काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओली शिक्षक र बुद्धिजीवीसँग तर्सने गरेको बताएका छन्।
एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकमा सोमबार सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘केपी ओली शिक्षक र बुद्धिजीवीसँग तर्सन्छन्। उनलाई त अन्धभक्त चाहिन्छन्। शिक्षक अन्धभक्त हुँदैनन्। उनीहरु न्यायका पक्षमा हुन्छन्।’
त्यसैले ओली शिक्षकलाई संगठित हुन नदिने पक्षमा रहेको आरोप दाहालको छ। उनले शिक्षा क्षेत्रका समस्या समाधान गर्नका लागि ओली नै बाधक बनेको उनले बताए।
उनले भने, ‘पार्टी समायोजनका विषयमा ओलीसँग सबैभन्दा बढी विवाद शिक्षक संगठनकै बारेमा भएको छ।’
दाहालले शिक्षकहरुले मुलुकको राजनीतिक परिवर्तनका लागि ठूलो योगदान दिए पनि राज्यले केही पनि गर्न नसकेको स्वीकार गरे। तर पनि शिक्षक संगठनलाई वैचारिक राजनीतिक र पेसागत संगठनका पक्षमा अघि बढाइने भनाइ दाहालले राखे।
उनले राजनीतिक संकटका बेला संगठनको भूमिका बचाइराख्न शिक्षकले खेलेको भूमिकाको प्रशंसा गरे। उनले भने, ‘अरू सबै संघसंगठन लथालिंग भइरहेका बेला शिक्षक संगठन सक्रिय छ। म तपाईंहलाई सम्मान गर्न चाहन्छु।’
उनले शिक्षकले नै प्रतिगमनविरोधी आन्दोलनमा थप ऊर्जा दिइरहेको पनि बताए। दाहालले भने, ‘शिक्षक संगठनलाई एकीकृत गरेपछि देशकै ठूलो पेसागत संगठन हुनेछ।’ उनले शिक्षकलाई नयाँ ऊर्जाका साथ अघि बढ्न आग्रह गरे।
दाहालले ओलीसँग पदको निम्ति नभएर विचार, सिद्धान्त र प्रणालीका निम्ति संघर्ष भइरहेको दाबी गरे। अध्यक्ष दाहालले शिक्षा नीति वैज्ञानिक बनाउन पहल नभएको बताए।
उनले भने, ‘यसका लागि पार्टीले पहल नगरेको भने होइन। शिक्षा ऐन, शिक्षकको तलब सुविधा, राहत शिक्षक, अनुदान शिक्षक र शिक्षासँग सम्बन्धित कर्मचारीका सेवा सुविधाका विषयमा आफू प्रधानमन्त्री हुँदा वा आफ्नो पार्टील शिक्षा मन्त्रालयको नेतृत्व सम्हाल्दा गम्भीर ढंगले काम गरेको छ।’
यी विषयमा पार्टीका तर्फबाट प्रतिवेदन बनाएर क्याबिनेटमा पठाइए पनि ओलीले अघि बढ्नै नदिएको आरोप दाहालले लगाए। उनले भने, ‘अर्थ मन्त्रालयबाट पारित भएको फाइल पनि क्बाबिनेटमा थन्क्याइएको छ।’
दाहालले प्रतिक्रान्तिविरुद्धको आन्दोलन सफल भएपछि मन्त्रालयबाट प्रस्तुत सबै सुझाव कार्यान्वयन हुने आश्वासन दिए।
उनले २८ गतेको देशव्यापी प्रदर्शनपछि प्रतिगमनविरुद्धको आन्दोलन विजयका दिशामा अघि बढ्ने बताए।
ओली रक्षात्मक हुने दिशामा रहेको उनको भनाइ छ। ओलीको सभामा मानिस छिरोलिएर रहेको र उनका सुरक्षा दस्ताले पनि ३० हजारभन्दा बढी सहभागी नरहेको बताएको भनाइ दाहालको छ।