मंगलबार, वैशाख ११, २०८१

दिगोपनको पर्खाइमा 'पुस्तक कुना'

‘विद्यार्थीले कोर्सको भन्दा पुस्तक कुनामा राखिएको किताब रुचिका साथ पढ्ने गरेका छन्।’ 
 |  बुधबार, फागुन ५, २०७७

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, फागुन ५, २०७७

पाठ्यपुस्तकबाहेक अन्य पुस्तक पढ्दा बालबालिकामा अतिरिक्त ज्ञान बढ्छ। उनीहरूमा पठन संस्कृतिको विकास हुन्छ। त्यसैले सरकारी विद्यालयमा सञ्चालित पुस्तक कुना प्रभावकारी बनेको छ। तर यसको दिगोपनबारे स्वयम् विद्यालय नै अनभिज्ञ छन्।

triton college

विराटनगर– मोरङको मिक्लाजुङमा ३८ वटा सामुदायिक विद्यालय छन्। सबै सामुदायिक विद्यालयका बालकक्षा देखि ३ सम्म पुस्तक कुना (बुक कर्नर) सञ्चालनमा छ। 

गाउँपालिकाले विद्यालयलाई अनिवार्य पुस्तक कुना राख्न निर्देशन दिएपछि व्यवस्थित रूपमा सञ्चालन भइरहेको छ। तर पुस्तक कुनालाई थप व्यस्थित गर्ने वा मिनी लाइब्रेरी सञ्चालन गर्ने भन्नेबारे विद्यालय नै अन्योलमा छन्।

मिक्लाजुङ–६ को जलेश्वरी आधारभूत विद्यालयले बुक कर्नर (पुस्तक कुना) सञ्चालन गरेको तीन वर्ष भयो। विद्यालयमा पुस्तक कुनाकै लागि बजेट छैन। त्यसैले विद्यालयले यसलाई प्राथमिकतामा राखेन। 

स्थानीय तहको निर्देशन र दातृ निकायको सहजीकरणपछि विद्यालयले २०७५ देखि बालकक्षादेखि तीन सम्म पुस्तक कुना बनायो। 

corrent noodles
Metro Mart

पुस्तक कुनाप्रति विद्यार्थीको आकर्षण बढेपछि आफ्नै पहलमा ५ कक्षासम्म लगिएको प्रधानाध्यापक लोकनाथ रिमालले बताए। विद्यार्थीमा पठन संस्कृतिको विकास हुँदै गएको रिमालको भनाइ छ। 

कक्षा–कक्षामा विद्यार्थीका रोजाइका पुस्तक भएपछि शिक्षकको अनुपस्थितिमा पनि विद्यार्थी कक्षा बाहिर ननिस्कने गरेको उनले बताए। कक्षा २ मा अध्ययनरत मुना भण्डारीले विद्यालयमा पढेको कथा घरमा लगेर सुनाउने गरेको बताइन्।  रिमालले भने, ‘पुस्तक कुना प्रभावकारी हुँदाहुँदै पनि दिगोपनाका लागि केही गरेका छैनौं।’

मिक्लाजुङ–५ को चन्द्रमा आधारभूत विद्यालयमा कक्षा ३ सम्म पुस्तक कुना सञ्चालन भएपछि विद्यार्थीमा पठन संस्कृति बढेको प्रधानाध्यापक हरिप्रसाद दाहालले बताए। 

उनले भने, ‘विद्यार्थीले कोर्सको भन्दा पुस्तक कुनामा राखिएको किताब रुचिका साथ पढ्ने गरेका छन्।’ 

दाहालले पनि पुस्तक कुनाको दिगोपनका लागि योजना नबनाएको बताए। उनले भने, ‘दिगोपनाबारे सोचिएकै छैन।’ विद्यालयले कक्षा ५ सम्म पुस्तक कुना राख्ने योजना भने बनाएको छ। 

मिक्लाजुङ–६ को चन्द्रोदय आधारभूत विद्यालयले गत वर्षदेखि पुस्तक कुना व्यवस्थित गरेको छ। कक्षा–कक्षामा पुस्तक कुना राखेर रेकर्ड तालिका पनि टाँसिएको छ।

