका छन्। उनी अघिल्लो कार्यकालयमा पनि सोही पदमा थिए। प्रेस संयोजकका रूपमा गोविन्द परियार दोहोरिने सम्भावना छ। परियारले आफू आबद्ध संस्था काठमाडौं प्रेसबाट राजीनामा दिएर प्रधानमन्त्रीको प्रेस संयोजकका रूपमा काम थालिसकेका छन्। परियार अघिल्लो कार्यकालमा पनि सोही जिम्मेवारीमा थिए। देउवा प्रधानमन्त्री नरहँदा पनि परियारले उनको मिडिया हेर्दै आएका थिए। 

परराष्ट्र सल्लाहकारमा डा. दिनेश भट्टराईले काम थालेका छन्। देउवाको अघिल्लो कार्यकाल र सुशील कोइराला प्रधानमन्त्री हुँदा पनि भट्टराई परराष्ट्र सल्लाहकार थिए। देउवाले प्रमुख आर्थिक सल्लाहकारमा आर्थिक कूटनीतिज्ञ ज्ञानचन्द्र आचार्यलाई नियुक्त गर्ने तयारी गरेका छन्। उनी पूर्वपरराष्ट्र सचिवसमेत हुन्। यद्यपि आर्थिक सल्लाहकारमा योजनाका आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्माको नाम पनि चर्चामा छ।  

देउवाले प्रमुख राजनीतिक सल्लाहकार भने पार्टीको १४ औं महाधिवेशनपछि मात्रै नियुक्त गर्ने स्रोतको दाबी छ। महाधिवेशनमा मुख्य जिम्मेवारीमा नरहेका एक नेतालाई नियुक्त गर्ने योजना देउवाको छ। 

पार्टी सञ्चालन र महत्त्वपूर्ण निर्णय लिन देउवाको सदावहार कोर टिम छ। त्यसले देउवालाई महत्त्वपूर्ण राजनीतिक निर्णय लिन सघाउँछ। केही निर्णय लिनुपूर्व उनले कोर टिमका सदस्यसँग छलफल गर्ने गरेका छन्। तर, निर्णय भने देउवा आफैंले गर्ने गरेका छन्।

'पटक–पटक सरकारको नेतृत्व गरेकाले उहाँको ब्युरोक्रेसी, डिप्लोम्याटहरुसँग राम्रो सम्बन्ध छ। 'ट्रस्टी टिम' मा भएका हामीलाई उहाँले बोलाउनुहुन्छ। हामीले त मनमा लागेका कुरा गर्ने हो र उहाँका अन्तरंग कुरा सुन्ने मात्र हो। हाम्रा कुरा फिल्टर गरेर निर्णय लिने त उहाँले नै हो,' देउवाको कोर टिमका एक नेता भन्छन्। देउवाको कोर टिममा अहिले १२ जनाजति छन्। त्यसमा पनि करिब आधासँग मात्रै देउवाको 'ट्रस्टी टिम' मा छन्। जुन टिमले देउवालाई राजनीतिक सल्लाह दिने गरेको छ। प्रधानमन्त्री नियुक्त भएपछि देउवाले किचन क्याबिनेट बनाइसकेका छैनन्। 

कोर टिमले देउवालाई सत्ता र पार्टी सञ्चालनमा सल्लाह दिने गरेको छ। १३ औं महाधिवेशनमा सभापति जिताउन पनि यही टिमको भूमिका थियो। अब यो टिमको मुख्य जिम्मेवारी प्रधानमन्त्रीका रूपमा देउवालाई सफल बनाउने र आगामी महाधिवेशनबाट सभापतिमा पुनः जिताउनु हुने छ। 

शुक्रबार मात्रै सत्तारुढ गठबन्धनले सरकार सञ्चालनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई सहयोग गर्न भन्दै कार्यदल बनायो। कार्यदलको नेतृत्व कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पाए। खड्का तिनै नेता हुन्, जसले पछिल्लो समय देउवाका हरेक गतिविधिमा सघाउँदै आएका छन्। गठबन्धनमा हुने छलफल वा देउवाका व्यक्तिगत गत भेटघाटका सारथी उनै खड्का छन्। 

यस्तो छ देउवाको टिम 

डा. आरजु राणा देउवा:  डा. आरजु देउवाकी खास सल्लाहकार हुन्। देउवाका हरेक निर्णयमा पत्नी आरजुको भूमिका हुने गरेको छ। समानुपातिक सांसद बनिसकेकी राणा गत निर्वाचनमा कैलालीबाट निर्वाचन लडेकी थिइन्। देउवाले उत्तराधिकारीका रुपमा राणालाई अघि बढाउने विश्लेषण पनि हुने गरेको छ। 

विजयकुमार गच्छदार पार्टी छोडेर हिँडेका गच्छदारलाई देउवाले २०७४ सालमा पुनः कांग्रेसमा ल्याए। ललिता निवास प्रकरणमा विशेष अदालतबाट हालै धरौटीमा छुटेका गच्छदार पार्टीमा देउवाका विश्वासपात्र हुन्। गच्छदारले ०५९ सालमा देउवाले पार्टी विभाजन गरी नेपाली कांग्रेस प्रजातानि्त्रक गठन गर्दा समेत सहयोग गरेका थिए। देउवाले उपसभापति पद दिएर कांग्रेस भित्र्याएका गच्छदार अहिले देउवाको कोर टिमका प्रमुख नेता हुन्। 

