काठमाडौं– अध्यागमन विभागले ४० वर्षमुनिका महिला एक्लै विदेश जाँदा परिवार र वडाको सिफारिस चाहिने विषयमा कुनै निर्णय नभएको बताएको छ।
बिहीबार विज्ञप्ति जारी गर्दै विभागले आन्तरिक छानबिन कार्यदलबाट सुझाव आएको तर हालसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको हो।
विज्ञप्तिमा खाडी र अफ्रिकी मुलुकजस्ता जोखिम सम्भाव्य मुलुकमा पहिलोपटक एक्लै यात्रा गर्ने महिलाको लागि सिफारिस आवश्यक पर्ने सुझाव आएको उल्लेख गरिएको छ।
त्यस्तै, आफ्नो यात्राबारे सामान्य जानकारीसमेत नभएका महिलाको लागि परिवार र वडाको सिफारिस आवश्यक पर्न सक्ने आन्तरिक छानबिन कार्यदलले सुझाव दिएको पनि विभागले जनाएको छ।
विज्ञप्तिमा लेखिएको छ– ‘सार्वजनिक सरोकारका विषयमा निर्णय गर्दा संविधान प्रदत्त अधिकार, विश्वव्यापी मान्यता, आमजनताको धारणा र मौलिक अधिकार कुण्ठित नहुने गरी निर्णय हुने जानकारी गराइन्छ।’