विशेष समाचार

परेवा रहरमा निरन्तर 'उडिरहेको' तेस्रो पुस्ता

1617465877.JPG

काठमाडौं डिल्लीबजारका ४६ वर्षीय प्रविन खनालको दैनिक ६ घण्टा परेवा रेखदेखमा बित्छ। बैंकको जागिर छाडेर फुर्सदिलो भएका उनी धेरैजसो समय परेवासँगै बिताउँछन्। 

NLG Insurance
Sampoorna Oil

प्रविनले व्यावसायिक रूपमा परेवा पालन गरेका होइनन्। उनले त हजुरबादेखिको सोखलाई निरन्तरता दिएका हुन्। प्रविन भन्छन्, ‘हामी परेवा पालनका सौखिन मात्रै हौं।’ उनको घरमा अहिले ५ प्रजातिका १३५ वटा परेवा छन्। 

‘म दिनको ५–६ घण्टा परेवाको रेखदेखमा लाग्छु,’ प्रविन भन्छन्, ‘परेवाका लागि मासिक १० हजार जति खर्च हुन्छ।’

परेवालाई कोदो, गहुँ, मकै, धान, तोरी, चना, मुङी र थोरै मात्रामा भाङ पनि खुवाउँछन्। गञ्ज सरसफाइ गर्छन्।

प्रविनका दाजु प्रमोद पनि परेवाका सौखिन हुन्। प्रमोद हाल बेलायतमा चिकित्सा पेसामा संलग्न छन्। उनले लन्डनमा पनि परेवा पालनलाई निरन्तरता दिइरहेका छन्।

०००

डिल्लीबजारका गुणनाथ उपाध्यायलाई धेरैले ‘वनको सुब्बा’ भनेर चिन्थे। 

वन मन्त्रालयअन्तर्गतका कार्यालयमा सेवा अवकाश पाएका उपाध्यायले घरबारीमा विभिन्न बिरुवा लगाएका थिए। बगैंचामा सानो पोखरी बनाएर माछा पालेका थिए। 

उपाध्यायको रेखदेखमा घरमै जुरेली, च्याखुरा, तित्रा, मैना, बट्टाई, मुजुर हुर्किन्थे। सबेरैदेखि चराचुरुंगीको चिरबिरले घरको वातावरण मनोरम हुन्थ्यो। घरको वातावरण पन्छीमैत्री थियो।

उपाध्यायको विशेष सोख चाहिँ परेवा पालनमा थियाे। त्यसैले उनले विभिन्न प्रजातिका परेवा पाल्न थाले। उनको पहिचान फेरियो। ‘परेवा पाल्ने डिल्लीबजारका खनाल’का रूपमा चिनिए। 

परेवा पालनलाई छोरा मधुप्रसाद खनालले निरन्तरता दिए। नाति पुस्तामा आइपुग्दा पनि उनीहरूको सोख परेवा पालनमै छ। 

उड्ने क्षमता घट्दै

विश्वमा परेवाका ८ सयभन्दा बढी प्रजाति छन्। परेवालाई सौन्दर्य पन्छी (फेन्सी बर्ड), उडान पन्छी (रेसर बर्ड), हाई फ्लाएर र लो फ्लाएरका रूपमा वर्गीकरण गरिन्छ। परेवा र मलेवामा पनि भिन्नता छ।

‘हाम्रो घर वरपर पाइने चाहिँ मलेवा हुन्। राता आँखा हुने यी परेवा धेरै टाढा र बढी उचाइमा उड्दैनन्,’ प्रविन भन्छन्, ‘फेन्सी बर्डमा पारिजात, शिलाजित, लक्का, बदामीलगायतका प्रजाति पर्छन्।’ यस्ता प्रजाति सौन्दर्यका लागि पाल्ने गरिन्छ। यस्तै उडानका लागि पालिने परेवालाई रेसिङ बर्ड भनिन्छ।

‘अरू चरा प्रजाति खाना खोज्न, जोडी खोज्न उड्छन् भने हाई फ्लायर परेवा बिना उद्देश्य उड्छ,’ प्रविन भन्छन्, ‘यिनीहरूको उद्देश्य नै उड्नु हो।’

हाई फ्लाएर परेवाले आफ्नो गुँड छाड्दैनन्। यसले घरलाई कावा खाएर उचाइमा उड्छ। प्रविन भन्छन्, ‘विगतमा परेवा ११-१२ घण्टासम्म उड्थे। अहिलेका नयाँ प्रजातिमा शक्ति घटेर उडान दर ६-७ घण्टामा झरेको छ।’

