बुटवल– प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेस रुपन्देहीले आज (सोमबार) भैरहवामा विरोधसभा गर्दैछ।
७७ वटै जिल्लामा एकसाथ विरोध सभा गर्ने कार्यक्रमअनुसार भैरहवामा सभा गर्न लागेको कांग्रेसले जनाएको छ। सभालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ।
भैरहवाको बुद्धचोकबाट र्याली आयोजना गरी नारायणपथ, मिलनचोक हुँदै हनुमान मन्दिरमा पुगेर विरोध सभामा परिणत हुने कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाकले जानकारी दिए।
नेकपाको दुवै समूहले बुटवलमा शक्ति प्रदर्शन गरेपछि भैरहवामा कांग्रेसले शक्ति प्रर्दशन गर्न लागेको जनाइएको छ।
सभालाई सभापति देउवासहित केन्द्रीय सदस्य बालकृष्ण खाँण, संघीय संसदका लेखा समिति सभापति भरत कुमार शाहलगायतका नेताहरुले सम्बोधन गर्नेछन्।