काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले वैदेशिक हस्तक्षेप बढिरहेको बताएका छन्।
उनले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘देश गम्भीर संकटबाट गुज्रँदै छ। संविधान र लोकतन्त्रमाथि मात्र प्रहार भइरहेको छैन, पुनः वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको छ।’
उनले सत्तास्वार्थले अन्धा भएका निरंकुश तत्त्वबाट विदेशी शक्तिलाई आमन्त्रण गर्ने र तिनको आडमा अघि बढ्ने प्रवृत्तिको पुनरावृत्ति भइरहेको बताएका छन्।
उनले भने, ‘विदेशी शक्तिहरू कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट कसरी आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ भनेर सूक्ष्म व्यवस्थापनमा चासो दिँदै क्रमशः हस्तक्षेप बढाइरहेका छन्।’
उनले प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गर्न तथा राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न सबैलाई एकजुट हुन अपिल गरेका छन्।