विचार
1617428084.jpg

नेतृत्वको प्रमुख कार्य नै जनतालाई भ्रमबाट मुक्त गराई वास्तविकता जानकारी गराउनु हो। यसका लागि चीन र अन्य प्रतिस्पर्धी शक्तिहरूको डर र उनीहरूविरुद्ध घृणा फैलाएर होइन, अमेरिकाले विकास गरेको विश्व व्यवस्था अझै किन निरन्तर हुनु आवश्यक छ भन्ने राम्ररी जानकारी दिनुपर्छ। आफ्नो गौरवपूर्ण विरासत फर्काउन जो वाइडेन र उनको प्रशासनले यसलाई एउटा महत्त्वपूर्ण कदमका रूपमा लिनुपर्छ।

NLG Insurance
Sampoorna Oil

सबै ठूला शक्ति राष्ट्रहरू ऐतिहासिक अनुभव, भूगोल, संस्कृति, विश्वास र कतिपय अवस्थामा परम्पराका आधारमा आफ्नो बारेमा दह्रो धारणा बनाएर बसेका हुन्छन्। 

धेरै चिनियाँ विगतको बहिष्करणको युगअघिको चुरीफुरीमा फर्किन चाहन्छन्, त्यति बेला उनीहरूको सानसौकत बेग्लै थियो। रुसीहरू पुराना दिन सम्झेर रोमाञ्चित हुन्छन्, जुन बेला उनीहरू आफैंमा महाशक्ति थिए। पोल्यान्डदेखि भ्लाडिभोस्टकसम्म उनीहरूको शासन थियो। 

शक्ति राष्ट्रहरूले राष्ट्रिय हित, सुरक्षा, शक्ति र ती प्राप्त गर्न गरिने गतिविधि तथा स्रोतसाधनका हिसाबमा पूर्वनिर्धारित धारणा बनाएका छन्। यिनै धारणाका आधारमा धेरै राष्ट्र, साम्राज्य, तथा सहरको भविष्य निर्धारण मात्र भएन कतिपय अवस्थामा यिनीहरू नष्ट भएका छन्। 

यसबाट के देखिन्छ भने विगतमा देखिएका राजनीतिक नाटकमा ठूला शक्तिहरू  आफ्नो क्षमताभन्दा बाहिर सक्रिय देखिए। 

यो मामिलामा अमेरिकीचाहिँ उल्टो भूमिकामा देखिन्छन्। उनीहरूले अन्तर्राष्ट्रिय भुमिका, ठाउँ र घटना विशेषमा आफ्नो शक्तिअनुसारको गतिविधि देखाउन सकेका छैनन्। नाजी, जापानी साम्राज्य, सोभियत कम्युनिस्ट तथा इस्लामिक अतिवाद जस्ता गतिविधिमा सफल देखिए पनि अन्य सवालमा अमेरिकी भूमिका सन्तोषजनक छैन। 

इन्टरनेट, लामो दूरीका क्षेप्यास्त्र र अन्तरसम्बन्धित भौगोलिक अर्थव्यवस्था भएको जमानामा पनि विश्वव्यापी समस्यामा अमेरिकी भूमिका उदासीन देखिन्छ। कतिपय अवस्थामा उसको अनावश्यक शक्ति प्रयोगले नकारात्मक परिणाम दिएको पाइन्छ। जस्तै– अफगानिस्तान र इराकमा नचाहिएका बेला हस्तक्षेप गर्ने र आवश्यक पर्दा भाग्ने रणनीतिले ती देश सधैं युद्धमा संलग्न भइरहेका जस्ता छन्। 

अमेरिकाको यस्तै एकल निर्णय र भूमिकाका कारण साझेदारसँग असमझदारी र विवाद मात्र भएन शान्तिपूर्ण, स्थिर र स्वतन्त्र विश्व बनाउने उसको शक्ति  प्रभावहीन देखियो। अबको दशकमा चीनसँगको कडा प्रतिस्पर्धा देखियो भने अमेरिकाले अन्तर्राष्ट्रिय भूमिकाबाट कि त हात उठाउनुपर्ने हुन्छ वा आफ्नो भूमिका बदल्नुपर्ने हुन्छ।