नयाँ प्रजातिसँग ब्रिडिङ गरी विकसित परेवा प्रजातिमा उड्ने क्षमता कम हुँदै गएको प्रविन बताउँछन्। उनका अनुसार नश्ल छनोट गरेर 'ब्रिडिङ' गराउँदा राम्रो  नश्ल निस्कन्छ। 

नेपालमा रहेका परेवा भारतबाट आएका प्रजाति हुन्। बर्ड फ्लुको महामारी अघिसम्म भारतलगायतका देशबाट निर्बाध रूपमा परेवा ल्याउने गरिएको थियो। हाल विदेशबाट परेवा ल्याउन प्रतिबन्ध लगाइएको छ।

छिनाझप्टी बडो रमाइलो 

‘आकाशमा आँधी चलेको हुन्छ। त्यो ठाउँमा परेवालाई उड्न गाह्रो हुन्छ। त्यति माथिको दृश्य भुइँबाट राम्रोसँग देखिँदैन, दूरवीनले हेर्नुपर्छ, म दूरवीनले हेर्छु’, प्रविन भन्छन्।

परेवा पाल्दाको एउटा रमाइलो हो, बाजले आक्रमण गर्दाको दृश्य। उनी भन्छन्, ‘बाजले २८० माइल प्रतिघण्टाको गतिमा सय मिटर तल गोता लगाएर कावा खाइरहेको परेवाको आँखामा सूर्यको प्रकाश परेका बेला आक्रमण गर्छ।’ 

काठमाडौंमा सिकारी प्रजातिका चराहरु बोरी, बाज र जम्बलका कारण परेवा जोगाउन गाह्रो परेको प्रविन बताउँछन्।

‘सयवटा परेवामा ५–१० वटा मात्र बच्छन् अरू सबै बोरीले खाइदिन्छ,’ उनी भन्छन्, ‘तिनै जोगिएका परेवाबाट हामी मास्टर ब्रिड बनाउँछौं।’

उनले परेवा उडान प्रतियोगिताका लागि सयवटा परेवा तयार पारेका छन्। 

‘जंगलमा बाघको आफ्नो क्षेत्र भएजस्तै आकाशमा पनि बाजको क्षेत्र हुन्छ। बाघबाट बच्न मृग छड्के भागेजस्तै परेवा पनि छड्के पर्दै उड्छन्,’ प्रविन भन्छन्, ‘बाजहरूबीच झगडा हुँदा कहिलेकाहीँ परेवा उम्कन्छ। यो छिनाझप्टी पनि बडो रमाइलो देखिन्छ।’

बाजको गतिविधिलाई कागले जनाउ दिइरहेको हुन्छ। जब बोरी आउँछ तब काग कराउन थाल्छ।

‘स्पाई अफ द विन्ड’ अर्थात् आकाशको जासुसको उपाधि पाएको कागले बोरीको गतिविधि सूचित गर्नुको पनि आफ्नै स्वार्थ छ।

‘काग आफूले परेवालाई आक्रमण गर्न सक्दैन। बोरीले लगेको परेवा फुत्केला कि वा त्यो नभए पखेटालगायतका रहलपहल खान पाइने आसमा काग कराउँछ। उसले त्यसरी कराउनु हामीलाई चाहिँ परेवा जोगउने मौका हो,’ उनी भन्छन्।

बाजबाट बचाउन परेवालाई तालिम दिने गरेको प्रविन बताउँछन्। उनी भन्छन्, ‘आकाशमा बाज देखेपछि हामी सिठी बजाउँछौं र परेवा झन्डै नब्बे डिग्री कोणमा एकै वेगमा तल आइपुग्छ।’

२२ वर्ष बाँचेको परेवा

परेवाले वर्षमा चार पटक अण्डा पार्छ। दुई दिनको अन्तरमा दुईवटा अण्डा पार्छ। पहिले भाले, दोस्रो पोथी। अठार–बीस दिनमा बच्चा कोरल्छ। भालेपाथी सँगसँगै हुर्कन्छन्।

‘हामीकहाँ भएको परेवा २२ वर्षसम्म बाँचेको रेकर्ड छ,’ प्रविन भन्छन्, ‘त्यो पनि एउटा दुर्घटनाका कारण मरेको हो।’

परेवाको उच्च नश्ल विकास गर्न उच्च नश्लका परेवाबीचमा ब्रिडिङ गर्नुपर्ने उनी बताउँछन्।

‘प्रायः परेवा पाल्नेहरुले उच्च नश्लका परेवाबीच ब्रिडिङ गराएर एउटै 'फेमिली- ट्री'लाई हुर्काउने गर्छन्,’ प्रविन भन्छन्, ‘बुबाको पालामा पनि त्यस्तै हुन्थ्यो। बीचमा केही वर्ष कामको सिलसिलामा काठमाडौं बाहिर जानुपर्दा मैले परेवा पालनलाई केही समय रोक्नुपर्यो।’

