विशेष खेलकुद
1617371427.jpg

सिनियर र अन्तर्राष्ट्रिय खेलका अनुभव भएका ब्याट्सम्यानको सामना गर्नु निकै चुनौतीपूर्ण कुरा हो। तर उनले चुनौती सामना गरे। चुनौतीको परीक्षाले उनलाई उचाइतर्फ डोर्‍यायो।

NLG Insurance
Sampoorna Oil

फागुनमा सम्पन्न काठमाडौं मेयर कपमा 'च्याम्पियन' खेलाडीहरूको प्रतिस्पर्धा थियो। यस्ता स्पर्धामा नयाँ खेलाडीले हत्तपत्त अवसर पाउँदैनन्। नेपाल पुलिस क्लबका दुई खेलाडी घाइते भएपछि सर्लाहीका गुल्सन झाले प्रतियोगितामा डेब्यू गर्ने अवसर पाए।

नयाँ खेलाडीले पनि अवसर प्राप्त गरे राम्रो प्रदर्शन गर्न सक्छन् भन्ने प्रमाणित गरिदिए गुल्सनले। फागुन २९ गते सम्पन्न काठमाडौं मेयर कपको फाइनल खेलमा उनको प्रदर्शनले धेरैलाई लोभ्यायो। 

विभागीय टिम एपिएफ (सशस्त्र प्रहरी बल) कपको फाइनलका लागि प्रतिस्पर्धामा पुगेको थियो। एपिएफको ४ विकेट लिएर नेपाल प्रहरीको टिमलाई उपाधि दिलाउन गुल्सनको योगदानले उनलाई सम्झनुपर्ने बनाएको हो। 

मेयर कप प्रतियोगितामा लगातार समान प्रदर्शन गर्दै आइरहेको टिम थियो एपीएफ। प्रधानमन्त्री कपको फाइनलमा पनि एपीएफ पुगेको थियो। फाइनलमा एपीएफको सोच थियो, ‘टप वा मिडिल अर्डरबाटै खेल सक्ने’। मैदानमा उपस्थिति पनि जोडतोडकै थियो। खेल सुरु हुँदा मैदान वरपरका समर्थकले सोचेका थिए- नयाँ बलर आएका छन्, अब छक्का-चौकाको वर्षा हुनेछ।

विकेट लिएपछि गुल्सन झा।

 

नहोस् पनि किन? पछिल्ला तीन खेलमा क्रमशः ३३, २९ र ३१ रन बनाएका शंकर राना मैदानमा थिए। उनीसँगै थिए, दुई खेलअघि अर्धशतक बनाएका आसिफ शेख पनि।

पहिलो ओभरमै बलिङको अवसर पाएका गुल्सनले तेस्रो बलमा चौका व्यहोरे। तर समर्थकले सोच विपरीत उनले पाँचौँ बलमा रानालाई शाहको हातबाट 'क्याचआउट' गराए।

‘बिहानको समयमा बल अलिक 'स्विङ' हुन्छ। ब्याटस्म्यानलाई खेलाउन सजिलो हुन्छ। यसको फाइदा लिँदै ब्याटस्म्यानलाई खेलाएर 'आउट' गर्ने सोच थियो, त्यसमा असफल बनेँ,’ गुल्सनले खेलपछि भने।

तेस्रो ओभरमा पुनः बलिङ गर्न उनी आउँदा पहिलो ओभरमा छोडेर गएका शरद भेषवाकरसँग दोस्रो ओभरमा मैदान छिरेका सन्दीप जोरा ब्याटिङ गरिरहेका थिए। उनले पहिलो बलमै कप्तान भेषवाकरलाई पेबेलियनको बाटो देखाए। त्यस्तै आठौं ओभरको पाँचौँ बलमा भुवन कार्की र २८औं ओभरको पहिलो बलमा कमल ऐरीलाई पेबेलियन फर्काए।

फाइनलमा एपिएफका शक्तिशाली ब्याटस्म्यानलाई पाखा लगाउने काम गुल्सनले नै गरे। फाइनलको 'प्लेयर अफ दि म्याच'समेत गुल्सनकै पोल्टामा आयो। 

