काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयमा नै निर्वाचन हुने भन्दै कोही पनि अलमलमा पर्नु आवश्यक नरहेको बताएका छन्।
७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस २०७७ को अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘अहिले मुलुक नयाँ निर्वाचनतर्फ अग्रसर भएको छ। नयाँ निर्वाचनको तयारीका लागि भूमिका जिम्मेवारीपूर्वक वहन गर्न म सबैलाई आग्रह गर्दछु,’ उनले भने, ‘कहींकतैबाट अलमल गर्ने क्रियाकलाप हुनु हुँदैन। निर्धारित समयमै निर्वाचन हुनेछ।’
उनले मुलुकलाई अस्थिरताबाट जोगाउन र स्वस्थ जनमतबाट अघि बढाउनका लागि निर्वाचन अपरिहार्य भएको बताए।
उनले सरकारले संविधान र लोकतन्त्रलाई कमजोर हुन नदिने भन्दै सानातिना मतभिन्नता छाडेर बृहत् राष्ट्रिय हितमा लाग्नु आवश्यक रहेको बताए।
‘अलमल गर्नुपर्ने मतभेद राख्नुपर्ने, तनावयुक्त हिसाबले काम गर्नु आवश्यक छैन,’ उनले भने, ‘उपलब्धिलाई रक्षा गर्नुपर्नेछ।’
उनले शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन नसकेका सबैलाई वार्ताका माध्यमबाट राष्ट्रिय हितमा जोडिन आग्रह गरे।