चार्ट बनाएर राखिएका कारण कुन विद्यार्थीले पढ्यो पढेन थाहा हुने प्रधानाध्यापक दुर्गा खड्काले बताए। 

विद्यार्थीलाई पठनमा रुचि राख्नका लागि पनि चार्ट बनाएर पढ्न दिने गरिएको उनको भनाइ छ। प्रभावकारी देखिए पनि विद्यालयले दिगोपनाका लागि योजना बनाएको छैन। 

खड्काले भने, ‘निरन्तरता दिने सोचेका छौं, दिगोपनाका लागि योजना बनाएका छैनौं।’

दातृ निकाय सक्रिय

पुस्तक कुना निर्माणका लागि सरकारले पठाएको रकम दुरुपयोग भएपछि दातृ निकायले हात हालेको छ। विश्व बैंक र वल्र्ड भिजन इन्टरनेसनलको सहयोगमा राष्ट्रिय सामुदायिक विकास केन्द्र विराटनगरले पुस्तक कुना व्यवस्थापनमा सहयोग गरिरहेको छ।

केन्द्रकी कार्यक्रम संयोजक शोभा बजगाईंका अनुसार पुस्तक कुनाका लागि आएको रकम शिक्षकको तलब लगायतका अन्य शीर्षकमा खर्च गर्ने गरको पाइएको थियो।

पुस्तक कुनामार्फत बालबालिकाको पूरक पाठ्यसामग्रीमा पर्याप्त पहँ‘च पुर्‍याउने कार्यक्रमको लक्ष्य रहेको बजगाईंले जानकारी दिइन्। 

विद्यालय र प्रकाशनगृह बीच सम्बन्ध स्थापना गरी पूरक सामग्रीको पहुँच वृद्धिका लागि किताब बजार डिजिटल प्लेटफर्म निर्माण गरिएको छ। प्लेटफर्ममार्फत मोरङका १६ स्थानीय तहका ५०२ विद्यालयले किताब अर्डर गरेको बजगाईंको भनाइ छ। 

उनले भनिन्, ‘किताब परियोजनाका तर्फबाट प्रोत्साहनस्वरुप किताब थपेर सरकारको पुस्तक कुना निर्देशिकाअनुसार न्यूनतम ५० शीर्षक पूरक सामग्री कक्षा १ देखि ३ सम्म पुगेको अवस्था छ।’

‘मिनी लाइब्रेरी’ को अवधारणा

पुस्तक कुना प्रभावकारी देखिएपछि गाउँपालिकाले ‘मिनी लाइब्रेरी’ को अवधारणा अघि सारेको छ।

हरेक कक्षाकोठामा रहेका पुस्तक कुनामा स्थानीय स्तरबाट पनि किताब संकलन गरेर राख्न थालिएको मिक्लाजुङ गाउँपालिकाका शिक्षा अधिकृत काशीनाथ खनालले बताए। 

विद्यार्थीलाई उपयोगी हुने विभिन्न पुस्तक नजिकको विद्यालयमा हस्तान्तरण गर्न स्थानीयवासीलाई आह्वान गरिएको छ। 

गाउँपालिकाले हरेक वर्ष प्रतिकक्षा १० वटा नयाँ पुस्तक थप गर्नैपर्ने कार्यविधि बनाएको छ। 

पुस्तक कुनालाई दिगो बनाउन योजना बनाएको शिक्षा अधिकृत खनालले बताए। पुस्तक कुना व्यवस्थित गर्न हरेक विद्यालयमा छुट्टै शिक्षक खटाइने योजना रहेको उनले बताए। 

उनले भने, ‘फोकल पर्सनलाई नियमित अभिमुखीकरण गर्नेछौं।’ विद्यालयको नियमित अनुगमन गर्ने, विद्यार्थीले रुचाइएका पुस्तकको सूचीकरण गर्ने काम भइरहेको खनालले शिक्षा अधिकृत बताए।

प्रकाशित: Feb 17, 2021| 06:18 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्