सिनियर र अन्तर्राष्ट्रिय खेलका अनुभव भएका ब्याटस्म्यानको सामना गर्नु निकै चुनौतीपूर्ण कुरा हो। तर उनले चुनौती सामना गरे। चुनौतीको परीक्षाले उनलाई उचाईतर्फ डोर्‍यायो। 

‘म सबै खेलाडीलाई एकै तुलोमा राखेर हेर्छु। खेलाडीले त्यो गर्नु पनि पर्छ। सिनियरलाई सम्मान त गर्नु परिहाल्यो। तर खेलमा चाहिँ सिनियर-जुनियर सबै प्रतिद्वन्द्वी हुन्,’ उनले भने, ‘आफ्नो 'बेस्ट' दिने हो। प्रतिस्पर्धी कस्तो भन्नेमा धेरै समय खर्च गर्दिनँ। म हरेक बलमा विकेट देखिरहेको थिएँ। मैले विकेटको लागि नै संघर्ष गरिरहको थिएँ।’ उनले आफ्नो योजनाअनुसार नै प्रदर्शन गर्न सकेकोमा खुशी व्यक्त गरे। ‘पहिल्यै राम्रो बलिङ गरेर विकेट गिराउँछु भन्ने योजना थियो। त्यसमा सफल भएँ। योजनाअनुरुप नै भयो,’ उनले थपे।

राष्ट्रिय प्रतियोगितामा उनको उपस्थितिको टुंगो फाइनल खेल हुनुभन्दा तीन दिनअघि (फागुन २७)मा मात्र लागेको हो। युवा स्टारले भरिएको काठमाडौंविरुद्ध उनले डेब्यू गर्दा ३.६७ को 'इकोनोमी' प्रदान गरेका थिए।

मेयर कप जितेपछि पुलिसको टिमसँग गुल्सन।

‘खेलमा लगातार 'बाउन्स' गराउन निकै कठिन कुरा हो। तर त्रिवि मैदानको पिच नेपालको अन्य पिचको तुलनामा राम्रो भएको कारण सबै इफोर्ट बलमा लाग्यो,’ उनले प्रदर्शन राम्रो बन्नुको कारण सुनाए।

नेपाली अन्तराष्ट्रिय बलर रासिद खानलाई बेञ्चमा राखेर गुल्सनको नाम 'प्लेइङ इलेभेन'मा राख्दै पुलिसले ठूलै 'चुनौती' त उठाएकै थियो। गुल्सनको नाम आएपछि उनको शाख चाहिँ खेल पहिल्यै चुलियो। विभागीय टिमबाट 'ब्रेक थ्रू' पाएपछिको प्रदर्शनबाट त झन् चुलियो।

‘फाइनल जिताउन पाएँ। खुसी लाग्यो। अवसर प्रदान गर्ने पुलिस क्लबका गुरु माधव कर्माचार्यलाई धन्यवाद दिन चाहन्छु,’ पहिलो राष्ट्रिय त्रिकेटको उपाधि सम्झँदै गुल्सनले भने।

सिनियर बलर बेन्चमा भएकाले आफू दबादमा रहेको समेत गुल्सनले सुनाए। ‘सिनियर बलर बेञ्चमा राखेर खेल्दा चुनौती निकै थियो। अन्तर्राष्ट्रिय स्तरको बलरको जस्तो प्रदर्शन गर्ने जिम्मेवारी आफ्नो काँधमा आयो। त्यसलाई क्यारी गर्न सकेँ,’ उनले भने। 

मेयर कप फाइनलमा गुल्सनको यात्रा
प्रधानमन्त्री कपमा प्रदेश २ को छनोटकर्ताको आँखाअघि नपरेका उनले नेक्सस क्रिकेट एकेडेमीमा भने स्कलरसिप पाए। दुई हप्ता त्यतै अभ्यास गरेर पुलिसको लागि ट्रायल दिँदा पहिलो नजरमै प्रशिक्षक माधवले उनलाई टिममा लिने भए। यसपछि उनको खुसीको सीमा रहेन।

