शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सांसदले छान्ने कार्यक्रममा प्राथमिकता पाएन स्वास्थ्यले

सांसदले छान्ने कार्यक्रममा प्राथमिकता पाएन स्वास्थ्यले

विगतमा ‘निर्वाचन क्षेत्र विकास कार्यक्रम’का नाममा सांसदलाई दिइँदै आएको बजेट अहिले ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ शीर्षकमा दिने गरिएको छ।
 |  मंगलबार, फागुन ४, २०७७

प्रेम चन्द

प्रेम चन्द

मंगलबार, फागुन ४, २०७७

काठमाडौं– गत आर्थिक वर्ष ०७६–०७७ मा प्रति निर्वाचन क्षेत्र ६ करोड रुपैयाँका दरले विनियोजन गरिएको स्थानीय पूर्वाधार विकास कार्यक्रमको बजेट यसवर्ष घटाइयो।

triton college

कोरोना महामारीका कारण स्वास्थ क्षेत्रको पूर्वाधार निर्माणमा आर्थिक समस्या रहेकाले यस वर्ष सो कार्यक्रमलाई निरन्तरता दिने वा नदिने बहसका बीच सरकारले प्रति निर्वाचन क्षेत्र ४ करोड रुपैयाँका दरले खर्च पाउने गरी बजेट विनियोजन गर्‍यो।

उक्त बजेट खर्चका लागि कार्यक्रम सञ्चालन कार्यविधि पनि संशोधन गरियो। कार्यविधि संशोधन गरेर सरकारले यस वर्षका कार्यक्रम कोभिड–१९ लगायत संक्रामक रोग नियन्त्रणका लागि पूर्वाधार निर्माणमा प्राथमिकता दिनुपर्ने व्यवस्था गरेको थियो।

गत कात्तिक ३ गते राजपत्रमा प्रकाशित कार्यविधिमा ‘स्थानीय पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्दा कोभिड–१९ वा यस्तै संक्रामक रोगबाट संक्रमितको पहिचान गर्न आवश्यक पर्ने पूर्वाधार स्थापना गर्नमा प्राथमिकता दिनुपर्ने’ उल्लेख छ। 

त्यस्तै, संक्रामक रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि अस्पताल स्थापना, सञ्चालन र स्वास्थ्यसँग सम्बन्धित उपकरण व्यवस्था गर्न तथा स्वास्थ्य सुविधा उपलब्ध गराउने लगायत स्वास्थ्य पूर्वाधार आयोजना छनोटलाई प्राथमिकता दिनुपर्ने कार्यविधिमा व्यवस्था छ। कार्यविधिअनुसार स्वास्थ्य चौकी, प्रसूति भवन तथा ब्लड बैंक स्थापनाका आयोजना छनोटमा प्राथमिकता दिनु पर्नेछ।

corrent noodles
Metro Mart

काठमाडौं जिल्लाका ९ वटा निर्वाचन क्षेत्रले छनोट गरेका योजना हेर्ने हो भने स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको देखिँदैन। १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा क्षेत्र नम्बर ९ ले भने जिल्ला समन्वय समितिमा यस वर्षका योजना पठाएको छैन।

बाँकी ९ वटा निर्वाचन क्षेत्रमा ३६ करोड रुपैयाँबराबरका योजना छन्। तीमध्ये २ करोड ७७ लाख २० हजार रुपैयाँबराबरका योजनामात्रै स्वास्थ्य क्षेत्रसँग सम्बन्धित छन्। स्वास्थ्य क्षेत्रमा छनोट गरिएका योजनाको लागत ७.७ प्रतिशतमात्रै हो।

स्वास्थ्य क्षेत्र जनप्रतिनिधिको प्राथमिकतामा नपरेको यसबाट प्रष्ट हुने जानकारहरु बताउँछन्। ‘स्थानीय पूर्वाधार विकास साझेदारीको कार्यक्रम स्वास्थ्य क्षेत्रसँग सम्बन्धित हुनुपर्ने प्रावधान भए पनि सांसदको प्राथमिकतामा परेको देखिएन,’ स्वास्थ सेवा विभागका पूर्व महानिर्देशक लक्ष्मीराज पाठक भन्छन्, ‘अस्पतालहरुमा उपकरण अभाव छ। कर्मचारी पर्याप्त छैनन्। एक–दुई जना नर्स राख्नलाई सांसदहरुले अलिअलि दिँदा पनि पुग्थ्यो। उपकरण खरिदका लागि पनि करोडौं रुपैयाँ चाँहिदैन।’

कार्यक्रम छनोटमा काठमाडौंका निर्वाचन क्षेत्र उदाहरणमात्रै भएको बताउँदै पाठकले गाउँतिरका सांसदले पनि स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा प्राथमिकता नदिएको बताए। ‘पहाडी क्षेत्रका स्वास्थ चौकीमा भए पनि एकजना नर्स राख्नलाई त्यति धेरै पैसा चाँहिदैन। प्राथमिकतामा नपरेको मात्रै हो,’ पाठकले भने।

काठमाडौं जिल्ला समन्वय समितिका अनुसार काठमाडौंका निर्वाचन क्षेत्रहरुमा ढल निर्माण, ज्येष्ठ नागरिक भवन निर्माण, राजयोग सेवा केन्द्र, पार्क निर्माण लगायत परम्परागत आयोजना नै छनोटमा परेका छन्।

