काठमाडौं - पर्साको वीरगन्जमा भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ।
नेपाली भूमिमा पसेर भारतीय तस्करले बालुवा तस्करी गर्न थालेपछि सशस्त्र प्रहरीले रोकेको थियो।
त्यही क्रममा ठूलो संख्यामा रहेका भारतीय तस्करहरूले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए।
शुक्रबार बिहान सशस्त्र प्रहरीको टोली गस्तीमा निस्केका बेला तस्करी रोक्ने क्रममा आक्रमण भएको थियो।
भारतीयको आक्रमणबाट तीनजना सशस्त्र प्रहरी घाइते भएका छन्।
सशस्त्र प्रहरी आयुष राय यादव, महेशप्रसाद यादव र सुमन वस्ती घाइते भएका हुन्।
उनीहरूको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए।
‘पहिलेदेखि नै भारतीय तस्करको समूहले त्यहाँ बालुवा तस्करी गर्दै आइरहेको थियो,’ उनले भने, ‘आज पनि तस्करी रोक्ने क्रममा आक्रमण भएको हो। हामीले तस्करको समूहलाई नियन्त्रणमा लिन खोज्दा उनीहरू भागे।’
नेपाली भूमिमा पर्ने खोलामा बालुवा तस्करी गर्ने क्रममा प्रहरीलाई देखेपछि ढुंगामुढा गर्नुका साथै बेल्चा कोदालो लिएर प्रहरीमाथि आक्रमण गरेका थिए।
बालुवा उत्खनन रोक्न शुक्रबार बिहान सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट पिडारीगुठी र महादेवपट्टीबाट सशस्त्र प्रहरीको २२ जनाको टोली खोलामा गस्ती गएको थियो।
सशस्त्र प्रहरीको टोलीले तीनवटा ट्याक्टर नियन्त्रणमा लिएको थियो। तर, नियन्त्रणमा लिइएका ट्याक्टर लिएर आउने क्रममा खोलामै ट्याक्टर भाँसिएपछि सशस्त्र प्रहरीले निकाल्ने प्रयास गरिरहेका बेला तस्कर र भारतीय गाउँलेको ठूलो संख्यामा आएको समूहले आक्रमण गरेको हो।
भारतीयहरूले दशगजा क्षेत्रमा रहेको ४२४ नम्बरको सीमा स्तम्भबाट पनि एक किलोमिटर नेपालतर्फको भूमिमै छिरेर ट्याक्टर र गाडामा बालुवा उत्खनन गरेर भारत लैजाने गरेका छन्।
यसअघि पनि बालुवा तस्करले सशस्त्र प्रहरीको पेस्तोल खोसेर लगेका थिए। ती सशस्त्र प्रहरीको हात पनि तस्करहरूले भाँचिदिएको स्थानीय नेसार अहमदले बताए।