‘पछि उहाँले नै सम्पर्क गरेर टिममा ल्याउनु भयो,' गुल्सन आफैँले हिँडेको क्रिकेट यात्रा सम्झिए। उनलाई थाहा थियो- अवसरलाई प्रदर्शनमा परिवर्तन गर्नैपर्छ। र, त्यही गर्ने प्रयास पनि गरे। उनलाई त टिमलाई पनि माथिल्लो स्थानमा पुर्या्उनु थियो। त्यसो गर्न पनि सफल भए पनि उनी। ‘यति गर्छु होला भन्ने सोचेको थिइनँ। तर भयो। त्यो नै मेरो लागि खुसीको कुरा हो,’ उनी भन्छन्। 

फाइनलको प्रदर्शनपछि उनलाई लिएर टिमको धारणा फेरिएको छ। क्रिकेट क्षेत्रमा मानिसहरुले नोटिस गर्ने गरी उनले प्रदर्शन गरिसकेका छन्। बाहिर चलेको त्यही चर्चा सम्झँदै उनी भन्छन्, ‘यत्तिको चर्चा होला भन्ने लागेको थिएन। आफ्नो 'बेस्ट' गर्नु थियो। 'ट्राई' गरेँ। राम्रो 'रिटर्न' आएजस्तो लाग्छ। तर पुलिस बन्ने नै लक्ष्य चाहिँ छैन। यहाँ अवसर पाएँ। त्यो अवसरको सदुपयोग गरेँ भन्ने लाग्छ।’

गुमेको प्रधानमन्त्री कप
एउटा प्यासीलाई पानी खान नपाएजस्तै गुल्सनलाई पनि पिएम कपमा खेल्न नपाउँदा नरमाइलो लाग्यो। ‘नराम्रो लाग्यो।  खेलाडीलाई खेल्न नपाउँदा कस्तो लाग्छ? प्रधानमन्त्री कपमा प्रदेश २ बाट रिजर्भ खेलाडीको रुपमा थिएँ। टिममा थिइनँ। यसकारण मैले त्यो प्रतियोगिता खेल्न पाइनँ,’ उनले राष्ट्रिय प्रतियोगिताको यात्रा सुनाए, ‘छनोटमा त राम्रो भएको थियो। १५ जनामा चाहिँ परिनँ।’

तर उनले चित्त पनि बुझाए। आफैँले आफूलाई शान्त्वना दिए। 'ममा केही कमी भएरै त मैले खेल्न पाइनँ होला! भनेर आफूलाई राम्रो बनाउने कोसिस गरिरहेको थिएँ,’ उनले थपे।

त्यतिबेला खेल्न पाएको भए उनले अर्को पनि अवसर पाउने थिए। तर उनलाई अवसरको लोभ भन्दा पनि कप उचाल्दाको अनुभव ठूलो लागेको छ। ‘अवसरभन्दा धेरै त मैले पिएम कपको अनुभव गर्न पाइनँ। त्यो नै बेस्वाद बन्यो,’ उनले भने।

पुलिसमा कसरी?
भारतमा क्रिकेट सिक्दै आएका गुल्सन पिएम कपपछि भारत फर्केनन्। ‘मैले त्यतिबेला नेक्ससबाट खेलेको थिएँ। पुलिसको लागि ट्रायल पनि त्यहीबाट दिएँ। त्यतिबेला त खास केही भएन। पछि मेयर कपमा खेल्ने भनेर फोन गर्नुभएको थियो। त्यसपछि म आएँ,’ उनले पुलिसको सम्झौतामा आएको बारे सुनाए, ‘करारको सम्झौता हो।’ के अब पुलिस नै बन्ने हो त भन्ने प्रश्नमा उनी भन्छन्, ‘पहिले त खेल्ने हो।’

‘मेरो जागिरको उमेर त भइसकेको छैन,’ १७ वर्षीय गुल्सनले भने, ‘उमेर भएपछि सोचौँला। अहिले त करारमा छु। सम्झौतामा रहिरहने भन्नुभएको छ।’

