काठमाडौं- प्रतिनिधिसभा विघटनको विरोधमा बृहत् नागरिक आन्दोलनले आज शुक्रबार काठमाडौंको टुँडीखेल वरपर मार्च पास गरेको छ।
टुँडीखेलको गेटमा ताला लगाएर प्रर्दशनकारीलाई प्रवेश रोकेपछि महाकाल मन्दिरअगाडि सभा गरिएको थियो। सभालाई सम्बोधन गर्दै लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले तानाशाह डराएपछि आफूसँग भएको सबै शक्ति प्रदर्शन गर्न थाल्ने अभिव्यक्ति दिए।
यस्तो छ सभामा संग्रौलाले दिएको अभिव्यक्ति :
टुँडिखेलमा आज नागरिकलाई प्रवेश गर्न दिइएको छैन। नागरिकभन्दा धेरै प्रहरी परिचालन गरेर गेटमा ताला लगाएर नागरिकलाई प्रवेश रोकियो। तानाशाहाले यो सम्झनु कि नागरिक आन्दोलनमा नागरिकको टाउको गनेर शक्तिको मापन हुँदैन। नागरिक आन्दोलनको शक्ति, प्रहरी तथा सुरक्षाकर्मीको टाउको गनेर शक्तिको मापन हुन्छ। यो सभामा जति नागरिकको सहभागिता छ त्योभन्दा बढी प्रहरीको सहभागिता छ। त्यसबाट पनि थाहा हुन्छ नगरिकको शक्ति। तानाशाह जब डराउँछ, नागरिकको अगाडि आफूसँग भएको सबै शक्ति देखाउँछ। प्रहरी, सेनालगायत सम्पूर्ण हातहतियारसहित जनतासामु पठाउँछ। नागरिक आन्दोलन सबैको प्रयत्नबाट बलियो भइरहेको छ। काठमाडौं शहर देशको संघीय राजधानी हो। कुनै पनि सभ्य शहरका आफ्नै विशेषता, गुणहरु हुन्छन्।
उक्त गुणमा सभ्य शहरमा एउटा पेटी हुन्छ जहाँ नागरिकहरु एक अर्कालाई नछोई हिँड्न सक्छन्, त्यस्तो शहर जहाँ साइकल चलाउने लेन हुन्छ त्यहाँ नागरिकहरु ढुक्कसँग साइकल चलाउँछन्, प्रत्येक सभ्य शहरमा सडकको दाँयाबाँया रुखहरु हुन्छन्, रुखले शहरलाई शोभा दिनुको साथै नागरिकलाइ स्वस्थ्य राख्छ।
प्रत्येक सभ्य शहरमा पुष्पबाटिका हुन्छन्, जहाँ मानिसहरु आराम तथा मनोरञ्जन गर्छन्। प्रत्येक सभ्य शहरमा व्यवस्थित पुस्तकालय तथा नाट्य गृह हुन्छ तर यो काठमाडौं शहरमा माथि भनिएका कुनै पनि कुरा छैनन्। जे जे हुनुपर्ने त्यो छैन, जे जे नहुनुपर्ने त्यो छ। हुन नपर्ने एउटा मुख्य कुरा राजधानीको बीचमा जंगी अड्डा छ। कुनै पनि सभ्य शहर तथा बाक्लो बस्तीको बीचमा जंगी अड्डा हुँदैन। किनकी जंगी अड्डामा बारुद, बम, तोप, मेसिनगन हुन्छ जसले विनाश गर्छ।
संसारभर तानाशाहरु जहिले पनि जनतासँग डराउँछन्। जब तानाशाहाहरु जनतासँग डराउँछन्, उनीहरुले आफ्नो दरबारको बलेसी मुनि प्रहरी तथा सेनाको जमात लगाउँछन्, जंगी अड्डा लगाउँछन्। यो शहरको बीचको जंगी अड्डा पनि सोहीअनुसार बनाएको हो।
कुनै पनि देशको सेना बस्तीभन्दा धेरै टाढा बस्छ। सेना सामान्यत नागरिकले देख्नेगरी कहिल्यै पनि आउँदैन। दुईअवस्थामा मात्रै सेनाबाहिर देखिन्छ। एक, प्राकृतिक विपत्तिमा राहत, सुविधाको निम्ति देखिन्छ वा गृहयुद्ध भएमा सेना देखिन्छ। सैनिक जवानहरु बिहान बिहानै आई लभ यु भन्दै कुद्दैनन्।
यो सभा पनि नेपालका शासकको बबार्दको प्रतिक हो। यो सभा शहरको असभ्यताको प्रतिक हो। आज नागरिकले खेल्ने, डुल्ने, टुँडिखेल कब्जा गरिएको छ।
हामी आज टुँडिखेल हाम्रो हो भन्न आएका छौँ, केही समयअगाडि अघिल्लो नागरिक आन्दोलनमा रत्नपार्क हाम्रो हो भन्न आएका थियौँ। हामीले टुँडिखेल नागरिकको हो भन्छौँ तर नागरिकलाई त्यहाँ प्रवेश गर्न दिइँदैन। हामीलाई टुँडिखेल प्रवेश गर्न दिइएको छैन। तर टुँडिखेलभित्र कुकरहरु स्वच्छन्द रुपमा खेलिरहेका छन्। हामी नागरिकलाई राज्यले कुकुरको जति अधिकार पनि दिएन। नागरिकको डरले बालुवाटारको आदेशमा टुँडिखेलमा सबै ढोका बन्द गरिदियो। आज हामीले टुँडिखेल नागरिकको भनेर भन्यौं मात्रै तर भोली टुँडिखेल नागरिकको हुनेछ। आज टुँडिखेलको ढोका नागरिकलाई खोलिएन्, अब पनि बन्द गरिए टुँडिखेलको ढोका फोरिनेछ। अब टुँडिखेललाई पार्क बनाउनुपर्छ।
यो सेना जहाँ राखिएको छ यो सेना राख्ने ठाउँ होइन। सेनालाई शहरको बीचबाट सार्नैपर्छ। टुँडिखेल नागरिकको हो, टुँडिखेलबाट जंगी अड्डा हटाउनुपर्छ, जंगी अड्डा आँफै हटेन भने जंगी अड्डालाई लखेटिनेछ। अब टुंडिखेल पार्क बन्नेछ, पुष्प बाटिका बन्नेछ, काठमाडौंको शोभा बन्नेछ।
अहिले प्रहरीको टाउकोको संख्या धेरै देखाएर शक्तिको दम्भ देखाउन खोजेको छ। म फेरि पनि भन्छु, तानाशाहहरु जब डराउँछ, आफूसँग भएको सबै प्रहरी, सेना, तोप सडकमा निकाल्छ।