गच्छदार राम्रो चुनावी रणनीतिकार हुनुको फाइदा देउवाले लिनेछन्। गच्छदार समूहले पाउने महाधिवेशन प्रतिनिधिको मत देउवाका लागि महत्त्वपूर्ण हुनेछ। 

पूर्णबहादुर खड्का पछिल्लो समय खड्का देउवाका खास सारथीका रुपमा देखा परेका छन्। १३ औं महाधिवेशनपछि देउवाले खड्कालाई पार्टीको महामन्त्रीमा मनोनीत गरेका थिए। खड्का अहिले सरकार सञ्चालनमा सहयोग गर्न भनेर सत्ता गठबन्धनले बनाएको कार्यदलको संयोजक बनेका छन्। देउवाका हरेक राजनीतिक भेटघाट र गतिविधिमा खड्काले सान्निध्यमा बसेर खड्काले काम गरिरहेका छन्। सरकार सञ्चालनमा त कार्यदलको हैसियतमा खड्काले देउवालाई सघाउने नै छन्। 

त्यसबाहेक १४ औं महाधिवेशनमा देउवालाई पुनः सभापति जिताउने मिसनमा खड्का लाग्नेछन्। देउवालाई पुनः सभापति बनाउने सन्दर्भमा आफ्नो कुनै सर्त नभएको खड्काले उनै देउवासँग बताइसकेका छन्। खड्काको त्यो वचनले पनि देउवाले खड्कालाई विश्वास पात्रका रूपमा अघि सार्ने प्रयास गरिरहेको कोर टिममा रहेका नेताहरु बताउँछन्। उपसभापति विमलेन्द्र निधि सभापति लड्ने घोषणासहित आफ्नो समूहबाट टाढिएपछि देउवाले खड्कालाई राजनीतिक भेटघाटमा सक्रिय गराउँदै आएका छन्। 

गण्डकी प्रदेशमा मनि्त्रपरिषद् विस्तार र उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णयप्रति खड्का असन्तुष्ट छन्। उनले सामाजिक सञ्जालमार्फत असन्तुष्ट व्यक्त गरेपछि देउवा उनीसँग रुष्ट रहेको स्रोतको दाबी छ।  

ज्ञानेन्द्रबहादुर कार्की  : देउवाले कार्कीलाई कानुनमन्त्रीको जिम्मेवारी दिएका छन्। कार्की देउवाका सुखदुःखका सारथी हुन्। नेविघसंघका पूर्वअध्यक्ष र पार्टी केन्द्रीय सदस्य कार्कीलाई देउवाले पटकपटक मन्त्री बनाइसकेका छन्। सञ्चारमाध्यममा खासै आउन नचाहने कार्की देउवाको खास टिमका प्रमुख सदस्य हुन्। 

देउवाका खास सल्लाहकारमध्येका एक कार्कीले लामो समयदेखि साथ दिइरहेका छन्। १३ औं महाधिवेशनपछि देउवाले कार्कीलाई महामन्त्रीमा मनोनीत गर्न खोजेका थिए। तर, पूर्णबहादुर खड्कालाई महामन्त्री बनाउनैपर्ने अवस्था आएपछि कार्कीले त्याग गरेका थिए। 

अहिले कार्कीलाई देउवाले कानुन मन्त्रालयको जिम्मेवारी सुम्पिएका छन्। कानुनमन्त्रीको हैसियतमा रहेर कार्कीले देउवा सघाउने त छँदैछन्, प्रधानमन्त्रीका रूपमा सफल बनाउने प्रयत्नसमेत गर्नेछन्। निवर्तमान प्रधानमन्त्री ओलीले गरेका असंवैधानिक काम सच्चाउने र यस्तै २०७४ सालमा देउवा नेतृत्वकै सरकारको अर्थमन्त्री हैसियतमा आफैं हस्ताक्षर गरेको एमसीसी परियोजनामा गराउने जिम्मेवारी कार्कीलाई सुम्पिएका छन्। त्यसबाहेक १४ औं महाधिवेशनबाट पुनः सभापति बन्ने मिसनमा कार्कीबाट देउवाले ठूलो सहयोग लिनेछन्। 

बालकृष्ण खाँड : खाँडलाई देउवाले गृह मन्त्रालयको नेतृत्व सुमि्पएका छन्। खाँड देउवाका खास सल्लाहकारमध्ये एक हुन्। तरुण दल र नेविसंघ हाँकेर पार्टीमा उदाएका खाँडलाई संगठनमा पकड राख्ने नेताका रूपमा लिइन्छ। निकटहरुका अनुसार देउवाले आगामी महाधिवेशनमा खाँडलाई महामन्त्रीमा अघि सार्ने योजना बनाएका छन्। २०५० सालदेखि देउवा–खाँड सम्बन्ध अटुट छ। खाँडले १३ औं महाधिवेशनमा देउवालाई सभापति जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। १४ औं महाधिवेशनमा खाँडको संगठनमा रहेको पकडले देउवालाई पुनः सभापति जिताउन सहयोग गर्ने नै छ। 