उनलाई थाहा छ प्रदर्शलाई अझ मजबुत बनाउन फिटनेस र ब्याटिङमा पनि ध्यान दिनुपर्नेछ। एउटा बलरसँग पूरा १० ओभर बलिङ गर्न सक्ने क्षमता हुनुपर्छ। त्यो पूरा गर्न उनको फिटनेस मजबुत बनिसकेको छैन। उनी भन्छन्, ‘त्यो सुधार गर्छु।’

परिवारको नै प्रेरणाको स्रोत
झा परिवारमा गुल्सन जेठा छोरा हुन्। उनका बुवा अखिलेश झा र आमा अन्जु देवीलाई गुल्सनका साथै बहिनी र भाइको रेखदेख गर्ने जिम्मेवारी पनि छ। इँटाभट्टाको कामले बुबालाई व्यस्त बनाउँछ। गृहिणी आमाले उनको धेरै इच्छा पूरा गर्ने प्रयत्न गरिरहन्छिन्। 

त्यही सम्मानलाई अवसरका रुपमा बदलेर ८ कक्षाबाटै पढाई छोडेर क्रिकेटमा होमिए गुल्सन। ‘सानैबाट क्रिकेटको सौखिन भएकाले धेरै पढाइभन्दा बढी चासो क्रिकेटकै छ। कक्षा ८ पढेर स्कुल छोडेँ,’ उनले भने।

पढ्नै पर्छ भन्ने समाजमा उनी खेल्नतिर स्वतन्त्र भए। छिमेकी देश भारतमा क्रिकेट सिक्न गए। त्यहाँ उनले रन्जी ट्रफी खेलिसकेकाहरूबाट २०१७ यता क्रिकेट सिक्छन्।

‘परिवारको सहयोग भएर नै म यहाँसम्म आएको हुँ। क्रिकेटमा टिकेको हुँ। पछिल्लो खेलबाट मैले केही आम्दानी पनि गर्न सकेकाले बुबाममी खुसी हुनुभएको छ,’ सार्लाही घरबाट उनले फोनमा भने।

परिवार मात्र होइन, उनलाई साथीभाइको हौसला प्यारो लाग्छ। उनलाई दाई-मामाहरुले पनि प्रेरणा भरेका छन्। उनले भने, ‘अस्ति पिएम कप फाइनलमा चार विकेट लिएर घर पुगेपछि पनि बुवाले हौसला दिँदै अझै धेरै गर्नुपर्छ भन्नुभएको छ। चित्त बुझाएर बस्नुको साटो अझै राम्रो गर्नुपर्छ भन्ने मेरो विश्वास छ।’

यसबाहेक उनलाई टिमका सिरिनयरहरूले पनि पूर्ण रूपमा सपोर्ट गर्छन्। ‘मैले कुनै बेला नराम्रो बल फ्यालेँ भने पनि अर्कोपल्ट राम्रो फाल्नु भनेर उत्साह जगाइदिनु हुन्छ,’ उनले भने। 

एकेडेमीमा भन्दा राष्ट्रियस्तरको खेलमा माहोल फरक हुन्छ। तर त्यसमा खेल्दा सनियर खेलाडीको प्रेरणा निकै महत्वपूर्ण हुने उनको अनुभव छ।

खेल्दै सिक्दै
गुल्सनलाई बलिङका तीन विधाको ज्ञान छ – स्लोवर, कटर र बाउन्सर। ‘अझै धेरै सिक्नु छ। मलाई योर्कर राम्रो आउँदैन। त्यसका लागि काम गर्नुपर्ने छ,’ उनले भने, ‘मलाई पूर्वकप्तान पारस खड्का मन पर्छ। बलिङमा सोमपाल कामी मनपर्छ। अन्तराष्ट्रियमा चाहिँ अस्ट्रेलियाको पट कमिन्स। उनीहरूको खेल हेरेर मैले निकै सिकेको छु।’

