कला - साहित्य

जीवनप्रति उपासनाको सुन्दर अनुष्ठान हो ‘प्रिय मौनता’

1617423047.jpg

नेत्र एटम (२०२६, दाङ) कवि, निवार्ताकार एवम् समालोचक हुन्। उनका कविता, गजल, समालोचना र पाठ्यपुस्तक गरी दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन्। उनको ‘प्रिय मौनता’ (२०७७) भर्खरै प्रकाशित उपासना कविताहरुको सङ्कलन हो। सोही कृतिमा आधारित रहेर साहित्यकार एटमसँग गरिएको कुराकानी :

NLG Insurance
Sampoorna Oil

‘प्रिय मौनता’ मा कस्ता विषयका कविता सङ्कलित छन्?

‘प्रिय मौनता’ मा पाँच खण्डमा फरकफरक विषयका कविता सङ्कलित छन्। प्रणयका प्यासन खण्डमा प्रेमको विषयले महत्त्व पाएका कविता छन् भने प्रमुदित प्रकृति खण्डमा चाहिँ प्रकृतिसित सम्बन्धित कविता छन्। अभीप्साको उद्बोधन खण्डमा राजनीतिक, लैङ्गिक आदि आलोचनात्मक विषयका कविता  छन्। स्मृतिको क्याराभान खण्डमाचाहिँ नोस्टाल्जियालाई विषय बनाइएको छ। तर उपासनाको आलोचक खण्डमा बौद्धिक र दार्शनिक कविता छन्। जुनै विषयका भए पनि सबैजसो कविता मौनताप्रतिको प्रेमपूर्ण उपासनाले जोडिएका छन्। 

प्रेमलाई नै मुख्य विषयवस्तु बनाउनुको कारण के होला?

प्रेम जीवनको प्रारम्भको मूल कारण हो। प्रेमका विभिन्न आयाम हुन्छन्, प्रेमीप्रेमिकाको प्रेम, वातावरणीय प्रेम, सामाजिक समानता र न्यायप्रतिको वैचारिक प्रेम, आफ्ना अनुभवको अतीत प्रेम वा जीवनको शाश्वतताप्रतिको प्रेम। जीवनका सार तत्त्व यिनै हुन्। त्यसैले प्रेम हाम्रो जीवन, समाज र वातावरणमा व्याप्त छ, मैले कवितामा प्रेमका यिनै विभिन्न क्षेत्रलाई माध्यम बनाएर आफ्नो मौनता अभिव्यक्त गरेको हुँ। 

तपाईंलाई कस्तो परिवेशमा कविता फुर्छ?

कविता हृदयको भाषा हो, त्यसैले यसलाई अनुभूतिलाई समेट्न सक्ने उपयुक्त बिम्ब चाहिन्छ। मन छुने दृश्य, चिन्तनलाई बिथोल्ने परिघटना, कुनै विशिष्ट भावको गहिरो अनुभूति हुने परिवेश नै मेरो कविता सिर्जनाका निम्ति अनुकूल हुन्छ। प्रायः म कोलाहलमा नै मौनताको काव्यिक उपासना गर्छु। मेरा लागि कविता भनेको अनुभूतिलाई समात्ने उपयुक्त बिम्बको अन्वेषण हो। 

अचेल कविताका पाठक घट्न थालेका छन् भन्ने छ। तपाईंलाई त्यस्तो लाग्दैन? 

कविता पढ्नु–सुन्नु ध्यान गरेजस्तै एउटा अनुष्ठान हो। त्यसका निम्ति एकाग्रता, शब्द, बिम्ब, लयको गहन सम्प्रेषण आवश्यक पर्छ। त्यसैले जो पनि कविताका पाठक हुन सक्दैनन्। हृदयको भाषा सहृदयले मात्र ग्रहण गर्न सक्छ। यसो हुनाले कविताका पाठक घट्न थालेका होइनन्। जहिले पनि ती कम हुनु स्वाभाविकै हो। 

त्यस्तो हो भने कविता नै किन रोज्नुभयो? र यो अवस्था कहिलेसम्म रहला? 