विवादित राष्ट्रपति डोनाल्ड ट्रम्पको बिदाइपछि अमेरिकाले यस विषयमा गम्भीर रूपमा सोच्नुपर्ने देखिन्छ। अमेरिकाको सीमित अन्तर्राष्ट्रिय भूमिकामा उनीहरूको इतिहास र अनुभवले धेरै काम गरेको छ। अन्य ठूला शक्तिले पुरानो विरासतमा गर्व गर्छन् र नागरिकलाई त्यसबारे जानकारी दिँदै भविष्यको सपना देखाउँछन्। 

अन्य साम्राज्यको दबदबा चलिरहँदा अमेरिकी गणतन्त्र भने नयाँ र कमजोर राज्यका रूपमा संघर्षरत थियो। केही दशक आत्मकेन्द्रित, राज्यहरूको संगठन विस्तार र दासता उन्मूलनमा केन्द्रित अमेरिका बीसौं शताब्दीको सुरुसम्म आइपुग्दा संसारको धनी र सम्भवतः सबैभन्दा शक्तिशाली मुलुकका रूपमा स्थापित भइसकेको थियो।

विश्व शक्ति समूहमा कुनै भूमिका नभएको, आक्रमणको डर नभएको, सुरक्षित राष्ट्रका रूपमा रह्यो अमेरिका। युरोप तथा अन्य देशका अनेकौं परिवर्तन र घटनाक्रममा अमेरिका शान्त समुद्रजस्तै मौन रह्यो। बिस्तारै यो अवस्था परिवर्तन हुँदै आयो। अब अमेरिकीले आफूलाई संसारको केन्द्रमा पाउन थाले। 

नयाँ शक्ति आगमनसँगै बेलायती साम्राज्यको एकाधिकार घटेन मात्र, युरोपको शान्ति खलबलिन लाग्यो। जर्मनीको उदयसँगै युरोपको समीकरणमा हलचल भयो जसलाई सल्टाउन युरोपेलीहरू असफल भए। जापान र अमेरिकाको उदयले बेलायतको सामुद्रिक साम्राज्य अन्त्य भयो। युरोपमा रहेको शक्ति अब अमेरिका केन्द्रित हुन लाग्यो। 

अमेरिका टाढाटाढासम्म हमला गर्न सक्ने अवस्थामा पुग्यो। साझेदारहरूलाई सहयोग गर्न, युद्धका लागि आर्थिक लगानी तथा औद्योगीकरणका साथ पानीजहाज, हवाईजहाज, ट्यांक र लडाकु सामग्री आपैंm उत्पादन गर्न सक्षम भयो। यी गतिविधिसँगै अमेरिका हरेक युद्धपछि झन् धनी र शक्तिशाली हुँदै गयो। 

एकाएक बढ्दै गएको अमेरिकी शक्ति, युरोप, एसिया र मध्यपूर्वमा फैलिएको एकछत्र अधिनायकत्वले दशकौंदेखि शक्तिमा रहेका मुलुकलाई चकित मात्र पारेन अमेरिका आफैंलाई पनि अनपेक्षित रूपमा आर्जित शक्ति व्यवस्थित गर्न हम्मेहम्मे प¥यो। कतिपयले यो शक्तिको आवश्यकता र औचित्यबारे प्रश्न पनि गरे। 

रुजवेल्ट र विल्सनले पहिलो विश्युद्धताका एउटा उदार विश्व अवधारणाको सुरुवात गरे। बेलायत र अन्य युरोपेली शक्तिले विश्व व्यवस्था कायम गर्न नसकेकाले अब यो भूमिकामा अमेरिका रहनुपर्ने उनीहरूको दलिल थियो। यही अवधारणामा आधारित भएर अमेरिका केन्द्रमा रहने गरी राष्ट्रसंघको धारणा आएको थियो। 

दोस्रो विश्वयुद्धपछि केही सुस्ताएको अमेरिकी प्रभाव कम्युनिस्टको उदयसँगै फेरि बढ्यो। शीतयुद्धको अन्त्यपछि फेरि एकछत्र महाशक्ति राष्ट्रका रूपमा अघि बढ्न उसलाई रोक्ने अब कोही भएन।

त्यसयता अमेरिका कहिल्यै पनि एउटा सामान्य राष्ट्रका रूपमा रहेको छैन। चाहे त्यो इराक, अफगानिस्तानमा होस् वा संसारका जुनसुकै मुलुकका घटना, परिघटना, उसले आफ्नो भूमिका खोजेकै देखिन्छ। 

