काठमाडौं– मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट एक वर्षभित्रै पेट्रोल ल्याउने गरी तयारी भइरहेको छ।
०७६ भदौमा पाइपलाइन सम्पन्न भएपछि डिजेलमात्रै आयात भएको पाइपलाइनमार्फत एक वर्षभित्रै पेट्रोल ल्याउने गरी तयारी भइरहेको नेपाल आयल निगमले जानकारी दिएको छ।
पाइपलाइन प्राजेक्ट प्रमुख भरत रेग्मीले दिएको जानकारीअनुसार पाइपलाइनबाट पेट्रोल ल्याउनका लागि पेट्रोल भण्डारणको क्षमता बढाउने काम अघि बढेको छ। ‘हाम्रो सेकेण्ड फेजको काम बल्ल सुरु हुँदैछ,’ रेग्मीले नेपाल समयसँग भने, ‘पेट्रोलको भण्डारण हामीले बढाएर लगभग एक वर्षमा सकाउँछौं, अनि पेट्रोल आउँछ ।’
उनका अनुसार हाल अमलेखगन्जमा पेट्रोलको भण्डारण क्षमता करिब २० लाख लिटर छ। उक्त भण्डारण क्षमतामा थप गरेर १ करोड लिटर भण्डारण क्षमता बनाएपछि मात्रै पेट्रोल आयात गरिने रेग्मीको भनाइ छ।
भारत सरकार र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भएको अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएपछि ढुवानीवापतको खर्च जोगिएर आयल निगमलाई थप फाइदा भएको निगम दाबी गर्दै आएको छ।
हाल डिजेलमात्रै ढुवानी हुँदै आएको पाइपलाइनमार्फत पेट्रोल आयात हुन थालेपछि त्यसले ढुवानीबापतको थप रकम बचाउन भूमिका खेल्ने आपेक्षा गरिएको निगमका अधिकारीहरु दावी गर्दै आएका छन्।