स्थानीय प्रतियोगिता जितेपछि खुसीयाली मनाउँदै गुल्सन।

फिटनेस मेन्टेन गर्न उनलाई प्रशिक्षकको सुझाव छ। ब्याटिङमा अभ्यास गर्न पनि प्रशिक्षकले सुझाएका छन्। ‘ब्याटिङमा पनि राम्रो गर्नुपर्ने छ। अहिले रेस्ट गरिरहेको भएकाले अभ्यास कमै गरेको छु। अब ब्याटिङमा पनि ध्यान दिन्छु,’ उनले भने।

छुट्यो एसपिएल
मेयर कपको सफलतापछि उनलाई सप्तरी प्रिमियर लिगमा आफ्नो कन्सिस्टेन्सी देखाउने अवसर थियो। अक्सनमा सहभागी भएर छनोट भइसकेका पनि थिए। तर चिकित्सकले ढाडको उपचार गराउन भनेपछि उनले खेल्न पाएनन्।

‘एसपिएल खेल्ने त मन थियो। तर मेरो ब्याकपेन भएपछि इन्डियामा जँचाउन जानुपर्यो ,’ उनले भने, ‘त्यसैले एकेडेमी गएको छैन। घरमै आराम गरिरहेको छु। ठूलो समस्या केही छैन। उपचार पाएपछि ठिक छु।’

उपचारपछि उनले दुई टी–२० खेलिसकेका छन्। ‘अहिले कडा अभ्यास गरेको छैन। जगिङ गरिरहेको छु। अहिले गेम नभएकाले पुलिसमा पनि कुनै अभ्यास भइरहेको छैन,’ उनले दैनिकी सुनाए।

तर एसपिएल खेल्न नपाउँदाको पीडा भने उनलाई आलै छ। उनी सुनाउँछन्, ‘एसपिएल छोड्नुपर्दा निकै रमाइलो लाग्यो। त्यहाँ खेलेको भए एउटा थप अनुभव हुने थियो। राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता थियो। त्यो निकै मिस भइरहेको छ।’

राष्ट्रिय टिमबाट प्रतिनिधित्वको लक्ष्य
'अबको लक्ष्य के त?' हाम्रो प्रश्नमा गुल्सन भन्छन्, ‘राष्ट्रिय टिममा पर्ने अबको मेरो लक्ष्य हो। राष्ट्रिय टिममा परेर विश्वकप छनोटको प्रतियोगितामा राम्रो गर्न सकूँ।’

गुल्सनका अनुसार चाहे उमेर समूह होस् वा सिनियर राष्ट्रिय टिम भनेको राष्ट्रिय टिम नै हो। त्यहाँसम्म पुग्नु जो कोहीको लागि पनि सौभाग्यकै कुरा हुनेछ।

उनलाई यू-१९ मा अझै समय छ। ‘सायद त्यहाँ अवसर पाउँछु कि! सिनियर टिममा पुग्नलाई अझै कसरत गर्न बाँकी छ,’ उनले भने, ‘राष्ट्रको प्रतिनिधित्व गर्दाको खुसी नै बेग्लै हुन्छ।’

उनी फुटबल हेर्न रुचाउँछन्। कहिलेकाहीँ फुटबल खेल्छन् पनि। ‘म हेर्ने मात्र होइन, खेल्ने पनि गर्छु। अन्तर्राष्ट्रिय गेम राम्रो भएकाले हेर्छु। नेपाललाई सपोर्ट गर्न राष्ट्रिय टिमको गेम हेर्छु। अस्ति थ्री-नेसन्स कपमा नेपालले जित्दा निकै खुसी लाग्यो। नेपालले राम्रो खेल्यो,’ उनले भने।

आउँदो बैसाखमा पनि तीन देशबीच क्रिकेट खेल हुँदैछ। उनले कुरा टुंग्याउँदै भने, ‘फुटबलको पछिल्ल्लो जित जस्तै क्रिकेटको त्रिदेशीयमा पनि देख्न पाइयोस् भन्ने लाग्छ। आशा छ, नेपालले राम्रो प्रदर्शन गर्नेछ।’

प्रतिक्रिया दिनुहोस्