चीनको उदय, विश्वव्यापी अर्थतन्त्रमा अमेरिकी घट्दो प्रभाव, नयाँ सैन्य प्रविधि विकासका कारण अमेरिकी साम्राज्यमाथि प्रश्न उठेको छ। तर अमेरिका त्यति कमजोरचाहिँ भइसकेको छैन। अन्तर्राष्ट्रिय शक्तिका धेरै अवयव उस्तै भएकाले अमेरिकालाई पुरानो अवस्थामा फर्किन धेरै मेहनत गर्नुपर्ने अवस्था छैन। आर्थिक, सामरिक अवस्था राम्रो भएको, साझेदारहरूसँग सम्बन्ध बिग्रिनसकेको र अन्य ठूला शक्तिराष्ट्र एक्लै हिँड्न सक्ने अवस्था नभएकाले उसले पुरानो लय समात्न सक्ने पक्का छ। 

रुससँग राम्रो आणविक शक्ति भए पनि यसले विश्वयुद्धको समय जस्तो आधा युरोपलाई नियन्त्रणमा लिएको अवस्था छैन। चीनले जापानको ठाउँ लिइसकेको छ भने एसियाका अन्य देशले पनि विकासमा फड्को मारेका छन्। तर एसियाका उदाउँदा शक्ति भारत, जापान र दक्षिण कोरिया अमेरिकाका रणनीतिक साझेदार  छन्। 

अहिले चीनले अमेरिकाको कमजोरीलाई मात्र आधार मान्नु हुँदैन। किनभने पूर्वी एसियाका उदीयमान शक्तिराष्ट्र अमेरिकासँग असाध्यै निकट छन्। अमेरिका ट्रम्पको समयमा तनाव सहन सक्ने परीक्षण कालका रूपमा रह्यो, जुन भर्खरै सकिएको छ। ट्रम्पको कार्यकाल व्यापार सम्झौता तथा शक्तिका अन्य सवालमा अमेरिकी साझेदार र अन्य राष्ट्रका लागि अप्ठेरो र त्रासदीपूर्ण थियो। 

ट्रम्पको इरानसँगको सम्बन्ध र चीनसँगको नमिठो व्यापार सम्बन्धले चीन र अमेरिका दुवैलाई चोट प¥यो। युक्रेनलाई हतियार उपलब्ध गराएपछि रुससँगको तिक्ततापूर्ण सम्बन्ध ट्रम्पकालीन नकारात्मक बाछिटा थिए। 

सन् १९३० को सुरुतिर अमेरिकी सुरक्षा खर्च जीडीपी (कुल गार्हस्थ उत्पादन) को करिब ३ प्रतिशत रहेकोमा हाल पनि सोही हाराहारीमा छ। त्यसैगरी १९५० अर्थात् एजनहावर प्रशासनको पालामा १० लाख अमेरिकी सेना अन्य मुलुकमा खटाइएको थियो। अहिले १५० देशमा गरी दुई लाख सेना मात्र मुलुकबाहिर छन्। 

कतिपय विश्लेषक यसलाई आधार बनाएर अमेरिकाले अल्छी पाराले अन्तर्राष्ट्रिय मञ्चमा उपस्थिति जनाएको मान्छन्। अर्काथरी विश्लेषकले भने अमेरिका अहिले शान्तिको मार्गमा लम्किरहेको तर्क गर्छन्। 

राष्ट्रपति रेगनको नेतृत्वमा शीतयुद्धको पछिल्लो समयमा मात्र अमेरिकाले सुरक्षा खर्चमा जीडीपीको ६ प्रतिशत खर्च गरेको थियो। त्यति बेला उत्पादित हतियारको मात्रा र गुणस्तर यति आक्रामक थियो कि सोभियत र अन्य कुनै पनि मुलुकले प्रतिस्पर्धाको कल्पना पनि गर्न सक्ने अवस्था थिएन। 

