काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद्का सम्बन्धमा सर्वोच्च अदालतमा दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले मुद्दालाई अग्राधिकार दिएर सुनुवाइ गर्न आदेश गरेको हो।
शुक्रबार सभामुख सापकोटाले संवैधानिक परिषद्को निर्णय, नियुक्ति, शपथलगायत सबै प्रक्रिया असंवैधानिक भएको भन्दै बदर गर्न माग गर्दै गरेर रिट दायर गरेका थिए।
राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री, प्रधानन्यायाधीशसहित ३९ जनालाई विपक्षी बनाएर दायर गरिएको रिटमा अन्तरिम आदेश नदिएर सर्वोच्चले विपक्षीका नाममा कारण देखाउ आदेश दिँदै मुद्दालाई अग्राधिकार दिने आदेश गरेको हो।
मंसिर ३० गते नै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर त्यही साँझ बसेको बैठकले विभिन्न संवैधानिक निकायमा पदाधिकारीहरु नियुक्तिको निर्णय गरेको थियो।
तर, उक्त निर्णय पुस ५ मा प्रतिनिधिसभाको विघटनपछि मात्रै सार्वजनिक भएको थियो। ४५ दिन कटेपछि राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नै शपथ गरएका थिए।