देउवा नेतृत्वको सरकारका  सामु आगामी निर्वाचन सम्पन्न गराउनुपर्ने दायित्व छ। निर्वाचनमा २०७४ सालमा पार्टीले गुमाएको साख फिर्ता ल्याउन खाँडले गृह मन्त्रालयमा रहेर काम गर्नेछन्।

प्रकाशशरण महत : महत समूहमा आलोचनात्मक चेत राख्ने नेता हुन्। उनी सभापतिका र प्रधानमन्त्रीका रूपमा देउवा सफल भएको हेर्न चाहन्छन्। लामो समय साथ दिँदै आएका महतलाई देउवाले पार्टीको सहमहामन्त्रीमा मनोनीत गरेका थिए। देउवाले कोरोना महामारीबाट परेको असरका बारेमा अध्ययन गर्ने जिम्मा उनै महतलाई दिएका थिए। देउवाले उनलाई यसअघि ऊर्जा, परराष्ट्र मन्त्री बनाइसकेका छन्। महत देउवाले बिगारेका काम सच्चाउन सिपालु नेताका रूपमा चिनिन्छन्। 

रमेश लेखक : कानुनी पृष्ठभूमिका लेखक बौदि्धक नेताका रूपमा चिनिन्छन्। देउवाले सबैभन्दा कठिन मानिएको कि्रयाशील सदस्यता छानबिनको जिम्मा लेखकलाई दिएका थिए। लेखक नेतृत्वकाे क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाइसकेको छ। सरकार सञ्चालनका लागि गठित कार्यदलमा पनि लेखक सदस्य छन्। कानुन पृष्ठभूमिका लेखकले देउवालाई कानुनी पाटोमा समेत सहयोग गर्दै आएका छन्।

मीन विश्वकर्मा : वामपन्थी पृष्ठभूमिबाट कांग्रेस राजनीतिमा प्रवेश गरेका विश्वकर्मा दलित समुदायलाई देउवा नजिक पुर्‍याउने भूमिकामा छन्। उनले देउवाको सन्देश अन्य नेताकहाँ पुर्‍याएर देउवाका पक्षमा माहोल बनाउने काम गर्दै आएका छन्। उनलाई देउवाले चौथो पटक प्रधानमन्त्री हुँदा वाणिज्य मन्त्रालयको जिम्मेवारी सुम्पिएका थिए। 

१३ औं महाधिवेशनमा देउवालाई सभापति जिताउन अन्य गुटका नेताकार्यकर्तासँग संवाद गर्ने जिम्मेवारी विश्वकर्मालाई दिइएको थियो। कुशलतापूर्वक जिम्मेवारी पूरा गरेका विश्वकर्मालाई देउवाले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिने चर्चा छ। प्रमुख सचेतक रहेका खाँड गृहमन्त्री बनेपछि विश्वकर्मालाई जिम्मेवारी पाउने स्रोतको दाबी छ। 

एनपी साउद : साउद विद्यार्थी राजनीतिदेखि नै देउवा निकट छन्। साउदलाई देउवाले पछिल्लो समय शुभेच्छुक संस्था समन्वय विभागको जिम्मेवारी दिएका छन्। 

यीबाहेक बौद्धिक नेता प्रदीप गिरि, वीरबहादुर बलायर, पुष्पा भुसाल र डिना उपाध्यायसमेत देउवाको कोर टिममा छन्। 

कोर टिममा बाहिरिए विमलेन्द्र निधि 

निधि पुष्पकमल दाहाल नेतृत्वको सरकारमा गृहमन्त्री रहेका बेला  आईजीपी नियुक्त प्रकरणमा देउवासँग ठाकठुक परेको थियो। त्यस बेला चिसिएको सम्बन्ध पछि पुनः सुमधुर बन्यो। फलस्वरूप देउवाले उनलाई उपसभापतिको जिम्मेवारी सुम्पिए।  तर, १४ औं महाधिवेशनमा आफैं सभापति लड्ने घोषणा गरेका निधि आहिले देउवाको कोर टिममा छैनन्। असार ५ गते देउवालाई भेटेरै सभापति लड्ने निर्णय सुनाएपछि देउवाले कोर टिमका कुनै पनि छलफलमा उनलाई बोलाएका छैनन्। 

त्यसैले देउवाले अहिले निधिलाई आफ्नो विश्वास समूहमा राखेका छैनन्। निधिसँग सम्बन्ध चिसिएपछि देउवालाई महामन्त्री खड्कालाई अघि सारेका छन्। 'विमल दाइ कोर टिमबाट बाहिरिनुभयो। उहाँको जिम्मेवारी अहिले पूर्णबहादुर दाइले पाउनुभएको छ,' कोर टिमका एक सदस्य भन्छन्। 

प्रकाशित: Aug 03, 2021| 13:45 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...