उनी परेवा सौखिनले खोजखाज गरेर बुबाको परेवा लगेको बताउँछन्। उनी भन्छन्, ‘मानिसहरू मलाई बुबाकै परेवाले परेवा उडान प्रतियोगिता जितेको सुनाउँथे।’

नेपालमा परेवा उडान प्रतियोगिता हुन थालेको २२ वर्ष भयो। प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्ले पनि वार्षिक कार्यक्रममा समावेश गरेको छ। यसका लागि बर्सेनि केही रकम उपलब्ध गराउँछ। प्रविनको योजना आउँदो प्रतियोगितामा भाग लिने छ। 

राजा वीरेन्द्र मुस्कुराउँदै हात हल्लाउँथे
प्रविन सम्झन्छन्, ‘हामी केटाकेटी छँदा राजाको राजकीय भ्रमणलगायतको अवसरमा परेवा उडाउन पुग्थ्यौं। राजकीय भ्रमणका दिन सार्वजनिक बिदा हुन्थ्यो।’ प्रविनका दाजुभाइ परेवा लिएर पुतलीसडकमा जान्थे। उनी भन्छन्, ‘राजा नजिक आएपछि हातमा भएको परेवा हुर्र उडाउँथ्यौं।’ 

तत्कालीन राजा वीरेन्द्रलाई पुतलीसडकमा केटाहरूले परेवा उडाउँछन् भन्ने थाहा भइसकेको थियो। प्रविन सम्झन्छन्, ‘मुसुक्क हाँसेर हात हल्लाउँदै जानुहुन्थ्यो।’

उनका काकाले पनि राजा महेन्द्रको पालामा भिआइपी भिजिट हुँदा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल गएर त्यसैगरी परेवा उडाउँथे। प्रविन भन्छन्, ‘आखिर ती उडेर घर आइहाल्थे।’

वीरगञ्जबाट फर्कियो परेवा
प्रविनका बुबाका वीरगञ्जका हितैषीले परेवा लगेका थिए। तर त्यहाँ राम्रोसँग हेरविचार हुन नसकेर हो वा परेवाले आफ्नो घर खोजेर हो, वीरगञ्ज लगिएको परेवा त केही दिनपछि घरमै आएको उनको स्मरणमा ताजै छ। 

प्रविन भन्छन्, ‘मेरो परेवा चाहिँ धुलिखेलसम्मबाट पनि फर्किएको छ।’

परेवालाई आफ्नै घरको बानी परेको हुन्छ। त्यसले आफ्नै घरमा फर्कन खोज्छ। त्यसैले परेवा पाल्नेले सानैमा लगेर नयाँ घरको बानी पार्ने गर्छन्।

भैरहवामा एक वर्ष परेवा उडान
भैरहवास्थित कर कार्यालयमा कार्यरत रहँदा प्रविनका बुवाले परेवा पनि लगेका थिए। प्रविन पनि एक वर्ष भैरहवामा बसे। भैरहवामा उनको दैनिकी परेवा उडाएर बित्थ्यो। 

गर्मीमा स्कुलको कक्षा बिहानै हुन्थ्यो। उनी स्कुलमा परेवा लगेर उडाइदिन्थे। बिहानभर परेवा उडेको उड्यै हुन्थ्यो। उनी भन्छन्, ‘स्कुलका विद्यार्थी ब्रेक टाइममा बाहिर आएर परेवा हेर्दै रमाउँथे। बिहान उडेको परेवा बेलुका मात्र घर आउँथे।’

भैरहवा आसपास बाजको बासस्थान हुने अग्ला पहाड वा जंगल थिएनन्। बाज नहुने हुँदा भैरहवामा स्थानीयको घरमा घरपालुवा परेवाको संख्या पनि उल्लेख्य रहेको उनले बताए। ‘भैरहवामा एक वर्ष बस्दा पानी परेको दिनबाहेक सबै दिन परेवा उडाएँ,’ उनी भन्छन्।

प्रकृतिसँग नजिकिन परेवा पालन 
प्रविनलाई परेवा पाल्नु र ध्यान गर्नु उस्तै लाग्छ। ‘परेवा पाल्नु ध्यान गर्नु जस्तै हो। यसले मान्छेलाई प्रकृतिसँग नजिक बनाउँछ। अरु प्राणीको अस्तित्व बुझ्न मद्दत गर्छ,’ प्रविन भन्छन्, ‘अरू प्राणीको अस्तित्व बुझ्नु भनेको आफूलाई नै बुझ्नु हो।’

सबै तस्बिर : दिनेश श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्