मलाई आफू कवितामा अभिव्यक्त हुँदा सहज र उपयुक्त लाग्छ। म भाषालाई साँधेर, बिम्बलाई कुँदेर अनि अनुभूतिलाई आकार दिएर सघन रूपमा व्यक्त गर्नुमा आनन्द लिन्छु। मान्छेलाई भाषाको आवश्यकता हुँदासम्म कविता पनि रहन्छ। कविताले जीवनलाई अन्तरदेखि नै छुँदै जाने उत्कर्षमा पु¥याउने हुनाले थोरै भए पनि कविताका निम्ति जीवनप्रति मोह राख्ने संस्कारित पाठकको कमी भने कहिल्यै हुँदैन।

गद्य कवितामा गेयात्मकता र सांगीतिक पक्षमा केही कमी हुन्छ जस्तो लाग्दैन?

कविता गद्यमा लेख्दा संरचना र सुन्दरतामा पर्याप्त स्वतन्त्रता हुन्छ। लयको प्रवाह अनेक तरिकाले गर्न सकिन्छ अनि जीवनलाई बहुरसबाट अघि बढाउन सकिन्छ। पद्य कवितामा लय सिर्जना गर्न सजिलो छ किनभने त्यसमा सूत्रमा वर्णहरू राख्नासाथ एउटा प्रवाह आइहाल्छ तर त्यसमा अनेकौं सीमा हुन्छन्। यस्तो असीम सम्भावना भएको जीवनलाई अभिव्यक्त गर्न म सीमित तरिका भएको पद्य कविता किन प्रयोग गरूँ? म शब्द, बिम्ब र लयलाई अनुभूतिको आकाशमा खुला उड्न दिन मन पराउने हुनाले गद्य कविता नै रोज्छु। त्यसैले म अरूले सिर्जना गर्न नसकेका र पहिले कल्यिै नगाइएका सांगीतिक मूच्र्छनाहरूले आफ्ना गद्य कवितालाई सजाउन पाउँछु।

पाठकले ‘प्रिय मौनता’ पढ्नैपर्छ भन्ने लेखकीय दाबी के हो? 

‘प्रिय मौनता’ पाठकले पढ्नैपर्छ भन्ने मेरो दाबी छैन, तर जीवनलाई एउटै बाटोमा हिँडेर रित्तिएको अनुभूत हुन थालेको पाठकलाई मेरा कविताले आन्तरिक ऊर्जा दिन सक्छन्। यिनको पठन होइन, मनन र सम्प्रेषण महत्त्वपूर्ण कुरा हो। अँध्यारोबाट जीवनको उज्यालो हेर्न र त्यतातिर फर्कन यो काव्यिक उपासना माध्यम हुन सक्छ। अतः अनन्त समस्यामा पनि जसले असीम सम्भावना देख्न चाहन्छ, उसले ‘प्रिय मौनता’ पढ्दा आफ्ना ओठमा मुस्कुराहट थपिएको पाउँछ।

एउटा समालोचकको आँखाबाट आफ्नै कविता सङ्ग्रहलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

म समालोचक हुनुमा मेरो पेसागत कर्म र ज्ञानप्रतिको भोकको भूमिका छ। कवि हुनुमा चाहिँ मेरो आन्तरिक प्रकृति र सकारात्मक प्रभावको भूमिका छ। मेरा कवितामा म फिँजिएको छु। व्यक्ति, समाज, व्यवस्था, पर्यावरण, स्मृति, कल्पना आदि समेटिएका यी कविता मेरो प्रेमका विस्तारित रूप नै हुन्। अनि, ‘प्रिय मौनता’ चाहिँ मेरो जीवनप्रतिको उपासनाको एउटा सुन्दर अनुष्ठान हो। 

प्रतिक्रिया दिनुहोस्