काठमाडौं– समान ५४ अंकका साथ दोस्रो स्थानमा रहेको लिल्ललाई गोलअन्तरका आधारमा पछि पादै साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) लिग १ को शीर्षस्थानमा फर्किएको छ।
शनिबार राति सम्पन्न खेलमा उसले निसलाई २–१ गोलअन्तरले हराउँदै शीर्षस्थानमा उक्लिएको हो।
पीएसजीको जितका लागि जुलियन ड्राक्जर र मोइसे किनले समान १–१ गोल गरे। खेलको २२ औं मिनेटमा गोल गर्दै ड्राक्जरले पीएसजीलाई अग्रता दिलाएका थिए।
यससँगै पहिलो हाफमा एक गोलले अघि रहेको पीएसजी दोस्रो हाफको सुरुमै बराबरीमा आएको थियो। खेलको ५० औं मिनेटमा रोनी लोपेजले गोल गरेपछि खेल १–१ को बराबरी भयो।
त्यसपछि प्रतिस्पर्धात्मक बनेको खेलको ७६ औं मिनेटमा गोल गर्दै किनले अग्रता फिर्ता ल्याए। किनको गोलका साथ पीएसजीले २–१ गोलको जित निकाल्यो।
पीएसजी २५ खेलबाट ५४ अंक बनाउँदै शीर्षस्थानमा उक्लिएको हो भने एक खेल कम खेलेको लिल्लको पनि समान ५४ अंक छ।
यता गएराति मोन्टेपिलरसँग आफ्नै मैदानमा हार बेहोरेको लियोन भने ५२ अंकका साथ तेस्रो स्थानमा छ।
पराजित मोन्टेपिलर ३६ अंकका साथ आठौं स्थानमा छ।