निर्वाचन क्षेत्र नम्बर १ मा ४ करोड रुपैयाँबराबरको योजनामा ज्येष्ठ नागरिक भवन निर्माणदेखि चौतारो बनाउनेसम्मका योजना छन्। उक्त निर्वाचन क्षेत्रले काठमाडौं वडा नम्बर १० को वडा भवन परिसरमा पार्क निर्माणका लागि ५० लाख रुपैयाँको योजना छनोट गरेको छ।

त्यस्तै, वडा नम्बर ३१ मा पञ्चकुमारी मन्दिर जिर्णोद्धार एवं भौतिक पूर्वाधार सुधारमा ११ लाख ४० हजार रुपैयाँ र वाणगंगा ढुंगेधारा भौतिक पूर्वाधार सुधार शीर्षकमा १५ लाख, बलभद्र मार्ग अन्तर्गत सहायक मार्गहरुमा ढल स्तरोन्नति एवं सडक निर्माणमा २५ लाख रुपैयाँको योजना छनोट गरिएको छ। यीसहित विद्यालयको भौतिक पूर्वाधार सुधार, ढल निकासका योजना उक्त निर्वाचन क्षेत्रका भए पनि कार्यविधिमा प्राथमिकता दिइएअनुसार स्वास्थ्य क्षेत्रका योजना समेटिएका छैनन्।

निर्वाचन क्षेत्र नम्बर २ ले छनोट गरेका योजनामा भने कागेश्वरी मनोहरा मूलपानी नगर अस्पतालको पूर्वाधार विकासका लागि २० लाख रुपैयाँको योजना छनोटमा परेको छ। त्यसबाहेक सडक निर्माण, ढल निकास, मन्दिर कम्पाउण्ड वाल निर्माण, किरियापुत्री भवन निर्माणलगायत योजना सो निर्वाचन क्षेत्रमा छानिएका छन्।

निर्वाचन क्षेत्र नम्बर ३ ले छनोट गरेका योजनामा गोकर्णेश्वर नगरपालिका माथिल्लो गाम्चा स्वास्थ चौकी भवनबाट माथि सिँढी निर्माणमा १० लाख रुपैयाँ लागतको योजना छनोटमा परेको छ। सोही नगरपालिकामा स्वास्थ चौकी, प्रसूति भवन तथा प्रजनन् स्वास्थ्य सुधारसम्बन्धी आयोजनाहरुमा १३ लाख ४० हजार रुपैयाँ लागतको अर्को योजना पनि छ। बाँकी आयोजना ढल निर्माण, सडक स्तरोन्नति, धर्मशाला निर्माणका छन्।

निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत वडा नम्बर ८ मा स्वास्थ्य चौकी निर्माणका लागि ५३ लाख ४० हजार रुपैयाँ बराबरको योजना छनोटमा परेको छ। उक्त योजनाबाहेक यस निर्वाचन क्षेत्रका अधिकांश योजना सडक स्तरोन्नति र ढल निर्माणलगायत छन्।

क्षेत्र नम्बर ५ मा स्वास्थ्यसँग सम्बन्धित एउटा पनि योजना छनोटमा परेको छैन। सडक स्तरोन्नति, पार्क निर्माणलगायत योजना सो निर्वाचन क्षेत्रमा छानिएका छन्।

निर्वाचन क्षेत्र नम्बर ६ अन्तर्गत तारकेश्वर नगरपालिका वडा नम्बर १० मा सामुदायिक स्वास्थ केन्द्र भवन निर्माणका लागि २० लाख रुपैयाँ लागतको योजना छनोटमा परेको छ। बाँकी योजना ढल निर्माण र सडक स्तरोन्नति तथा मन्दिर निर्माणका छन्।

त्यस्तै, निर्वाचन क्षेत्र नम्बर ७ मा तारकेश्वर नगरपालिका वडा नम्बर ४ मा स्वास्थ्य पूर्वाधार विकास तथा ब्लड बैंक एप निर्माणका लागि १० लाख रुपैयाँको योजना छनोट गरिएको छ। बाँकी योजना सडक तथा ढल निर्माण, सीसीटिभी जडानलगायत छन्।

निर्वाचन क्षेत्र नम्बर ८ अन्तर्गत नागार्जुन नगरपालिकामा सामुदायिक आइसोलेसन वार्ड भवन निर्माण तथा व्यवस्थापनमा ५५ लाख ४० हजार, सोही नगरपालिकामा मेडिकल स्टेसन, हस्पिटल बेड, अक्सिजन क्यानोललगायत आवश्यक सामग्रीका लागि ९५ लाख रुपैयाँबराबरको योजना छनोटमा परेका छन्। निर्वाचन क्षेत्र नम्बर १० मा अधिकांश योजना मन्दिर निर्माणसँग सम्बन्धित छन्। स्वास्थ्य क्षेत्रका योजना उक्त निर्वाचन क्षेत्रबाट छनोटमा परेका छैनन्।

विगतमा ‘निर्वाचन क्षेत्र विकास कार्यक्रम’का नाममा सांसदलाई दिइँदै आएको बजेट अहिले ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ शीर्षकमा दिने गरिएको छ। यो कार्यक्रमको रकम दुरुपयोग भएको भनेर आलोचना पनि हुँदै आएको छ।

प्रकाशित: Feb 16, 2021| 05:47 मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।