अहिलेको प्रश्न अमेरिका चीन वा अन्य प्रतिस्पर्धी मुलुकसँग पुरानै रफ्तारमा प्रभावशाली हुन सक्छ कि सक्दैन भन्ने हो। महत्त्वपूर्ण सवाल त चीन वा अन्य मुलुकले आफ्नो शक्ति प्राप्तिका लागि गर्न सक्ने जस्तोसुकै हर्कत गर्न नदिन र शान्तिपूर्ण गतिविधि गर्न प्रेरित गर्न अमेरिकाको हस्तक्षेपपूर्ण व्यवहारको अपेक्षा गर्न सकिन्छ। 

अमेरिकीहरू चीनले अब यसअघि जर्मनी र सोभियत युनियनको भूमिका निर्वाह गर्ने डरमा छन्। अर्काथरीचाहिँ अमेरिका अब पतनको बाटोमा गइसक्यो र चीनले एसियामा प्रभुत्व जमाउन खोज्यो भन्नेमा विश्वास गर्छन्। उता चिनियाँचाहिँ अमेरिकाको विगत ७५ वर्षको भूमिका अप्राकृतिक भएको र यो अब सकिएको तर्क गर्छन्। बेइजिङ अगाडि बढिरहँदा चिनियाँ सपना पूरा हुने डर अमेरिकीमा देखिन्छ। विभिन्न विचार समुह र दर्शनले भनेजस्तै अन्तर्राष्ट्रिय मामिलामा वासिङ्टनको भूमिका नखोजिनुमा अमेरिकी सुरक्षा र स्वार्थमा केही फरक नपर्ला तर यो आदर्श व्यवहारतः सम्भव देखिँदैन। 

संसारको इतिहास र वर्तमानका घटनाक्रमले यो आदर्श सोचलाई सम्भव देखाउँदैन। अमेरिकी विरासतको अन्त्य र कुनै एक सामान्य देशको साम्राज्यको कल्पना, फगत एक कल्पना मात्र हुन सक्छ। यसमा शक्ति रिक्तता, अस्तव्यस्तता, टकराव र युद्धको अवस्था रहनेछ।

संसारभर उदार प्रजातन्त्र र शान्त विश्वको नेतृत्व गरी सबैलाई मिलाउन सक्ने शक्ति अझै अमेरिका नै हो। अहिलेको प्रशासनले अमेरिका आफ्नो विश्वकेन्द्रित  जिम्मेवारीबाट भाग्ने अवस्था छैन भनेर त्यहाँका नागरिकलाई अघि बढ्न प्रेरित गर्न जरुरी छ। उसको सरोकार आफ्नो देशको सुरक्षा मात्र हुनु हुँदैन। नाटो र अन्य साझेदारी अमेरिकाविरुद्धको गतिविधि रक्षाका लागि मात्र नभएर विश्व व्यवस्था खलबलिन नदिने अस्त्र पनि हो भनेर स्पष्ट पार्नुपर्छ। हो, यो कार्य अन्त्यहीन र खर्चिलो पनि छ। यसको विकल्प भनेको विश्व अस्तव्यस्तता हो जसको मूल्य झन् चर्को हुन्छ। 

अमेरिकी नेतृत्वले आफ्ना नागरिकलाई राम्ररी कुरा बुझाउन नसक्दा अमेरिकीलाई आफ्नो देशले अन्तर्राष्ट्रिय रंगमञ्चमा खेलेको भूमिकाले रिस र आक्रोश मात्र बढाएको छ। नेतृत्वले आफ्ना गल्तीकमजोरी छोप्न र राष्ट्रिय  राजनीतिमा प्रभावशाली हुनका लागि मात्र विश्वव्यापी भूमिकालाई हतियार बनाएका छन् भन्ने उनीहरूको सोचाइ छ। 

नेतृत्वको प्रमुख कार्य नै जनतालाई भ्रमबाट मुक्त गराई वास्तविकता जानकारी गराउनु हो। यसका लागि चीन र अन्य प्रतिस्पर्धी शक्तिहरूको डर र उनीहरूविरुद्ध घृणा फैलाएर होइन, अमेरिकाले विकास गरेको विश्व व्यवस्था अझै किन निरन्तर हुनु आवश्यक छ भन्ने राम्ररी जानकारी दिनुपर्छ। आफ्नो गौरवपूर्ण विरासत फर्काउन जो वाइडेन र उनको प्रशासनले यसलाई एउटा महत्त्वपूर्ण कदमका रूपमा लिनुपर्छ। 

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप